नयाँ समिकरणसँगै मन्त्री बन्नेहरुको चर्चा; काँग्रेसबाट बन्दैछन को को ?


काठमाडौं। केपी ओली नेतृत्वको सरकारलाई हटाएर नयाँ समिकरण बनाउन काँग्रेस र माओवादी केन्द्रले गृहकार्य गरेसँगै पार्टीभित्र भने अब बन्ने सरकारमा को को मन्त्री बन्ने भन्ने चर्चा शुरु भएको छ। प्रचण्डलाई प्रधानमन्त्री काँग्रेसले स्विकारेको अवस्थामा नयाँ सरकारमा काँग्रेसबाट जाने नामको चर्चा शुरु भएको छ।

नयाँ सरकार बन्नका लागि कम्तिमा दुई हप्ताको समय लाग्ने भएपछि काँग्रेस र माओवादीका नेताहरु नयाँ समिकरणलाई नयाँ परिस्थितिको कसरी सामना गर्ने भन्ने रणनीति बनाउन लागिपरेका छन्। साथसाथै दुबै पार्टीबाट नयाँ सरकारमा जाने व्यक्तिहरुको नाममाथि पनि गृहकार्य शुरु भएको छ। काँग्रेस र माओवादीले नयाँ सरकारमा १२ र ८ मन्त्रालय लिने सहमति भएको छ। सो सहमति अनुसार दुबै पार्टीबाट क्याविनेट मन्त्री, राज्यमन्त्री र सहायक मन्त्री गरि पठाउने व्यक्तिहरुको नामको चर्चासँगै गृहकार्य पनि शुरु भएको हो।

पार्टीका तर्फबाट मन्त्री बन्नका लागि मापदण्ड बनाउने काम पनि काँग्रेसका योजनाकार तथा रणनीतिकारहरुले शुरु गरेका छन्। यसका लागि अघिल्लो शुसिल कोइराला नेतृत्वको सरकारमा मन्त्री भइसकेकाहरुलाई सकेसम्म मन्त्री नबनाउने मापदण्ड पार्टी सभापति शेर बहादुर देउवालाई उहाँका रणनीतिक सल्लाहकारहरुले दिएका छन्। तर नयाँ गठवन्धन वनाउन भूमिका खेलेका नेता विमलेन्द्र निधीले चाहे भने उनलाई उपप्रधानमन्त्री र गृहमन्त्रालय दिएर काँग्रेसका तर्फबाट नेतृत्व गरेर मन्त्री बनाउन देउवा दवावमा पर्न सक्छन।

पार्टीको उपसभापतिका आकांक्षी निधीले मन्त्री बन्दा पार्टीको उपसभापति बन्ने कुरामा वाधा हुन सक्ने अवस्था देखेमा उनको रोजाइ सरकार नभइ पार्टी हुनसक्छ। यो अवस्थामा पूर्व उपप्रधानमन्त्री समेत भइसकेका कृष्ण प्रसाद सिटौला गृह र उपप्रधानमन्त्री सहित काँग्रेसको तर्फबाट नेतृत्व गरेर सरकारमा जान सक्छन। शान्ति प्रक्रियाको वाँकी कार्यभार पुरा गर्न अनुभवी र माओवादीसँग काम गर्न सिपालु समेत मानिएका सिटौला त्यो अवस्थामा माओवादीसँगको सत्ता गठवन्धनमा देउवालाई भरपर्दो सहयात्री हुनसक्छन।

पार्टीका नेता अर्जुन नरसिंह केसी पनि गृह अथवा स्थानिय विकास मन्त्रालय लिएर काँग्रेसका तर्फबाट नेतृत्व गर्दै सरकारमा जान सक्छन। केसीलाई पार्टीका तर्फबाट सकेसम्म नेतृत्व गरेर पठाउन देउवा पनि सकारात्मक रहेको बुझिएको छ। यो मन्त्रीमण्डलमा उनी बरिष्ठ मन्त्री बन्ने चाहि पक्का छ। तर पार्टीको नेतृत्व गर्ने कुरामा चाहि थप केहि दिनको गृहकार्यमा भर पर्छ।

त्यसैगरि यो पटक मन्त्री बन्नेमा धेरै नयाँ अनुहार पर्ने पक्का भएको छ। काँग्रेसमा सभापति शेर बहादुर देउवा निकट धेरै मन्त्री तथा राज्यमन्त्री बन्ने पक्का छ। तर देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेल महामन्त्री शशांक कोइराला कृष्ण प्रसाद सिटौला र प्रकाशमान सिंह निकटहरुलाई पनि समेटेर लाने गृहकार्य गरेका छन्।

