स्वास्थ्य क्षेत्रका चुनौतीहरुलाई सार्थक अवतरण गर्लान् गगनले ? - प्रकाश श्रेष्ठ

तस्बिर: गगन थापाको फेसबुक
         नेताहरुको बारे लेख्न छोडौ भनेको मनले मानेन । आखिर जे जति भने पनि राजनिती देशको भविष्यलाई डोराउने शक्ती पुञ्ज हो । यसको सुदृढ विकासबाट नै देशका हरेक क्षेत्रमा आमुल परिवर्तन हुन सक्छ । अझै भन्दै गरिने युवाहरुनै देश निर्माणको आधारस्तम्भ हो । त्यसो त नेपालका हरेक राजनितीक परिवर्तनमा युवाहरुको भुमिका अग्रणी रहेको छ ।

       भरिखरै लामो पर्खाईपछि सरकारमा सत्ता साझेदार नेपाली काँग्रेसले दोस्रो चरणमा एकथान नयाँ-पुराना अनुहारहरु सरकारमा सामेल गराएको छ,  अर्थात् नयाँ मन्त्रीहरु चयन गरेको छ । यसमा पनि कहिले सकारात्मक तवर र कहिलेकाही  केही नकारात्मक तवरबाटै पनि चर्चाको शिखरमा रहेका दोस्रो जनआन्दोलन २०६२/६३ का चर्चित युवा नेता गगन थापा पहिलोपटक स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।

लेखक  
       केही महिना पहिला भएको काँग्रेसको १३ औ महाधिवेशनमा कृष्ण प्रसाद सिटौलाको खेमाबाट महामन्त्री पदमा पराजित भएसँगै आफ्ना मातहतका युवाहरुलाई संगठित गर्दै भर्खरै सम्पन्न ने.वि.संघको महाधिवेशनमा शेरबहादुर देउवा, खुमबहादुर खड्काको मातहतमा रहेर क्रियाशिल विद्यार्थीहरुसँग सिटौला खेमामा प्रतिनिधित्व गर्दै संयुक्त प्यानल बनाएर चुनावमा जाँदा रामचन्द्र पौडेल खेमाका विद्यार्थी कमजोर बन्न पुगे र त्यसको फाईदा सिटौला खेमा वा गगन मातहतका विद्यार्थी नेतृत्वहरुको प्रतिनिधित्व तुलनात्मक रुपमा सशक्त रुपमा भएको पाईयो ।

         यसको फलस्वरूप पनि उनी पुन: युवाहरु माझ लोकप्रिय बने र अन्ततः सिटौला समुहबाट गगनले मन्त्रीमण्डलमा सहभागी हुने मौका पाए । वास्तवमा उनले देशका कुनाकुनामा भएका सर्वसाधरणका समस्याहरुलाई राम्रोसँग बुझेका छन् र उनका हरेक भाषणमा देशलाई कसरी आर्थिकरुपमा सम्पन्न, सुदृढ र शक्तीशाली बनाउन सकिन्छ त्यसबारे  खाका प्रस्तुत गरेको पाईन्छ । त्यसो त बोले झै व्यवहारमा कार्यान्वयन गर्न नेपाल जस्तो राजनैतिक संस्कारले सही मार्ग नलिईसकेको गठबन्धन सरकारबाट अपेक्षा गरिहाल्न सकिदैन तथापी उनले समालेको स्वास्थ्य मन्त्रालयले पहिला भन्दा संशक्तरुपमा जनताको हित हुने स्वास्थ सम्बन्धी निती र कार्यक्रम ल्याउन सक्ने कुरामा सर्वसाधरणहरु विश्वस्त छन् ।

         त्यसो त डा. गोविन्द के.सी. ले पटक-पटक स्वास्थ क्षेत्रमा देखिएको व्यथितीहरु, निजी मेडिकल कलेजमा देखिएको व्यापारिकरणका विरुद्ध गरेको आन्दोलनलाई सम्बोधन गरेर एउटा थिती बसालेर स्वास्थ्यसेवालाई सर्वसाधरणको पहुँच र निजी मेडिकल कलेजमा देखिएको नाफाखोरी व्यापारलाई अन्त्य गरि सामान्य नागरिकको छोराछोरीहरुले पनि क्षमताको आधारमा मेडिकल विषय अध्ययन गर्न पाउने वातावरण सृजना गर्न आवस्यक एेन-कानुनमा परिवर्तन गर्नु पर्ने देखिन्छ । यसको लागी गगन थापाको कस्तो भुमिका रहने हो हेर्न बाँकी नै छ । त्यसो त नक्कली सर्टिफिकेटधारी स्वास्थ्यकर्मीहरु, विना लाईसेन्सका मेडिकल स्टोरहरु लगायत अतिदुर्गम क्षेत्रहरुमा स्वास्थ्य सेवाको सर्भसुलभ व्यवस्था के कसरी गर्ने र गरिव, निमुखाहरु आर्थिक अभावका कारण सामान्यदेखि असामान्य रोग लाग्दा उपचार नपाएर अकाल मृत्यु हुने समस्यालाई कसरी सम्बोधन गर्ने हुन त्यो पनि भविष्यको उनको कार्यप्रकृयाले नै देखाउने छ ।

