सुरक्षा गर्न खाली हात हिँड्दाको परिणाम हो काबुल आक्रमण



हेमन्त काफ्ले सिड्नी, असार ६ 

अफगानिस्तानको काबुलमा आत्मघाती बम आक्रमणवाट सोमबार १४ जना नेपालीको मृत्यु भएको पृष्टी भएपछि यतिखेर संसारभर छरिएर रहेका नेपाली समुदाय शोकाकुल भएका छन्।
साब्रे सेक्युरेटी कम्पनी अन्तर्गत अफगानिस्तानको राजधानी काबुलमा रहेको क्यानेडियन राजदूतावास सुरक्षार्थ खटिएका नेपाली बिहान सबेरै बस्ने क्याम्पबाट कामको लागि जादै गर्दा आत्मघाती बमले उनीहरू चढेको मिनिबसमा आक्रमण गरिएको थियो।
मर्नेसँगै ६ जना नेपाली पनि आक्रमणमा घाइते भएका छन्। तालिबानले आक्रमणको जिम्मेवारी लिएको छ भने काबुलमा रहेका सात हजार नेपाली यतिखेर शोक र सुरक्षामा डुबेका छन्। सरकारले अफगानिस्तान भित्र ग्रीन जोन अर्थात सुरक्षित स्थानमा मात्र नेपाली कामदार पठाउने अनुमति दिने गरेको छ।
ग्रिन जोन भन्नाले कुटनीतिक नियोग, राष्ट्रसंघ अन्तर्गतका कार्यालय र सरकारी कार्यालय पर्छन्। तर, सरकारले दिएको अनुमति बिनै म्यानपावर कम्पनीहरूले हजारौ नेपालीलाई भारतहुँदै अफगानिस्तान पुर्‍याएका छन्।
 नेपालवाट १२ वटा एजेन्सीमार्फत माग भए बमोजिम हाल तीन हजार तीन सय ५३ जना नेपाली अफगानिस्तानमा रहेको सरकारी तथ्यांक भए पनि करिब सात हजारको संख्यामा नेपाली काबुलमा कार्यरत रहेको त्यहाँ कार्यरत नेपाली भीम ओलीले सेतोपाटीलाई बताए।
अमेरिकन बेसक्याम्प बगराममा कार्यरत भीम तालिवानले नेपालीलाई लक्षित गरि गराएको यो अहिलेसम्मकै ठूलो घट्ना भएको बताउँछन्। धार्मिक पर्व रमजानमा केही शान्त देखिएको काबुल यो घटनाले फेरि आशन्त भएको छ।
‘राम्रो कमाइ हुने लोभमा नेपाली साथीहरू सुरक्षाको प्रत्याभूति नभइ जथाभावी अफगानिस्तान आउनुहुन्छ, यो नै सबैभन्दा ठूलो भुल हो,’ ओलीले काबुलवाट टेलिफोनमा सेतोपाटीसँग भने, ‘काबुल डाउन टाउन र वरपरका क्षेत्र अत्यन्तै संबेदनशील छ, त्यहाँ सुरक्षाको अवस्था कमजोर छ।’
अहिले अफगानितानको पछिल्लो अवस्थान झन भयाभह छ उनले भने, ‘यस्तो अवस्थामा नेपालीहरू खुलमखुल्ला काममा हिँडिरहनु भएको छ, यसमा कसैको नजर गएको छैन। सरकारले मापडन्ड भित्र मात्र पठाएको भन्छ, साथीहरु खोइ कताबाट हो आइरहनु भएको छ,’ ओलीले भने।
मर्नेहरुमा १४ जना नेपाली भए पनि दुई जना भने पूर्व भारतीय गोर्खाका सीपाही रहेको  पुष्टी भएको छ।
अफगानिस्तानमा अमेरिका नेटो बेसक्याम्पहरुमध्ये बगराममा सर्वाधिक नेपाली छन्। त्यसपछि मजारेसरिफ, जलालावाद, कन्दाहार र काबुलमा सुरक्षा लगायत नेटो सैनिकको बन्दोबस्तीमा नेपालीहरु कार्यरत रहेका छन्। अफगानिस्तानको काबुलमा रहेर सन २०१० देखि २०१५को अन्तसम्म सन्चारकर्मीका रूपमा कार्यरत सुबेल भण्डारी अमेरिकी सेनाले प्रत्याक्रमण गर्न छाडेपछि सन २०१४ देखि अफगानिस्तानको अवस्था झनै बिग्रेको बताउँछन्।
