रेल चलाउने आँट गर्नुस् पैंसा म जुटाउँछु -ओली



तस्वीर – आरसी लामिछानेको फेसबुकबाट

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको बाटकोटस्थित निजी निवासबाट नव निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई जवाफ फर्काएका छन् ।

ओलीले आफ्नो स्वागत तथा सम्मानका लागि निवास पुगेका कार्यकर्तालाई बार्दलीबाट सम्बोधन गर्दै नवनिर्वाचित प्रधानमन्त्री दाहाललाई जवाफ फर्काएका हुन् ।

उनले दिउँसो प्रधानमन्त्रीको निर्वाचन अघि उम्मेद्वारीको सूचना प्रस्तुत गर्दा पुष्पकमल दाहालले प्रधानमन्त्री जी तपाईले योजना त सुनाउनु भा छ स्रोत के हो ? कहाँबाट स्रोत जुटाएर सम्मपन्न गर्ने सोचिरहनु भएको छ ? मलाई बुझिने भाषामा सुझाव दिनुस् भनेका थिए । उनले अगाडि भनेक थिए, ‘रेल ल्याउने कुरा गर्नु भा छ, बजेट छुट्याउनु भा छैन । लौन के गरौं तपाईले जे भन्नु हुन्छ त्यही अनुसार गर्छु ।’ छिमेकीलाई ऋण माग भन्नु हुन्छ भने पनि त्यसै गर्छु र अन्तर्राष्ट्रिय समुदायबाट ऋण माग भनेपनि त्यही गर्छु । तर, यो ऋण मागेर घिउ खाए जस्तो भएन र ?

सोही प्रसंगमा बौल्दै ओलीले ओलीले दाहाललाई रेल ल्याउने कुरामा अडिग रहन भन्दै पैंसाको जुगाड आफूले गर्ने जवाफ दिए । उनले भने, ‘तपाईं रेल ल्याउने योजनाबाट पछि नहट्नुस् । पैंसाको जुगाड म गर्छु ।’

यसअघि, माओवादीले दर्ता गरेको अविश्वासको प्रस्तावबारे संसदमा जवाफ दिँदै  ओलीले आफूले सुरु गरेका योजना तथा निर्माण कार्यलाई के गर्नु हुन्छ ? भनेर सोधेका थिए । त्यसको जवाफमा बुधबार प्रधानमन्त्रीको निर्वाचन अघि माओवादी अध्यक्ष समेत रहेका नव निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले योजना थुपै बनाएको तर बजेटको व्यवस्था नगरेको भन्दै कडा जवाफ दिएका थिए ।

प्रचण्डले ओलीलाई केरुङ, काठमाडौं–लुम्बिनी रेलमार्ग निर्माण लगाएतका विभिन्न योजना बनाएको तर त्यो योजना सम्पन्न गर्नका लागि राष्ट्रको ढुकुटीमा पैंसा नभएको तर्क गरेका थिए । यद्यपि, केही दिन अघि संसदमै पूर्वअर्थमन्त्री रामशरण महतले वर्तमान सरकारले ल्याएको बजेट मौज्दात रकमले पूर्ति हुने विदेशीलाई ऋण माग्नु पर्ने अवस्था नरहेको बताएका थिए ।
स्रोत: हाम्राकुरा डटकम