मेरिल्याण्डमा नेपाली युवाद्वारा संचालित स्टोर 'नम्बर वान' बन्न सफल



मेहेनत गरे के हुदैन भन्ने कुराको चरितार्थ गरेर देखाईदिएका छन् दुई नेपाली युवाहरुले | अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा 'सिट्गो ग्याँस स्टेशन' लाई उनीहरुले यो राज्य कै राम्रो स्टोर बनाएका छन् | उनीहरुको स्टोर मेरिल्याण्डको 'नम्बर वान' स्टोर बन्न सफल भएको छ |

यो स्टोर पहिलो नम्बरमा परेपछि कम्पनिले आफ्नो ब्यापारिक प्रबर्दनका लागि यस क्षेत्रका नौ राज्यका मिस अमेरिका प्रतियोगिताका प्रतियोगीहरुलाई स्टोर मै ल्याएर बिभिन्न प्रोमोसनका गतिबिधि गरेको थियो | सिट्गो कम्पनिले 'अमेरिकन ब्युटी प्याजेन्ट' संग मिलेर हरेक बर्ष राम्रा स्टोरहरुमा सुन्दरीहरुलाई लगेर कम्पनीको ब्रान्ड प्रोमोसनका कामहरु गर्ने गर्दछ |


"स्टोरमा झन्डै छ घण्टा रहेर बिभिन्न ब्यापारिक प्रबर्दनका कामहरु गरे | टेलिभिजन अन्तरबार्ता गरे, ग्राहकहरुसंग भेटघाट, अन्तरक्रिया गर्नुका साथै सिट्गोका उत्पादन र सेवा सुविधाका बारेमा कुराकानी समेत गरेका थिए |" राजन त्रिपाठीले द नेपाल टुडेसंग भन्नु भयो |

नौ राज्यका क्राउन होल्डरहरुलाई आफ्नो स्टोरमा स्वागत गर्न पाउनु साथै कम्पनीका उच्च अफिसरहरु आफै आएर कम्पनीको प्रशंसा गर्नु आफूहरुका लागि ठुलो पुरस्कार भएको संचालक द्वय कृष्णजीवि पन्त र राजन त्रिपाठीले एकै स्वरमा बताउनु भयो |

 "कम्पनिले उच्च मुल्यांकन गरेको छ | अब हाम्रो स्टोरमा खिचेका कार्यक्रमहरु टेलिभिजन र सामाजिक संजालहरुमा आउने छन् | हाम्रो स्टोरको पनि प्रचार भएको छ |" राजन त्रिपाठीले द नेपाल टुडेसंग भन्नुभयो-"हाम्रो मेहेनतको मुल्यांकन भएको छ |"

नेपालको तनहुँ घर भएका कृष्णजीवि पन्त र राजन त्रिपाठीले  संयुक्त लगानीमा  संचालन गर्दै आएको स्टोर मध्य यो स्टोर विगत दुई बर्ष देखि संयुक्त लगानीमा संचालन गर्दै आएका हुन। कंम्पनीले यही स्टोरलाई गत वर्ष पनि 'एक्सिलेन्स अवार्ड' दिएको थियो |



,