भोजपुरको रचना प्राथमिक विद्यालयमा पिउनेपानीको अभाव

भोजपुर । विद्यालयमा गएपछि विद्यार्थीको काम पढ्नु हो । विद्यालयमा विद्यार्थीलाई पढ्ने वातावरण निर्माणको जिम्मा सरकारको हो । तर, भोजपुरको एउटा विद्यालयका विद्यार्थीहरुको दिन पानी खोज्दैमा जान्छ । सदरमुकामबाट पूर्वको यांगपांग गाविसको देउरालीमा अवस्थित रचना प्राथमिक विद्यालयका विद्यार्थीले खानेपानीको अभावमा छट्पटिनुपर्ने बाध्यता छ ।

घरबाट किताव, कपी कलम बोकेर विद्यालय पुग्ने विद्यार्थीहरु दिनभर विद्यालयमा पानी ओसार्न व्यवस्त हुन्छन् । उनीहरु दिनभरको पढाई माया मारेर गाग्री र गिलेनमा एक घण्टाको पैदल दूरीबाट विद्यालयमा पानी ओर्साछन् । आफैंले ल्याएको पानी विद्यार्थीले धित मर्ने गरी पिउन पाउँदैनन् ।उक्त विद्यालयको कक्षा ५ का छात्रले भने विद्यालयमा पढ्नु भन्दा बढी पानी बोक्दै समय बित्ने गरेको बताउँछन् । ‘पानी बोकेर वाकी रहेको समयमामात्रै पढ्छौं’, ती छात्र भन्छन्, ‘विद्यालयमा प्यास मेट्ने पानी नभएका बेला शिक्षाको प्यास मेट्न त फुर्सदै हुन्न ।’

विद्यार्थीहरु खानेपानी अभावको समस्याबाट मुक्ति चहान्छन् । दिनभर पानी बोक्न व्यस्त हुने विद्यार्थीले शिक्षकले पढाएको कुरा पनि राम्ररी नबुझ्ने गरेको गुनासो गरे । विद्यार्थीले बोकेर ल्याएको पानी शिक्षकहरुले विद्यालयका सबै विद्यार्थीलाई लाईनमा राखेर खुवाईदिने गर्छन् । विद्यार्थीले कुनै दिन धित मर्नेगरी पानी खान नपाउँदा पठनपाठन समेत प्रभावित हुने गरेको छ । यो विद्यालयमा खानेपानीको अभाव स्थापना कालदेखिकै हो।पानी अभाव भएको वर्षौं भइसक्दा पनि कसैले ध्यान नदिएको स्थानीय राजनीतिज्ञ तथा समाजसेवी टीकाप्रसाद कोईराला बताउँछन् ।

विद्यालयको खानेपानी संकटबारे व्यवस्थापन समितिले आवाज उठाउँदै आएको छ । तर, सम्बन्धित निकायले समस्या हल गर्नेतर्फ चासो दिएको छैन । शिक्षक विद्यार्थीका लागि विद्यालयमै शौचालय छ तर, पानी नभएका कारण प्रयोग गर्नै समस्या छ । स्थापनाकालदेखि नै विद्यार्थीहरुले पानी अभाव झेल्दै आएको व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद गौतम बताउँछन् ।
विद्यालय २०४५ सालमा स्थापना भएको थियो । ‘गाउँ विकास समितिमा पटक पटक समस्याबारे भनेका छौं’, अध्यक्ष गौतमले भने, ‘तर गाविसले कुनै चासो देखाएन । दलका नेताले पनि भेदभाव गर्दा विद्यालयमा पानी पुग्न नसकेको हो ।’ विद्यालय स्थापना भएदेखि खानेपानी उपलब्ध गराउने दल तथा गाविसको बाचा हात्ती आयो हात्ती आयो फुस्सा जस्तै भएको गौतमले गुनासो गरे ।

यहाँका बासिन्दा ठुलो खानेपानी योजनाको पर्खाइमा छन् । केन्द्रीयस्तरका योजना पर्ने आशमा गाउँबासी बसेको पनि वर्षौं भइसक्यो । काकाकुलको जस्तै समस्या टर्ने आशमा बसेका गाउँले खानेपानी नहुँदा निराश छन् । हाल रचना प्राविमा करिव दुईसय विद्यार्थी अध्ययनरत छन् । विद्यालयका प्रधानाध्यापक शिवराज भण्डारी दलका नेताले चुनाव जितेर गएपछि गाउँको समस्या चटक्कै भुल्ने गरेको दुखेसो पोख्छन्।