अमरेशले संसद मै प्रधानमन्त्री ओलीको मानसिक अवस्था ठिक नभएको भनेपछि हंगामा


काठमाडौ: नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले संसदमा उत्तेजित भएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको मानसिक अवस्था ठिक नभएको आरोप लगाए ।

उनले प्रधानमन्त्रीको मानसिक अवस्था ठीक नभएको भनेपछि संसदमा एमालेका सांसदहरुले नियमआपत्ति गरे ।   एमाले सांसद कृष्णभक्त पोखरेलले नियमापत्ति गर्दै उनको भनाइ संसदको रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराए । एमाले सांसदहरु आ-आफ्नो ठाउँबाट उठेर आपत्ति जनाए ।

सांसद पोखरेलले संसदको कार्य सम्पादन नियमावलीको नियम ३९ अनुसार अमर्यादित शब्द बोल्न नपाइने भन्दै सिंहको आरोप पुष्टि गर्न वा उनको भनाइ रेकर्डबाट हटाउनुपर्ने बताएका थिए । यसपछि सिंह झनै उत्तेजित भएका थिए । उनले डाक्टरहरुले भनेको भन्दै आफ्नो अभिव्यक्तिलाई प्रमाणित गर्ने खोजे ।

एमाले सांसदको माग बमोजिम सभामुख ओनसरी घर्तीमगरले सिंहले बोलेको सो कुरा संसदको रेकर्डबाट हटाउन निर्देशन दिएकी छन्।