अमेरिकाभरि नासोको संगठनविस्तार गर्ने योजना छ -गोपाल विश्वकर्मा

गोपाल विश्वकर्मा अमेरिकाको सक्रिय र चर्चित संस्था नासोका अध्यक्ष हुनुहुन्छ | मेरिल्यान्डको बाल्टिमोरका सफल ब्यबसायी विश्वकर्मा लामो समयदेखि सामाजिक सेवामा सक्रिय हुनुहुन्छ | नासोको अध्यक्ष निर्वाचित भएपछि उहाँले संस्थाको बिधान अनुसार नेपाल र अमेरिकामा बिभिन्न कामहरु सम्पादन गरिसक्नु भएको छ | यहि महिना उहाँको यो कार्यकाल सकिदै छ | नासोमा रहेर उहाँले गरेको कार्यसम्पादन र नासोको आगामी अधिबेशनमा केन्द्रित रहेर द नेपाल टुडेका प्रधान सम्पादक सतिश चापागाईंले अध्यक्ष गोपाल विश्वकर्मासंग गर्नु भएको कुराकानी प्रस्तुत छ :

नासोको अधिबेशन नजिकिदै छ, तयारी कस्तो हुदैछ ?

हामी अन्तिम चरणमा छौं | अधिकांश तयारी भईसकेको छ | केहि कामहरु हुदैछ |

नासोको स्थापना किन भएको हो ? यो संस्थाको उद्देश्य के हो ?
बिशेष गरेर नेपालमा ब्याप्त जातीय छुवाछुत, दमन र उत्पीडनका बिरुद्ध आवाज उठाउने यो संस्थाको उद्देश्य हो | साथै नेपाली समाजमा चेतना फैलाउने उद्देश्य पनि यो संस्थाको हो |

अमेरिका जस्तो देशमा यस्तो संस्था किन आवश्यक छ भन्नेहरु पनि छन्, उनीहरुलाइ के भन्नुहुन्छ ?

नासो अमेरिकामा स्थापना भएको संस्था हो | त्यसको मतलब अमेरिकामा रहेको जातीय समस्या समाधान गर्ने भन्ने होइन | नासो स्थापना गर्नुको कारण सामाजिक चेतना र जागरण अनि समाजसेवाको क्षेत्रमा काम गर्न पनि हो | यसलाई बृहत रुपमा हेर्नु पर्दछ |

नासोमा आएपछि के गर्नु भयो?

नासोले बिगतमा गरेका सबै कार्यहरुको निरन्तरता दिने काम मेरो पालामा पनि भयो | थप भन्नुपर्दा समाजका अन्य संस्थाहरुसंग अझ बढी सम्बन्ध बिस्तार गर्न सफल भएका छौं | पहिला हामी मेरिल्याण्ड केन्द्रित थियौं |

नेपालमा भएका जातीय छुवाछुतका घटनाहरुका विरुद्ध आवाज उठाउने काम गर्यौं | साथसाथै, नेपालमा गएको विनाशकारी भुकम्पका कारण समस्यामा परेका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई राहत वितरण गर्न म आफै गएँ | पुनर्निर्माणमा पनि हामिले निरन्तर काम गरिरहेका छौं |

साथै, हामीले नेपालमा निशुल्क स्वास्थ सिबिर सम्पन्न गर्यौं | कास्की र पर्बतका बिभिन्न स्थानमा १५०० जना लाभान्वित भए |भुकम्पपछि काठमाडौँको कालिमाटीमा १२ घर निर्माण गर्यौं | सुर्खेतमा बाढी पहिरो पिडितलाई  राहत पठायौं |


अमेरिकामा किन विस्तार गर्दै हुनुहुन्छ ? कहाँ कहाँ शाखा गठन गर्नु भयो ?

हाम्रो लक्षित उद्देश्य पुरा गर्नका लागि हामीसंग मन मिल्ने र हाम्रो लक्ष्य तथा उद्देश्यमा सहमत हुने सबैसंग हातेमालो गर्दै अगाडी बढ्ने क्रममा अरु राज्यमा पनि यसको शाखा विस्तार गर्न आवश्यक ठान्यौं | न्यु योर्क राज्यमा गठन भईसकेको छ | कोलोराडोमा शाखा गठन भईसकेको छ | अन्य राज्यमा गठनको प्रक्रियामा छौं |  यसपटक नौ राज्यका प्रतिनिधिको बाल्टिमोरमा भेला हुन्छ | अमेरिकाभरि नासोको संगठनविस्तार गर्ने योजना छ |

,