नेपालमय भयो जापानको योयोगी पार्क



यहि अगस्त ६ र ७ मा जापानको टोकियोमा रहेको योयोगी पार्कमा आयोजना गरिएको नवौ नेपाल फेष्टिवल भव्य रुपमा सम्पन्न भएको छ |

दुई दिनमा दुई लाखभन्दा वढीले अवलोकन गरेको आयोजक गैरआवासीय नेपाली संघ एनआरएनए जापानले जनाएको छ । फेष्टिवल मुल आयोजक समितिका संयोजक सुदन थापाका अनुसार विगत वर्ष भन्दा यस पटक सहभागिहरु समेत वढेको बताउनु भयो | उहाँका अनुसार यस पटक जापानी, नेपाली लगायतका विभिन्न मुलुकका दुई लाख भन्दा वढीको सहभागिता रहयो | हजारौंको सख्यामा भेला भएका जापानीहरुले नेपाली खानाका परिकार सहित नेपाली भेषभुसा, नेपाली पहिचान झल्कने साँस्कृतिक कार्यक्रमहरुमा रमाएका थिए ।

यस्तै, सहभागी धेरै नेपालीहरु खानाको स्वादको मज्जा लिदै मंचमा लगातार भएको सास्कृतिक कार्यक्रममा गाउदै झुमेका थिए । फेष्टिवल अवधीभर रेष्टुरेन्ट तथा फुड वेभरेज स्टलमा पाँच करोड वढीको कारोवार भएको छ । संयोजक थापाका अनुसार कुल २२ वटा फुड स्टलमा देखिएको भीडका आधारमा सो अनुपातमा कारोवार भएको हो ।

फेष्टिवलमा सहभागी जनाएको सेवा रेष्टुरेन्टका संचालक ईश्वरी कँडेलका अनुसार दुई दिन अवधीमा करिव २० लाख भन्दा वढीको कारोवार भएको जानकारी दिनुभयो । मध्यम व्यापार गरेको सेवा रेष्टुरेन्टको स्टलमा पहिलो तथा दोस्रो दिन गरि सो अनुपातमा कारोवार भएको हो ।

 अन्य रेष्टुरेन्टहरुको पनि व्यापार उल्लेख्य रहेको मुल आयोजक समितिका संयोजक सुदन थापाले बताउनु भयो ।

नेपालमय भयो टोकियो योयोगी पार्क

 नेपाली फेष्टिवल आयोजना भएको टोकियो योयोगी पार्क पुरा नेपालमय भएको थियो ।

 शनिवार र आईतवार दिनभरि भएको कार्यक्तममा २२ वटा नेपाली खाना सहितका स्टल तथा ३० वटा सेवा मुलक कम्पनीका स्टल रहेका थिए । यस्तै, अन्य स्वास्थ्य जाँच, ढाका टोपी, नेपाली सारी लगाउने स्टल, नेपाल झल्काउने तस्वीरहरुको प्रर्दशनी लगायतका स्टलहरु राखिएका थिए । फेष्टिवल आयोजना स्थलमा रंगीचंगी कागजका तुल सहित नेपाली झण्डा, सहित स्टेजलाई सुन्दर ढंगले सजाईएको थियो |

दुई दिनसम्म चलेको नेपाल फेष्टिवलको अर्को मुख्य आकर्षण विभिन्न जातिय तथा कलाकारहरुले गरेको प्रर्दशनका कारण युवा युवतीहरुले भरपुर मनोरंजन लिएका थिए । कार्यक्रममा नेपालकेन  जापानले जापानी भाषामा कार्यक्रम संचालन गरेको थियो भने उदघाटन अवसरमा जिज्ञानकुमार थापा र यशोदा वस्नेतले संयुक्त रुपमा गर्नुभएकौ थियो ।

अत्यन्त चुनौतीका वावजुत कडा परिश्रम कारण जापानवासी नेपालीहरुको अथक प्रयास सफल भएकोमा संयोजक थापाले खुसी व्यक्त गर्दै कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नै सवैमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।
स्रोत: नेपालजापान डटकम 
तस्बिर: विश्व भण्डारी