बन्धन (कविता) -शान्ति प्रियवन्दना


बन्धन


अगाडि बड्छन
तर गन्तब्य नपुग्दै
रोकिन्छन् मेरा कदमहरू
जुट्दाजुट्दै तोडिन्छन्
रङ्गीन बन्दाबन्दै हराउँछन्
सधैजसो मेरा सपनाहरू
अन्तरसंवादमै रूमलिन्छन्
प्रत्येक पटक मेरा तन्द्राहरू ।

यी कदम र सपनाहरू
समय र तन्द्राहरू
जोडिन खोज्दछन्
सुदूर क्षितिजको उज्यालोसंग
जो महशुस हुने गर्दछ विपनामा
मनमस्तिष्कका अन्तरहरूलाई छुँदै
एकछत्रराज गर्ने गर्दछ
एक अदृष्य छाँया
जो अमूर्त आकृतिको रुप लिँदै
आउन छोड्दैन लगातार,
सपनामा ।

सोध्नु कसरी ?
मनको नाताको कुरो
देखाउनु कसरी ?
सपनाका बिम्बहरू
अन्दाज गर्नु कसरी ?
तन्द्रा संगैका अर्धवेहोसीहरू
पहिल्याउनु कसरी ?
गन्तब्य बिहीन मार्गहरू
चाल्नु कदम कसरी ?
नखोली संवादका ढोकाहरू ।

मनका तगाराहरू खोल्दै
सोध्ने इच्छा छ
तिमीसंग छायाँ बनेको
मेरो मनको नाता के हो ?
जान्न मन छ
को हौ तिमी ?
र किन आउने गर्दछौ
परेलीहरूमा बुँद बनेर ?

आज,
म निदाउन सक्दिन
तन्द्राको भूमरीमा रुमलिन्छु
जसरी तसरी जब,
गहन नीदमा समाहित हुन्छु
उडिरहेको देख्छु आफैलाई
बादलका तहहरू संगै
ब्युझिएर प्रभात भन्दा पहिले
बिताउँछु केही पलहरू
छोपेर दुई हत्केलाले आँखा  
र नियाल्ने गर्दछु
सफरका ती रङ्गीन पखेटाहरू ।

तर मलाई जवाफ चाहिएको छ
भन तिमी को हौ ?
मेरो तिमीसंगको नाता
यो बन्धनको अर्थ के हो ?
ख्याल राख !
सागरको गहिराईमा डुवाएर मलाई
तिमी पार हुन सक्ने छैनौ एक्लै ।