यसअघि बिदेशी सेना र संस्थामा आक्रमण हुँदा प्रतिरक्षामा नेपाली मारिए पनि यस पटक भने नेपाली सुरक्षाकर्मीमाथिनै तालिवानले टार्गेट गरेको सुबेलले बताए। सुबेल भन्छन्, ‘करिब पाँच वर्षदेखि एउटै बाटो, भाडाको मिनिबस, एउटै समयको आवत जावतले पनि तालिवानलाई यो आक्रमण गर्न मद्दत मिलेको सुबेलको ठम्माइ छ।
हाल सिड्नीमा रहेका पत्रकार सुबेल भण्डारी जर्मन समाचार संस्था डीपीएसँग आवद्ध छन्। भण्डारीका अनुसार यसअघि पनि सुरक्षा कम्पनीहरूसँग यस बिषयमा कुरा उठाए पनि वास्ता नगर्नू ठूलो गल्ती रहेको बताउँछन्।
‘अफगानिस्तानमा नेपालीहरु जति काम गर्छन् ती सुरक्षा सम्बन्धी बिषयसँग जोडिएका छन्। तालिवानको निशानामा अग्रस्थानमा पर्ने यो काम र नेपाली कामदारको सुरक्षा ब्यवस्था भने कमजोर छ,’ उनले भने, ‘क्याम्प र दूतावासमा हतियार लिएर बस्छन् तर जादाँ आउँदा भने खाली हात बिना सुरक्षा, नागरिक सरह। यही गल्तीको फाइदा उठाएर तालिवानले आक्रमण गरेको हो।’
काबुलको बजिर अकबर खान ब्रिटीस दूतावास, बिश्व बैंक र क्यानेडियन दूतावास भएको ठाउँ हो ,यो ठाउँ तालिवानको निशानाको केन्द्र पनि हो। यस्तो ठाउँमा आउँदा जाँदा खाली हात र लोकल बसको प्रयोग गर्नू सबैभन्दा ठूलो गल्ती भएको उनले सुनाए।
काबुल र आक्रमणका घट्ना एक अर्काका परिपुरक भएजस्तै छन् पछिल्ला वर्षहरुमा। बिष्फोट, कार बम, आत्मघाती आक्रमण यहाँका लागि कुनै ठूला कुरा रहेनन्। बिदेशी कुटनीतिज्ञ बस्ने ग्रीन भिलेजको सुरक्षामा पनि नेपाली खटिएका छन्। त्यहाँ पनि यसअघि चार पटक आक्रमण भइसकेको छ।
यति मात्र होइन, यस घटनाको संसारभर छरिएका नेपालीले निन्दा गर्दै श्रद्धान्जली अपर्ण गरेका छन्। एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले यो घटनालाई कायरताको संज्ञा दिँदै यसघारे भत्सर्ना गरेका छन्। ‘कामको सिलसिलामा गइरहेका सोझा निहत्था नेपालीमाथि आत्मघाती बम प्रहार गर्नू कायरतापूर्ण हो। मृतक नेपालीको चिरशान्तिको कामना,’ उनले भने।
गैर आवासीय नेपाली संघका युरोप संयोजक कुल आचार्यले मृतकप्रति श्रद्धा सुमन ब्यक्त गर्दै बैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन नेपाल सरकारसँग आग्रह गरे।
यस्तै गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष जिवा लामिछानेले अकल्पनीय पीडादायक घट्ना भनेर प्रतिक्रिया दिएका छन्।
साभार: सेतोपाटी