राष्ट्रिय सहमतिमा प्रधानमन्त्री चुन्न राष्ट्रपतिको आह्वान


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा नयाँ प्रधानमन्त्री चयन गर्न आह्वान गरेकी छन् । नेपालको संविधानको धारा ३०५ बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ आदेश र सोही संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सो आह्वान गरिएको हो ।

‘राष्ट्रपतिले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्न व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई आह्वान गर्नुभएको छ’– राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसअघि राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रिया र बदलिँदो राजनीतिक परिस्थितिका बारेमा प्रमुख तीन दलका शीर्ष नेतासँग भेटवार्ता गरेकी थिइन् । राष्ट्रपति भवन शीतल निवासमा करिब दुई घन्टा भएको छलफलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहमागि थिए ।

भेटमा मुलुकको विद्यमान अवस्थामा कसरी सहमतिका आधारमा संविधानको कार्यान्वयन र नयाँ सरकार बन्न सक्छ भन्ने विषयमा परामर्श भएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिए । शीर्ष नेताले भने भेटपछि सञ्चारकर्मीसंग कुनै प्रतिक्रिया दिएनन् ।

आइतबार प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका सम्बन्धमा परामर्श सुरु भएको हो |