फरक आकाश (कविता) -मसान उपासक


     फरक आकाश 
                            मसान उपासक
महोदय,
माफ गर ! जिवनमा कुदेर थाकेपछि
सुस्ताएको छु बुढो रुख जसरी
अचेल बाच्नुमा कुनै आनन्द छैन ।
समय यसरी क्रुर भएन कहिल्यै
जसरि अचेल सोचिरहेछ मेरा मस्तिष्क
हावाले उडाएको मन अचेल
कता भागेछ नभेटिएको धेरै भो ।
गलेर साझ मात्तिए जसरि
हल्लिदै घर आएको छ कुरुप अनुहार ।
छोरो  गुमाएको बाबुको जसरि
या टाउको बित्थामा किन दुखिबस्छ ?
सोचिरहेछु बादलको ठिक मुनि उभिएर
अब जिन्दगीमा के गर्न सकिन्छ?
दाइ अरबको बालुवामा हराएपछि
भाउजुका अनुहारका चमक कसले चोरेछ ?
हरेक दिन फुङ्ग उडेको अनुहार देख्छु
आमाको आशु कता जमेछ
हरबिहान अचेल छातिमा दुख्छ ।
बुबा आकाश पट्टि फर्किएर
सधै दाइ मात्र देखिरहन्छन् ।
म सम्झाउन नसकेर घोत्लिएको धेरै भो ।
सरकार यो  टाउको माथिको घाम
कसको आदेशमा यसरी चर्कियो ?
यो काशमा शान्त बादलले
कसलाई बगाउन बर्षियो  ?
पहाड पनि टुक्रिएर झरेछ बेसितिर
 किन हामिलाई हेपेको हो ?
आखिर थुनिएपछि सारा बाटा
मान्छेले के देख्छ सरकार ?
म आत्महत्यामा पनि जीवन खोजिरहेको छु।
ब्युझनु अघि समय
समयले आत्महत्या गर्ला र ?
फरक आकाशमा कसरी उभिनु !
म शोकधुनमा देश खोजिरहेको छु ।
     छतिवन-५ मकवानपुर