        त्यस्तै गरि कमजोर आर्थिक अवस्था भएका बालबालिकाहरुको निःशुल्क नियमित चेकजाँच र उपचार साथै वृद्धवृद्धाहरुको निःशुल्क उपचार हुनुपर्ने सर्वसाधरणहरुको मागलाई पुरा गर्ने सम्बन्धमा कस्तो किसिमको निती अवलम्वन गर्ने छन् । स्थानिय गाउँतहमा स्वास्थ्यसेवालाई सुदृढ पार्ने सम्बन्धमा पर्याप्त स्वास्थ जनशक्ती उपलव्ध गराउन र बालबालिकाहरुको नियमित खोप लगायत स्वास्थ चेकजाँचको अद्यावधिक गर्न के कसरी कार्यक्रम बनाएर लाग्ने छन् । सरकारी अस्पतालहरु प्रति जनताको गुम्दै गएको जनविस्वासलाई फिर्ता गर्न के कस्ता कार्यक्रम लागु गर्ने छन् । त्यस्तैगरि अस्पतालमा स्वास्थ्यकर्मीहरुको लापार्वाहीबाट अनाहकमा जिउज्यान गुमाउनेहरुको संख्या नियन्त्रण गर्न कस्तो नीति नियमको व्यवस्था गर्ने छन् । निजी क्षेत्रले सामान्य रोगको उपचारको लागी पनि अनेकथरी अनावस्यक परिक्षण गर्न लगाउने चलनलाई निरुत्साहित गर्न के कस्ता पाईला चाल्ने छन् । यी र यस्तै थुप्रै प्रश्न उनका सामु उभिएका छन् ।

          मुलत: गगनले यस्तो थितीको शुरुवात गरिदिउन की हरेक बालबालिकालाई अनिवार्य रुपमा बार्षिक चेकजाँच नियमित रुपमा गरेको र आवस्यक खोप समय समयमा लगाएको र बालबालिकाको स्वास्थ सम्बन्धी सम्पुर्ण जानकारी हरेक अभिभावक र उनीहरुले अध्ययन गर्ने स्कुलमा व्यवस्थित डाटा राख्ने व्यवस्था हुनुपर्ने र त्यसको लागी कम्तीमा अनेमी वा अहेव सरहको स्वास्थ्यकर्मीको व्यवस्था हुनुपर्ने हुन्छ । त्यस्तै कम्तीमा आर्थिक कमजोरीकै कारण गम्भिर प्रकृतीका रोगहरु जस्तै मृगौला फेलिएर, पाठेघरको क्यान्सर, ब्लड क्यान्सर, ब्रेन ट्यूमर लगायतका महंगो खर्च लाग्ने उपचारको अभावमा मृत्युको मुखमा धकेलिनु पर्ने अवस्था नआओस् त्यसमा राज्यलेनै निःशुल्क उपचार गर्ने व्यवस्था गरोस् ।

        त्यस्तैगरि हरेक स्कुलमा पोषण सम्बन्धी जनचेतनामुलक तालिमहरु समयसमयमा दिनको लागी र खानेपानी एवं सरसफाई सम्बन्धी गतिविधी अगाडी बढाउन समेत स्वास्थ मन्त्रालयले अन्य सम्बन्धित मन्त्रालयको सहकार्यमा विभिन्न जनचेतनामुलक कार्यक्रमलाई अगाडी बढाउन विशेष ध्यान दिनुपर्ने हुन्छ । साथै स्कुलमा स्वास्थ्य शिक्षालाई केवल सैद्धान्तिक  मात्रै नभई व्यवहारिक रुपमानै लागु गराउन समयसापेक्ष शिक्षण विधी एवं प्रयोगात्मक विधी अवलम्वन गर्न पनि विशेष कार्यक्रम ल्याउन स्वास्थ मन्त्रालयले शिक्षा मन्त्रालयको सहकार्यमा काम गर्नुपर्ने देखिन्छ ।

         खासगरि विकसित देशहरुमा स्कुल तहबाटै बालबालिकालाई आधारभुत स्वास्थ र सरसफाई एवं पोषण सम्बन्धी व्यवहारिक ज्ञान दिईने हुन्छ साथै अनिवार्य रुपमा बालबालिकाहरुको स्वास्थ्य परिक्षण एवं खोप सम्बन्धी कार्यक्रम लागु भएको हुनुपर्छ । त्यसो भए नभएको निकै सजकताको साथ सम्बन्धित राज्यका स्वास्थ्य विभागले कडाईका साथ रेकर्ड जाँचपडताल गर्छ र तोकिएको समयमा हुन नसकेमा तुरुन्त स्कुल र अभिभावकहरुलाई जानकारी गराई चेतावनी समेत दिन्छ । यसरी हेर्दा सानै बच्चाहरु देखिनै स्वास्थ सम्बन्धी क्षेत्रमा राज्यको निकै जिम्मेवारिता देखिन्छ । यस्तै, तवरबाट नेपालमा पनि क्रमश: कामहरु अगाडी थाल्नुपर्ने देखिन्छ ।

      यस्ता हरेक तहगतरुपमा फैलिएका स्वास्थ सम्बन्धित समस्या, चुनौतीहरुलाई सम्बोधन गरेर आवस्यक निकास दिन स्वास्थ्य सम्बन्धी बृहत्तरहितको लागी उपयुक्त निती, कार्यक्रम तर्जुमा गरेर कार्यान्वयनमा विशेष ध्यान दिनु पर्ने जरुरी छ । अत: गगनले सम्हालेको चुनौतीपूर्ण स्वास्थ्य मन्त्रालयमा के कस्तो आसातित परिवर्तन हुन सक्ला हामी सबैले केही समय प्रतिक्षा गर्नै पर्छ । त्यस्का लागी उनको कामलाई हेरेर जनताहरुले उनी माथी गरेको भरोसाको मुल्यांकन गर्नेनै छन् । अहिलेलाई उनको हरेक गतिविधी मन्त्रीका हैसियतले गर्दा सर्वसाधरणहरुलाई सम्मानजनक नागरिक भएर बाँच्न पाउने गरि हुनसकुन् भन्दै सफल कार्यकालको शुभकामना छ ।
 
बाल्टिमोर, अमेरिका

,