हजुर आमाको उपदेश र हराएको राहत रकम -गोविन्द कोइराला


मलाई आज क़लम चलाउदै गर्दा मेरी हजुरआमाले सानोमा मलाई दिएको अर्ति, उपदेशको सम्झनाले झकझक्यायो। म केही कुरा लेख्दै गर्दा म मेरो विगतको विद्यालय जीवनतिर एक पटक फर्कन चाहन्छु |

मेरो वाल्यकालको स्कूले जीवन तुलनात्मक हिसावले मेरा दिदी र भाई वहिनीहरुको भन्दा संघर्षपूर्णनै वित्यो। भनिन्छ, जीवन संघर्ष हो | त्यसैले, संघर्षलाई साथमा लिदै संघर्षशील वन्नुनै जीवन जीउनु रहेछ | जवसम्म जीवन रहन्छ, तवसम्म संघर्ष पनि रहिरहन्छ | आज सात समुन्द्र पारीको देशमा आएर पनि मैले आफूलाई संघर्षमै उभ्याउने कोशिस गर्दैछु। अमेरिका यस्तो मुलुक हो, जहाँ संघर्ष र मेहनत जीवन पर्यन्त जरुरी छ  |

यीनै प्रसंगमा आज मलाई एउटा मेरो वाल्यकालको घटना स्मरण भयो, जुन वेला म प्राथमिक तहको अध्ययनमा थिए, त्यही बेलाको हो | एक दिनको कुरा हो मेरो डटपेनमा मसी सकिएछ | मसी सकिएपछि नयाँ डटपेन किन्ने भनेको सामान्यतया मेरो कल्पनाभन्दा पनि वाहीरको कुरा हुन जान्थ्यो, जसको विकल्पमा हामीले नयाँ रिफील गर्थ्यौ जसको मूल्य ५० पैसा पर्थ्यो | त्यसबखत त्यही ५० पैसा पनि साथमा नभएर मैले डटपेनको रिफील भर्न नसकेर मेरा गुरुहरुले दिएको गृहकार्य सवै वाकीनै थियो | जुन वेला मलाई मेरो संघर्षमा साथ दिने मेरी हजुरआमाले सन्दुक खोलेर हेर्दापनि पचास पैसा फेला पार्न सक्नुभएन | म केटाकेटीनै भएको कारण मलाई कुनै पनि पसलेले पचास पैसाको सामान उधारो दिने हिम्मत पनि गर्दैन थिए | किनकी म छोरो मान्छेलाई कसैले कुनैपनि कार्जे र चाडपर्वमा टीक लगाएर एक सुका पनि दिदैन थिए | जसको कारण विद्यालय जान नपाएर त्यस दिन घरमै वस्नुको पीड़ा त छदै थियो, भोलिपल्ट पनि डटपेनमा रिफील भरेर विद्यालय गईन्छ गईदैन, निश्चित थिएन।

जुन वेला मेरो विचलित  मानसिकताको उपज मैले मेरी वहीनीले दशैमा टीका लागाएर जम्मा गरेको पैसा झिक्ने मनसायले वहीनीको खुत्रुके फुटाएर पैसा झिक्ने निर्णय गरे।जुन वेला मैले खुत्रुके फुटाउदै थिए, मलाई मेरी हजुरआमाले गाली गर्दै भन्नुभयो, "वहीनीको पैसा त्यसरी चोर्यो भने पाप लाग्छ है चोर्नु हुदैन भन्नुभयो। मैले मेरो पढाईभन्दा ठूलो आफ्नो धर्म सम्झेर हजुरआमाको वचन अँगाल्दै पापको डरले वहीनीको पैसा खुत्रुकेवाट झिक्ने हिम्मत गरिन | पैसा चोर्ने कोशीस गरेपनि चोर्नुको उद्देश्यचाही पवित्र थियो। मैले तत्कालीन समयमा जुन पैसा चोर्ने कोशीस गरेको थिए, त्यो पैसामा मेरी वहीनीको न कुनै मेहनत र परिश्रम परेको थियो नत पसिना र रगतनै वगेको थियो | केवल निधार थापेको भरमा आशिर्वाद सहित आएको विना मेहनतको कमाई थियो | तैपनि हजुरआमाले भनेको पापको डरले त्यो पैसा चोर्ने हिम्मत मसँग आएन।

यी माथिका कुराहरु मेरो मनमा खेल्दै गर्दा आज मलाई एउटा कुराले पीरोलीरहेको छ।

प्रसंग हो -अहिले अमेरिकी नेपाली समाजमा व्यापक चासो र चिन्ताको विषय वनेको जनसम्पर्क समिति अमेरिका मार्फत  भुकम्प पिडीतहरुका नाममा संकलित राहत रकम,हामीले जुन पवित्र  सोच र उद्देश्यका साथ रकम संकलन गर्यौ त्यसको अझै सही सदुपयोग हुन नसक्नु एउटा चिन्ताको विषय हो भने अर्को चिन्ताको विषय उक्त पवित्र मनले संकलित रकमको दुरुपयोग वढ्दै जानु।

