काबुल एक्सप्रेसमा बाकसमा बन्द भएर आउने निमुखा नेपालीहरूको दुःख छ -दीपक विश्वकर्मा

दीपक विश्वकर्मा, बुटवलमा बसेर पत्रकारिता र नेपाली साहित्यमा सक्रिय एउटा चर्चित नाम हो | विश्वकर्माको हालै काबुल घटनामा आधारित पुस्तक 'काबुल एक्सप्रेस' प्रकाशित भएको छ | घटना भएको १३ औं दिनको दिन प्रकाशन र लोकार्पण गरिएको यो पुस्तकले धेरै चर्चा पनि कमायो | यहि पुस्तकका बारेमा दिपक विश्वकर्मासंग द नेपाल टुडेका लागि सतिश चापागाईंले गरेको कुराकानी प्रस्तुत छ :

१. दिपक जी, हालै तपाईले बजारमा ल्याउनु भएको काबुल एक्सप्रेस कस्तो पुस्तक हो ?

सतिश जी, काबुल एक्सप्रेस कविताहरूको संगालो हो । असार ६ गते अफगानिस्तानको राजधानी काकुलमा निकै दुःखदायी घटना घट्यो । तालिवानी आक्रमणकारीहरूको आक्रमणमा परी निर्दोष नेपालीहरुले ज्यान गुमाउन पुगे । त्यसैको सेरोफेरोमा लेखिएको कविताको पुस्तिका भन्दा पनि हुन्छ ।

२.  किन लेख्नु भयो ? घटना भएको १३ दिनमा नै प्रकाशन गर्न कसरी सम्भब भयो ?

समवेदना जाग्यो मनमा । म लेखिरहने मान्छे । यो विषय झन एकदमै पेचिलो र लेख्नै पर्ने लाग्यो । छुटाउनै नहुने विषय जस्तो । त्यसैले लेखेँ मनका उब्जिएका भावहरुलाई कविताको रुपमा ।  यो पुस्तकमा भएका सबै कविता सोही घटनासंग सम्बन्धित् छैनन् । मूलतः जम्मा ८० पेजको संगालो हो यो किताव । त्यस घटनासंग भाव जोडिएको कविताको ४० पेजको लामो भावनात्मक लेखन छ । अरु ४० पेज चाहीँ त्यस्तै किसिमको भावधारामा पहिला लेखिएका कविताहरू छन् ।

 ३. तपाईले यसमा समेट्न खोज्नु भएको कुरा के हो ?

यस कविता मार्फत म देशले भोगिरहेको वर्तमान अवस्थाको समग्र चित्रण गर्न खोजिरहेको छु । भूत, वर्तमान र भविष्यको कुरो गरिरहेकोछु । सुख, समृद्धिको कुरो गरिरहेकोछु । देश हरेक स्रोत र साधनहरूले पूर्ण हुँदाहुँदै पनि वेरोजगारीको चंगुलबाट बाहिर निस्कन नसकेको कुरो उजागर गर्न चाहेको छु । खेत खलियान, पाखापखेरा बाँझो राखेर पर्देशिनु पर्ने कारणका बारेमा खोतालखुतल पारेको छु । दैनिक जसो बाकसमा बन्द भएर आउने निमुखा नेपालीहरूको दुःखको कुरो गरिरहेको छ ।

 ४. काबुल घटनाका बारेमा ४० पेजको एउटा कविता किन लेख्नु भयो ? कति दिन लगाउनु भयो ?

घटना घट्यो । मनमा भाव उब्जियो । लेख्न बसे । लेख्दालेख्दै भावधारा लम्बिन पुगे । अझै धेरै हो लेखेको  । ४० पेज भन्दा बढी थै थियो कविता । आजकाल कापीमा लेखिदैन । कापीमा लख्ने बानी छुट्यो । लेखेपछि सेभ गर्नु पर्ने गरिएनछ । झ्याप्प बिजुली जाँदा त्यो पनि उडेछ । लेखनी यस्तो हुँदोरहेछ, एउटा भावमा लेखेको कुरो हराएपछि त्यही भावमा लेख्न सकिदैन । त्यसैले यो कविता ४० पेजमै सिमित रहन पुग्यो ।

दिबंगत जीतेन्द्रसिंह थापाको पार्थिव शरीर भैरहवा ल्याइपु¥याउँदा मैले पहिलो अनुच्छेद लेखिसकेको थिएँ । लगत्तै पत्रकार मित्र दिपक ज्ञवालीले फोटो पोष्ट गर्नु भो । त्यही फोटो क्याप्सनलाई संगै राखेर सो पहिलो कविता फेसबुक वालमा पोष्ट गरेँ । कविताले राम्रो रेस्पोन्स पायो । मेरा प्रिय पाठहरूले आँसु थाम्न नसकेको कुरो प्रतिक्रिया स्वरूप जनाउनु भयो । म पनि हौसिएँ अरु लेख्न । यस हिसावले हप्ता दिनमा हराएको कविता सहित ४५ पेज मैले जति लेखेँ । लोडसेडिङ्ग नभइदिएको भए पुरा ८० पेज नै एकै भावधारामा म हप्ता दिनमा लेख्न सक्थेँ जस्तो लाग्दछ ।

 ५. एकै बसाईमा त यो सम्भब भएन होला, कति उठ्नु भयो कति बस्नु भयो ? कति छटपटी भयो र कति चटपटी भयो ? 

