कसैबाट रकम हिनामिना भएको रहेछ भने कडा कारबाही गर्नु पर्छ -रामशरण हुमागाईं

तस्बिर:फेसबुकबाट 
रामशरण हुमागाईं नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया च्याप्टरका सभापति हुनुहुन्छ | भुकम्प पिडित नेपालीका लागि उठाएको राहत रकम हिनामिना भएको भन्ने  केन्द्रिय समितिभित्रको आरोप प्रत्यारोपमा राज्य समितिका पदाधिकारीहरुको भूमिका के हुदैछ भनेर द नेपाल टुडेले बिभिन्न पदाधिकारीहरुसंग सम्पर्क र कुराकानी गरेको छ | यहि क्रममा यो पटक सभापति हुमागाईंसंग द नेपाल टुडेका सतिश चापागाईंले गरेको कुराकानी प्रस्तुत छ |

रामशरण जी, जनसम्पर्क समिति अमेरिकाको आर्थिक विवाद कहाँ पुग्यो ? यो बिबादको चुरो कुरो के हो ? 

यो विवाद छलफल कै क्रममा छ | बिबादको चुरो जनसम्पर्क समितिको पछिल्लो अधिबेशन नै हो भन्न मलाई अफ्टेरो लाग्दैन | किनकि उक्त अधिवेशनमा उम्मेद्वारी समुहगत रुपमा भएको थियो तर अधिवेशनबाट दुबै पक्षका ब्यक्तिहरु निर्वाचित हुनुभयो । निर्वाचन पश्चात निर्वाचित साथीहरु एकताबद्ध भएर जानु पर्नेमा आआफ्नो समुहभन्दा माथि उठ्न नसकेको देखिन्छ |

२. भुकम्प पीडितका लागि उठाएको रकम यसरी हिनामिना भएको भन्ने छ, तपाईलाई के लाग्दछ ?

केन्द्रिय समितीका केही साथीहरुको गैर जिम्मेवारिपनाको परिणाम पनि यो बिबादको स्थिती सिर्जना भएको हो । यदि भुकम्प पीडितको लागी उठाइएको रकम हिनामिना भएको रहेछ भने त्यस्तो व्यक्तिलाई कडा कारबाही गर्नु पर्छ, यो नै मेरो ब्यक्तिगत धारणा हो ।

३. हिनामिना गर्ने दोषी केन्द्रिय समिति होला तर थाहा पाएपछि पनि राज्य-राज्यका समितिहरु किन चुप ? तपाई एउटा राज्यको अध्यक्ष हुनुहुन्छ, तपाईले यस सन्दर्भमा के गर्नु भयो ?

भुकम्प पीडितको लागि उठाइएको रकम हिनामिना हुनु भनेको ज्यादै दु:खलाग्दो कुरा हो | यदि यसो भएको रहेछ भने जतिनै निन्दा गरे पनि कम हुन्छ | नेपाली कांग्रेसका कार्यकर्ताले त्यसो गरे भनेर म त सोच्न पनि सक्दिन । तर मिडियामा आएका कुराहरु केन्द्रिय नेत्रित्वमा रहेका साथीहरुले सामाजिक सन्जाल र मिडियामा प्रस्तुत गर्नुभएका बिचारहरुले चाँही केही भएको छ भन्ने देखाएको छ ।

४. यस बिबादका मुख्य ब्यक्ति केन्द्रिय कमिटिका अध्यक्ष र महासचिव दुवै जनासंग तपाईहरुले संगै बसेर छलफल गर्ने कुनै प्रयास गर्नु भयो की भएन ?

छानबिन गर्ने समितीहरु बनेका छन, ती समितिका प्रतिबेदन प्राप्त भएपछी केही कुरा खुल्ला भन्ने सोचेको छु । बाहिर देखिएको जस्तो हामी चुप्प बसेको होइन | आन्तरिक रुपमा हामी यो बिषयमा चिन्तित र गंभिर भएका छौं |
च्याप्टर सभापति साथीहरुसँग छलफल, कुराकानी भएका छन त्यस्तै केन्द्रिय सभापति र महासचिव सँग पनि मैले फोन मा कुरा गरेको छु र  रकम हिनामिनाको खबरले चन्दादाता सहयोगीहरुमा पर्न गएको नकारात्मक प्रभाव तथा उहाहरुले ब्यक्त गरेको आक्रोश र चिन्ता पनि केन्द्रिय सभापति, महासचिव र केही पदाधिकारी र केही प्रभावशाली केन्द्रिय सदस्यहरुसँग पनि मैले मेरो बिचार प्रष्ट राखेको छु ।

५. यो विवाद कसरी समाधान होला ? जनसम्पर्क समितिलाई चन्दादाता र सर्बसाधारणले कसरी हेर्ने ?

एउटा जिम्मेवार कार्यकर्ता भएको कारण निश्चय नै मेरो पनि जिम्मेवारी हुन्छ र दाताबाट प्राप्त सहयोग रकम समयमै भुकम्प पीडित समक्ष पुर्याउन नसकेकोमा दुखी पनि छु ।
मुख्य कुरा भनेको जस्को लागि भनेर रकम प्राप्त भएको हो, त्यो उहाहरुले पाउनु पर्छ | भुकम्प पीडितको लागि भनेर प्राप्त रकमबाट एक पैसा पनि अन्यत्र खर्च गर्न पाइदैन । ज-जस्ले हिनामिना गरेका छन, तिनिहरुबाट रकम असुल गर्नु पर्छ र उनीहरुलाई काङ्रेसबाट निस्कासन र कानुनी कारबाही हुनु पर्छ भन्ने मेरो धारणा छ |

यदी यसो गर्न सकियो भने सर्बसाधारण नेपाली दाजुभाइ दिदिबहिनीहरुको विश्वाश र मायालाई कायमै राख्न सकिन्छ र केवल जनसंपर्क समितीको लागि मात्रै नभएर सबै नेपाली संघ संस्थाहरुको लागि पनि उपयोगी हुनेछ भन्ने मेरो धारणा रहेको छ।