यस पटक देउवालाई मन्त्री बनाउन सहज समेत हुने बताइन्छ। मन्त्री बनेकाहरुलाई पार्टीको पदाधिकारीमा बनाउन नसक्ने अवस्था हुने कारणले पार्टीका पदाधिकारीका आकांक्षी मन्त्री बन्ने चाहना कम राख्न सक्ने काँग्रेस स्रोतले बताएको छ।

यसपटक अहिलेसम्म मन्त्री नबनेकाहरुले पनि मौका पाउने देखिएको छ। नयाँ सरकार बनाउने गृहकार्यमा शुरुदेखि सभापति देउवालाई सहयोग पुर्‍याउँदै आएका रमेश लेखक मन्त्री बन्ने लगभग पक्का छ। यसअघी शुसिल कोइरालाका पालामा पनि मन्त्री बन्दा बन्दै चुकेका चन्द्र भण्डारी यो पटक मन्त्री बन्न सक्छन। त्यसैगरि देउवाले आफ्ना टीमको तर्फबाट केशव कुमार वुढाथोकी, फरमुल्लाह मन्सुर, जीवन बहादुर शाहीलाई मन्त्री बनाउन सक्छन। बुढाथोकी झापाका हुन। मन्सुरलाई महाधिवेशनको बेलामा लगाएको गुन तिर्न मात्र हैन मधेशी र मुस्लिमको प्रतिनिधीको रुपमा सरकारमा लैजान सक्छन। शाहीलाई कर्णालीको प्रतिनिधीको रुपमा देउवाले सरकारमा लैजान सक्ने बताइएको छ।

पार्टीका कोषाध्यक्ष सितादेवी यादवले चाहेमा उनलाई पनि मन्त्रीको जिम्मेवारी दिएर देउवाले सरकारमा पठाउन सक्छन। उनी रामचन्द्र पौडेल समुहबाट पर्नेछन। उनीसँगै पौडेलको सिफारिसमा कमला पन्त पनि मन्त्री बन्न सक्छिन। पूर्व महामन्त्री प्रकाशमान सिंहको सिफारिसमा काठमाडौंका राजन केसी मन्त्री बन्न सक्छन। पौडेलकै सिफारिसमा काठमाडौंकै नविन्द्रराज जोशी पनि यो पटक मन्त्री बन्न सक्छन। कृष्ण प्रसाद सिटौलाको सिफारिसमा मन्त्री बन्नेमा तारामान गुरुङ पर्न सक्छन्। शशांक कोइरालाको सिफारिसमा दिपक गिरी मन्त्री हुनसक्छन।

राज्य मन्त्री बन्न सक्नेहरुमा मिन विश्वकर्मा, अमृत अर्याल, अम्विका बस्नेत, इश्वरी न्यौपाने, देउवा समुहबाट हुनसक्छन। सुधिर शिवाकोटी, तप्त बहादुर बिष्ट र राजु खनाल सिटौलाको सिफारिसमा राज्यमन्त्री बन्न सक्छन। खुम बहादुर खड्काको सिफारिसमा शंकर भण्डारी राज्यमन्त्री बन्न सक्छन्।

तर सरकार बन्न दुई हप्ता भन्दा वढी समय लाग्न सक्छ। अविश्वासको प्रस्ताव परिपक्व हुन एक हप्ता लाग्ने र छलफलका लागि थप केहि दिन लाग्न सक्छ। त्यसपछि राष्ट्रपतिले सरकार बनाउन सहमतिका लागि केहि दिन दिने र त्यसपछि अरु केहि दिन बहुमतिय सरकारका लागि बनाउन दिने कारणले नयाँ सरकार बनाउन दुई हप्ता भन्दा वढी समय लाग्ने देखिएको छ। सरकारमा पठाउने जनजाती र आदिवासी प्रतिनिधित्वका लागि देउवाले थप गृहकार्य गर्न जिम्मा दिइएको बताइएको छ।

माओवादीमा मन्त्री हुनेहरुमा कस्को छ चर्चा ?
पुष्प कमल दाहाल प्रधानमन्त्री बन्नेछन् भने माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालय सम्हाल्ने चर्चा रहेको छ। प्रभु शाह मधेसबाट प्रतिनिधित्व गर्ने बताइएको छ। यससँगै महिलाबाट रेखा शर्मा वा कमला दोङ मध्ये एक हुने दावी छ। शर्माले ओली सरकारमा सामान्य प्रशासन मन्त्रालय सम्हालिसकेकी छन्। कर्णाली क्षेत्रबाट महेन्द्र शाही, दलितबाट दलचित्त शाही र माओवादी प्रमुख सचेतक हितराज पाण्डे लगायत रामनारायण विडारी, हरिबोल गजुरेल र पहिला ओली सरकारमा मन्त्री भइसकेका समेतलाई मन्त्री बनाउन सक्ने संम्भावना रहेको स्रोतको दावी रहेको छ ।
तस्बिर/समाचार: हाम्राकुरा डटकम