साच्चै मेरी हजुरआमाले भनेजस्तै पाप लाग्नेथियो भने अमेरिकामा कसैले पनि मेहनत, परिश्रम र पसिना वेगर पैसा कमाएको विरलै होला | त्यसैले, आज हाम्रो रगत र पसिना मिसिएको पैसा अपचलन गरनेहरुलाई कति पाप लाग्दो हो ? त्यसमाथि पनि लाखौ रकम ! जवकि, मैले मेरी वहीनी जो एउटै पेटवाट जन्मिएर हुर्किएका थियौ, उनको विना मेहनतको पचास पैसा पवित्र मनसायले झिक्न पनि मैले पापको डरले सकिन। तर आज विभिन्न क्षेत्रवाट आएका नेपाली दाजुभाई तथा दिदी वहिनी हरुले स्वच्छ भावनाले दिएको रकम जुन रकमको प्रत्यक पेनी(अमेरीकी एक पैसा)मा उनीहरुको मेहनत, पसिना र रगत मिसिएको छ | जसको पवित्र लक्ष्य र उद्देश्य भनेको भुकम्पले दुखमा परेका नेपालीको साथमा साथ मिलाउने नै हो। तैपनि त्यस्तो रकमको हिनामिना र दुरुपयोग? सायद मेरी हजुरआमाले जस्तै उनीहर्रुलाई पनि सानैमा कसैले अर्ति दिएको भए पापको डरले पनि संकलित रकमको सदुपयोग हुनेथियो कि ?

म पनि नेपाल सरकारको लेखा समूहको पूर्व कर्मचारी भएको हैसियतले आर्थिक विषयमा पूर्ण ज्ञान नभए पनि थोरै भएपनि अनुभव सँगाल्ने मौका नेपाल सरकारले दिएको थियो, जुन अनुभवका आधारमा भन्ने हो भने पनि संकलित रकम वैंक जम्मा गर्दा देखिनै वदनियतपूर्ण देखिन्छ | भिन्न शिर्षकमा संकलित रकम जुन शिर्षकमा संकलन भएको हो सोही शिर्षकमानै छुट्टै वैंक खाता मार्फत जम्मा गरिनु पर्दथ्यो | तर आज सदस्यता वापत संकलित रकम र राहत रकम एउटै कोषमा जम्मा गरेर नेता आउदा गरिने भोज भतेरदेखि लिएर सभा सम्मेलन र मनोरन्जनमामा समेत सोही कोषवाट पैसा झिकेर खर्च गरिनुले नेतृत्वको चरम लापरवाही त झल्कन्छनै संकलित रकमको सही सदुपयोग नहुने पनि पक्का पक्की नै छ भन्दा अत्युक्ति नहोला।

भनिन्छ सवैभन्दा सर्वोत्तम नीति राजनीति हो,जसले समाज र राष्ट्रलाई निर्देशित गर्दछ।राजनीति अन्तर्गतनै समाज र राज्यका सम्पूर्ण  निकायहरु निर्देशित हुने गर्दछ त्यसैले नेतृत्वमा राजनैतिक निष्ठा सहित नैतिकता पनि हुन जरुरी छ,जव नेतृत्वमा नैतिकता हुदैन त्यसपछि नेतृत्वमाथिको आम जनविश्वास पनि कम हुदै जान्छ |

आज जनसम्पर्क समितिका पदाधिकारीहरुवाट जुन तौर तरिकावाट रकम झिकियो, त्यो सरासर गलत तरिका अपनाइयो किनकि जनसम्पर्क समिति भनेको नेपाली समुदायको लागि सामाजिक संस्था पनि हो | जसको कारण नेतृत्वमा सामाजिक दायीत्व र जवाफदेहीता पनि उतिकै जरुरी हुन आउछ। आज नेपाल सरकारका जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय निकाय जिल्ला विकास समिति, गाउ विकास समिति लागायतका कार्यलयहरुले अनिवार्य रुपमा आय र व्ययको विवरण सार्वजनिक गर्नुपर्ने वाध्यकारी व्यवस्था गरिएको छ | यदि त्यसो नगरिए अनुदान कटौती गरिने गरेको छ र कर्मचारिलाइ समेत जनता प्रति प्रत्यक्ष उत्तरदायी वनाउने प्रयास गरिरहैकोवेला जनसम्पर्क समिति भने जसको रगत, पसिना र मेहनतले कोष खडा भएको हो, उसप्रति उत्तरदायी वन्नुपर्छ कि पर्दैन? सच्चीकै उत्तरदायी वन्ने हो भने हाल सम्म जम्मा भएको कोषको शिर्षकगत आय र व्यय विवरण नेतृत्वले सार्वजनिक गर्न जरुरी छ। यसैगरी मान्यता प्राप्त लेखापरीक्षकवाट नियमितता, मितव्ययिता, कार्यदक्षता, औचित्यता र प्रभावकारीता समेतलाई मनन गरी संस्थाको सम्पूर्ण आम्दानी र खर्चको लेखापरीक्षण गरी सोको प्रतिवेदन सार्वजनिक गरिनु जरुरी छ।