एकै बसाइमा यो संभव हुने कुरो भएन । व्यवसाय, कामको रेखदेख, घरयासी काम सबै हेर्नु प¥यो । त्यसैमा पनि लोडसेडिङ्गको चर्को अवस्था । यी सबैले वाधा पुग्यो लेखनीमा ।  मनमा कुरो फुरेको हुन्छ, लेख्न बस्यो, सोही बेलामा बिजुली गइदिन्छ । इन्भर्टरको पावरले थाम्दैन । मनमा फूरेका कुरा विर्सन पुगिदोरहेछ, लेखाई छुट्न गयो भने । रातदिन एउटै विषयमा मात्र चिन्तन गर्नु पर्दो रहेछ, कविता कविता खाली कविता । आँटियो, आँटेपछि सम्पन्न गर्नु प¥यो । तर मैले के कुरा बुझेँ भने वातावरण बनिदिने हो भने म लगातार लेख्न सक्छु । हप्ता दिन त नभनौ १५ दिनमा किताव तयार गर्न सक्छु, उपयुक्त र मनले खाएको विषय पाउने हो भने ।

६. परदेशिनुको पीडालाई तपाईले फलामे जञ्जीरले बाँधिएर सिकागोको हाटहरुमा पुर्याइएको आदिम निग्रोसंग तुलना गर्नुभएको छ, किन ?

परदेशिनु अपमान, अपराध केही पनि होइन । जीवकोपार्जनको लागि एकठाउँका मान्छे अर्को ठाउँमा जाने प्रचलन सदियौं पुरानो हो । चिनीया व्यापारीहरू नेपाल आउँथे, नेपालीहरू महिनौ लगाएर भोट जान्ते । आहिलेको सिल्करोड ऊ बेलाको व्यापारिक मार्ग हो ।
तर हामी नेपालीहरू वैदेशिक रोजगारीलाई गौरवको विषय बनाउन सकिरहेका छैनौ । गोठालो गर्दा गर्दै, भकारो सोहोर्दा सोहर्दै, हलोको अनो समाउँदा समाउँदै, चुलो र चौको गर्दागर्दै हाम्रा दाजुभाइ, दिदीहिनीहरू विदेशका गल्लीहरूमा छरिन पुगेका छन् । मोलमोलाई भएका छन् । मानौ उनीहरू तिनै दासहरू हुन्, जो अफ्रिकाका जंगलहरूबाट जंजीरले बाधेर अमेरीका पु¥याइन्थ्यो र हाटबजारमा बिक्री गरिन्थ्यो । मैले कुरो यसरी उठान गरेको हुँ । हाम्रा दाजुभाइ दिदीबहिनीहरूलाई यस शब्दले मानमर्दन गरेको छ भने म क्षमाप्रार्थी छु ।

 ७. यो संग्रहका अरु कविताहरु मार्फत तपाईले दिन खोज्नु भएको संदेश के हो ? 
सम्मानित जीवन जिउन पाउनु हाम्रो अधिकार हो । यसको व्यवस्था सत्ताले मिलाउनु प¥यो । हामी आज मिसिसिपी, म्यानहटन, टोकियो, सिड्नी, वासिंगटन र क्यानबराको कुरो गरिरहेका छौं । हर परिवारले आफ्ना घरका कम्तीमा एक जनालाई विदेश पठाउन चाहन्छ, जुनसुकै बहाना भए पनि । चाहे त्यो पढाई होस् वा अन्य उद्देश्यका लागि ।
देश विकासको लागि चाहिने पूर्वाधार सबै छन् हामीसंग ।  नदीनाला, वनजंगल, खनिज, जडिबुटी, उब्जाउ समथर भूमि सबै छ । तर भैदियो के भने विकासका जगहरु खनिएनन् । भएका आधारहरूलाई समेत मास्ने काम भयो । बढ्दो जनसंख्याको अनुपातमा रोजगारी खडा भएनन् ।
यो सव हुन भएन । देश भित्रै गरिखाने आधार तयार हुनु प¥यो । जसरी विदेशीहरू घुम्नको लागि नेपाल आउँछन्, त्यसै गरी हामी नेपालीहरू पनि पर्यटककोरुपमा विदेश जाने हैसियतका बन्नु प¥यो । विदेशी फौजका सिपाही, अरुका खेत खलियानका मजदूर भएर होइन । मैले कविता मार्फत उठाउन खोजेका विषवस्तुअरू यिनै हुन् ।
एउटा कुरो थपौ, आउन विदेशीहरू पनि हाम्रा कारखानाहरूमा काम गर्न । हाइड्रोपावरहरू बनुन्, ती ठाउँहरूमा काम गर्न विदेशीहरु पनि तछाडमछमड गर्दै आउन । हाम्रा मुस्ताङ्गका पाखा पखेरामा स्याउका दाना टिप्न अम्रिकीहरू आउन । डोल्पामा फल्ने आलु उखिन्न इजराइलीहरू आउन ।
मेरो यो कल्पना हो । यद्यपि कल्पना नगरी, सपना नदेखी कुरोले चुरो कसरी समाउला र ?

८, अन्त्यमा, बिदेशमा बस्ने नेपालीहरुले यो पुस्तक कसरी हात पार्ने ?

किताव पाउन सक्नु हुनेछ । यद्यपि सबै प्रक्रियाहरूको बारेमा मलाई त्यति थाहा छैन । छिटै नै मैले यसलाई पिडियफ बनाई तपाईलाई उपलब्ध गराउने छु वा हार्डकपि कहाँ र कसरी उपलब्ध गराउन सकिन्छ भन्ने बताउने छु ।
मलाई अवसर दिनु भो मनका कुरा भन्ने । मेरा कविता लगातार छापेर मलाई अमेरिकावासी साहित्यप्रेमी नजमानसमा परिचित हुने मौका दिइरहनु भएको छ । आशा छ, पछि पनि यस्तो मौका पाइरहने छु । प्रकाशन परिवार, साथै यहाँलाई विशेष धन्यवाद ।