ओलीको कदमप्रति अमेरिकामा रहेका नेपाली वैज्ञानिकको प्रशंशा

अमेरिका, जुलाई २५

प्रधानमन्त्री ओलीले सरकार प्रमुखको पदबाट राजीनामा दिएको र संवैधानिक संकट फुकाएको भन्दै उक्त लोकतान्त्रिक कार्यको अमेरिकामा रहेका नेपाली बैज्ञानिकहरुले प्रधानमन्त्री केपी ओलीलाई धन्यबाद दिएका छन् ।

"अनेक शंका र उपशंकाका बीचमा ओलीले देखाएको उदारता र लचकताले उहाँको उचाई बढेको छ |" सोही टीमका एकजना बैज्ञानिक डा. रुद्र अर्यालले द नेपाल टुडेसंग भने,"यो कदमले ओली साच्चिकै स्पष्ट दृष्टिकोण भएका नेता हुन् भनेर प्रमाणित भएको छ |"

साथै आफ्नो कार्यकालमा प्रधानमन्त्री ओलीले देशको विकासका साथै विज्ञानको क्षेत्रमा पनि महत्वपुर्ण योजना ल्याएको र बजेट बिनियोजन गरेको उनीहरुको भनाई छ । विज्ञान प्रविधिको क्षेत्रमा सम्भावना देखाउन महत्वपुर्ण भुमिका खेलेको र आगामी सरकारले पनि ओलीका योजनालाई निरन्तरता दिनुपर्ने उनीहरुको भनाई छ ।

अमेरिकामा बसोबास गर्दै विभिन्न विश्वविद्यालय तथा वैज्ञानिक प्रयोगशालामा काम गर्ने ती वैज्ञानिकहरुले एक विज्ञप्ती जारी गर्दै नेपालमा अब बन्ने सरकारले शान्ति, सुव्यवस्था तथा आधुनिक शिक्षा मार्फत अन्तराष्ट्रियस्तरका दक्ष जनशक्ति उत्पादन गरोस् भनि माग गरेका छन् । साथै बिज्ञानको क्षेत्रमा बिशेष योजना र नीति तयार गरियोस  भन्ने माग पनि गरेका छन् ।

अमेरिकामा लामो समयदेखि वैज्ञानिक प्रयोगशाला तथा अनुसन्धानमा सक्रिय डाक्टर रुद्र अर्याल, डाक्टर सुशील जोशी, डाक्टर नन्द रेग्मी, डाक्टर घनश्याम पोखरेल डाक्टर पशुपति ढकाल, डाक्टर सतिस देवकोटा लगायतले नेपाली राजनीतिमा चासो र चिन्ता व्यक्त गरेका हुन् । उनीहरुले पछिल्लो समय नेपालमा सत्ताको राजनीतिमा दलहरु लाग्नु निकै दुखदायी कुरा रहेको भन्दै राजनीतिक स्थायित्व नहुँदा विज्ञान र प्रविधिको क्षेत्रमा देश निकै पछाडी धकेलिने चिन्ता व्यक्त गरेका छन् ।

,