मैले यी कुराहरु लेखिरहदा धेरै पटक सोचेर लेख्दैछु किनकि हामी लोकतन्त्र र स्वतन्त्रतामा विश्वास गर्ने भएको कारण मैले पनि स्वतन्त्रताको उपयोग गर्दै यी विचारहरु लेखिरहेकोछु | आज कता कता सुन्दैछु झिकिएको रकम खातामै जम्मा गरिएको छ रे के पैसा खातामा जम्मा गर्ने वित्तिकै नेतृत्व चोखिन सक्छ? साच्चिकै आर्थिक वदनियतपूर्ण तरिकाले रकम चलाएर अहिले फिर्ता गरिनु भनेको यौन पिपासु वावुले छोरी वलात्कार गरेर उपचार गरे जस्तै हो| उपचारले छोरीको ज्यान त पक्कै फर्किएला तर छोरीको लुटीएको अस्मिता र वावुको ईज्जत कदापि फर्कने छैन।आज जनसम्पर्क समिति प्रति आम नेपाली मुलका अमेरिकी समुदायको हेर्ने दृष्टिकोण पूर्णतया नकारात्मक भैसकेको छ म पनि जनसम्पर्क समितिको सुभेच्छुक भएको कारण यी पीडाहरु क़लम मार्फत पोख्दैछु।

आज हामी विश्व शक्ति राष्ट्र अमेरिकामा छौ तै पनि हाम्रो मूल थलो र समाज भनेको नेपाल र नेपाली नै हो त्यसैले आज हाम्रो भविष्य अमेरिकामा दौडिरहेको छ भने हाम्रो  जिम्मेवारी र दायित्व नेपालतिर छ | यसकारण पनि आज एक पटक गहिराईमा सोचौ त ! सिन्धुपाल्चोक जहाँ खाना नपाएर मरेको गाईवस्तुको सिनो खाएको समाचार सुनिएको थियो, त्यसै गरी गोरखाको उत्तरी गाविसहरु जहाँ चिसो छल्ने उपाय नभएर सात दिनको सुत्केरी सहित वच्चाले अकालमा ज्यान गुमाउनु पर्यो | यी घटनाहरु नेपालका प्रतिनिधि घटनाहरु मात्र हुन | यस्ता थुप्रै दृश्य र अदृश्य घटनाहरु हाम्रो मुलुकमा भुकम्पपछि दिनहु भैरह्काछन । यीनै कारणहरुले गर्दा आज हामी सवैले एक पटक उनीहरुको आत्मालाई आफ्नो आत्मासँग तुलना गरौत कति कारुणिक होला ? जुन कुरा हामी कल्पना पनि गर्न सक्दैनौ | तिनै प्रतिनिधि र पात्रहरुको लागी दुखमा साथ दिन भनेर उनीहरुकै दाजुभाई एवं दिदी वहिनिहरुले सहयोग गरेको रगत,पसिना र मेहनतको दुरुपयोग हुनु त्यहाभन्दा लज्जास्पद विषय अरु के हुन सक्छ ?

आज नेतृत्वले दुईवटा कुराहरु जतिसक्दो चाडो गरिनु जरुरी छ | पहिलो जसको लागी रकम जम्मा भएको हो, उसैको लागी जति सक्दो चाडो रकम पठाउने र लक्षित वर्गमा खर्च गरिने व्यवस्था र दोस्रो संस्थाप्रति आम नेपाली अमेरिकी समुदायको गुमेको विश्वास फर्काउदै नेतृत्वमाथि उव्जीएको शंका निवारण गर्नु ।

अहिले नेपालमा मध्य वर्षा छ, जसको कारण भुकम्प पिडित धेरैको अझै पनि वासको टुंगो छैन | त्यसैले वाकी रकम जति सक्दो चाडो लक्षित वर्गसम्म पुर्याउने कोंशिस गरिनु अहिलेको अपरिहार्यता हो | आउनुहोस ! भूकम्पको पीडामा रहेका नेपालीको दुखमा हातेमालो गरौं। यी मेरा विचारहरु कसैप्रति पनि आग्रह पूर्वाग्रह नभई स्वत्नत्र रुपमा प्रस्फुटीत नितान्त नीजि विचार भएको पनि स्पष्ट पार्दछु।
भर्जिनिया, अमेरिका |

,