अबको नेविसंघः राजनीतिक एजेण्डा बोक्ने कि शैक्षिक ?


फाइल फोटो


काठमाडौं। नेपाल विद्यार्थी संघ अहिले ११ औं महाधिवेशनको अन्तिम तयारीमा छ। लामो समयदेखि विद्यार्थीको प्रत्यक्ष मतदानबाट नेतृत्व चयन हुन नसकेको संघभित्र अहिले भने मतदानबाट नयाँ नेतृत्व चयन हुनेमा अधिकांश अध्यक्षका प्रत्यासीहरूले दाबी गर्दै आएका छन् । आउँदो साउन २३ देखि २५ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनबाट नेविसंघले नयाँ नेपालको अवधारणा अनुसार पुराना एजेण्डामा परिवर्तन गर्नुपर्नेमा धेरैले जोड दिँदै आएका छन्।

तात्कालीन एकतन्त्रीय पञ्चायती शासनकालमा शैक्षिक एजेण्डाको नाममा बहुदलीय शासनको वकालत गर्नको लागि स्थापना भएको नेविसंघले गणतान्त्रिक नेपालमा एजेण्डा परिवर्तन नगरेदेखि विद्यार्थीहरूको माझमा लोकप्रिय बन्न नसक्ने तर्फ अध्यक्षका प्रत्यासीसँगै आम विद्यार्थीहरूले सचेत गराउँदै आएका छन् । तर अब कता जाला नेविसंघ एजेण्डा ? राजनीतिक सरगर्मीमा रूमलिएर राजनीतिमा मात्रै आफ्नो जनशक्ति परिचालन गर्ला या त शैक्षिक एजेण्डामा केन्द्रीत होला ? यो सबैमा चासोको विषय बनिरहेको छ ।

हुनतः वि. सं २००७ सालमा प्रजातन्त्र प्राप्तिपछिको एक दशक विद्यार्थीहरूको राष्ट्रिय राजनीतिमा खासै महत्वपूर्ण भूमिका भएन। त्यतिबेला केही विद्यार्थीहरू आ–आफ्नो विचारधारासँग सम्बन्धित पार्टीको वकालत गर्दै आएको भएपनि विद्यार्थी संगठनहरू नै भनेर खुलेको भने देखिँदैन । त्यसैले यो एक दशकको समयमा राजनीतिक भन्दा पनि शैक्षिक एजेण्डामा केन्द्रित हुने समय भएको भएपनि यो समयमा खासै विद्यार्थी संगठनहरू सक्रिय नभएको कारणले यस समयमा पनि शैक्षिक एजेण्डाहरू माथि बहस चर्किन पाएन । त्यसपछिको समय पञ्चायती शासनमा त विद्यार्थी संगठनहरु खुल्नै सकेनन् । वि सं. २०२७ सालमा नेपाल विद्यार्थी संघ नखुलेसम्म खासै विद्यार्थी संगठनको सक्रियता देखिँदैन र नेविसंघ खुलेपछिको झण्डै दुई दशक प्रजातन्त्रमा केन्द्रीत हुँदा विद्यार्थी हक हितको लागि लड्ने समय नभएकोले पनि विद्यार्थी र शिक्षा क्षेत्रको एजेण्डा ओझेलमा परेको कुरालाई विद्यार्थी नेताहरु स्वीकार्ने गर्दछन् ।

नेविसंघको अबको बाटो कता ?
नेविसंघका नेताहरू भन्छन् ‘अब हामी राजनीतिक प्राप्तिलाई स्थायित्व दिँदै शैक्षिक एजेण्डामा केन्द्रीत हुनेछौं ।’ हामीले जनताको बहुदलीय प्रजातन्त्रबाट लोकतन्त्र हुँदै गणतान्त्रिक शासन व्यवस्थामा आईपुगिसकेको अवस्थामा अब विश्वमा प्रचलित शासनव्यवस्थाहरू लेपालमा भित्रिन बाँकी पनि छैन । अब आन्दोलन र क्रान्तिबाट नयाँ व्यवस्था लागू गर्नुपर्ने स्थिती पनि छैन । त्यसैले विद्यार्थी संगठनको अबको मूल एजेण्डाविद्यार्थी र शिक्षामा नै केन्द्रीत हुनु पर्नेमा शिक्षा क्षेत्र र यस भन्दा बाहिरका मानिसहरुले पनि महसुश गर्दै आएकै कुरा हो । नेपाल विद्यार्थी संघको आगामी महाधिवेशनमा अध्यक्षका आकांक्षी नैनसिंह महर भन्छन् ‘अबको विद्यार्थी आन्दोलन राजनीति भन्दा पनि र्शैक्षिक एजेण्डामा केन्द्रित हुनुपर्नेछ ।’

उनका अनुसार नेविसंघ नेपाली काँग्रेसको भातृ संस्था भएकोले नेपाली काँग्रेसलाई जनताको लोकप्रिय पार्टी बनाउने कार्यभार पनि नेविसंघमा नै रहन्छ । महर भन्छन् ‘शिक्षकमा छ कमजोरी शिक्षा प्रणालीमा छ कमजोरी र स्वयं विद्यार्थीमा समेत छ कमजोरी, यी कमजोरीले जुनसुकै पेशामा जाने विद्यार्थीमा पनि समस्या सिर्जना गराउने भएकोले अबको विद्यार्थी संगठन र त्यसमा पनि नेपाल विद्यार्थी संगठन शैक्षिक एजेण्डामा केन्द्रित हुनु आवश्यक छ ।’

त्यस्तै, अर्का आकाक्षी मनोजमणि आचार्य भन्छन्  कुनैपनि मुलुकको राजनीति सुदृढ र समृद्ध भएन भने त्यहाँको शैक्षिक व्यवस्था पनि समृद्ध हुन सक्छ भन्ने कल्पनै गर्न सकिँदैन । ‘उत्तर कोरियाको कुरा गर्ने हो भने हामीले त्यहाँ विद्यार्थी हक हितको कुरा गर्न सक्छौं ?’ उनी प्रश्न गर्छन् ‘अनि राजनीतिलाई अब हामी यसै छाड्दा संविधान कार्यान्वयन र संघीयता लगायतका विषयमा चाहिँ विद्यार्थीको भूमिका हुँदैन ?’

त्यसैले नेविसंघको अबको बाटो के हो भन्ने विषयमा सबैजनाले घनिभूत छलफल गरी निष्कर्षमा पुग्नुपर्ने बेला भएको छ । अहिलेको नेविसं स्थापना कालको भन्दा धेरै फरक भईसकेकोले अबको नेविसंघले २७ सालको होईन ७३ सालसँग सान्दर्भिक एजेण्डा बोकेर अघि बढ्नुपर्छ भन्नेमा धेरैले जोड दिएका छन् ।
स्रोत: हाम्राकुरा

,