फेसवुक बहसको चौतारी बन्न सक्छ की सक्दैन ?-प्रकाश श्रेष्ठ


 सामाजिक संजाल फेसवुक विश्वभरिनै निकै प्रख्यात बन्दै गएको छ । सन् २००४ मा शुरुवात भएको फेसवुकको छोटो अवधीमै ह्वात्तै लोकप्रियता बढ्दै जानु र खासगरि युवा जमातमा यसको प्रभाव निकै देखिन्छ । दैनिक आई.टी.( ईन्फरमेसन टेक्नोलोजी) को विकाशले फेसवुकको विभिन्न फिचरहरुको विकास सँगै यस प्रतिको लगाव विकशित वा विकासोन्मुख राष्ट्रका जनताहरुमा दिनप्रतिदिन बढ्दै गरेको सहजै अनुमान गर्न सकिन्छ यसमा नेपाल समेत अछुतो रहेन । नेपालमा समेत ईन्टरनेटको पहुँच बढेसँगै फेसवुक र ट्युटरमा राजनितिक नेता देखि सर्वसाधरण समेतको संलग्नता बढ्दो छ र यसको प्रभावकारिता बीजगणितय रुपमा बढिरहेको छ ।

       आज विश्वका कुनै पनि कुनामा रहेको व्यक्तीले विश्वको अर्को कुनामा रहेको व्यक्तीलाई सहजै सम्पर्क गर्न सक्छ, मनका भावनाहरु सहजै लेखेर वा बोलेर(फेस टु फेस कुराकानी समेत गरेर ) आपसमा आदानप्रदान गर्न सक्छ । सामान्य व्यक्ती देखि सेलिब्रेटीहरु, कलाकारहरु, व्यवसायीहरु, सामाजिक संघ-संस्थाहरु, राजनितिज्ञहरु, शैक्षिक संस्थाहरु, सरकारी संस्थाहरु लगायत विभिन्न वौद्धिक फोरमहरु, संचार माध्यमहरु, धार्मिक-सामाजिक अभियन्ताहरु सबैजसोले फेसवुक पेज, गुरुप, गुरुप च्याट, व्यक्तीगत फेसवुक एकाउण्ट समेत खोलेर आ-आफ्नो भावनाहरु, विचारहरु, कार्यक्रमहरु, छलफलहरु, अभियानहरु, अभिमतहरु, लाईभ कार्यक्रमहरु, अपिलहरु, कार्ययोजनाहरु, कार्यउपलव्धीहरु, बहसहरु, प्रस्तुतीहरु आदी सेयर गरिरहेको पाईन्छ ।

          व्यक्तीहरुले आफ्ना व्यक्तीगत जीवनका गतिविधी झल्काउने श्रव्य-दृश्य विषयवस्तुहरु( फोटो, भिडियोहरु) समेत व्यक्तिगत फेसवुकमा, पेज वा गुरुपमा समेत पोस्ट वा सेयर गरेको पाईन्छ । अझै निजी व्यवसायी, पेशाकर्मी, सेलिव्रटीहरुले व्यक्तीगत वा संस्थागत पेज मार्फत आफ्ना वस्तु तथा सेवाहरुको प्रचारप्रसार गरेर सेवाग्रही वा सर्वसाधरणलाई ध्यानाकर्षण गरिरहेको समेत पाईन्छ । त्यसो त आजकल फेसवुकबाटनै "लाईभ" गर्न मिल्ने सुविधा भएकोले व्यक्तीगत एवं संस्थागत कार्यक्रमहरुको प्रत्यक्ष प्रसारण गर्ने चलन बढेको छ । विभिन्न संघसंस्था लगायत रेडियो, टेलिभिजनहरुले समेत " लाईभ"( प्रत्यक्ष प्रसारण) मार्फत आफ्ना दर्शकहरु, स्रोताहरुलाई विभिन्न कार्यक्रम बारे जानकारी दिने र सहभागी गराउने समेत प्रचलन चलेको छ ।

         यतिसम्मकी विभिन्न सेमिनार, गोष्टी, भेला, छलफल, स्टेज प्रोग्रामहरु, सांगेतिक कार्यक्रमहरु, राजनितिक भाषणहरु समेत फेसवुक "लाईभ " मार्फत विश्वका सबै ठाउँहरुबाट घरमै बसेर, कार्यस्थलमा समेत हेर्न मिल्ने सुविधा आईसकेको छ । त्यस्तै लाईभ हेरिरहेकाहरुले तत्काल सम्बन्धित कार्यक्रमसँग सरोकार राख्ने भावनाहरु, जिज्ञासाहरु, समस्याहरु समेत उक्त कार्यक्रममा राखेर त्यसको तत्कालै जवाफ पाउन सक्ने अर्थात् अन्तरक्रियामा समेत भौगोलिक दुरीबाट टाढा रहेर पनि सहभागिता जनाउन सकिने अवस्था आईसकेको छ ।

            त्यस्तै गरि विभिन्न पेपर एवं विद्युतिय पत्रपत्रिकाहरुमा प्रकाशित समाचारहरु समेत फेसवुक मार्फत नै पढ्न पाईने, Job Vacancy, किनमेल अनलाईन साईटहरु, मनोरंजन साईटहरु, बहस फोरम, साहित्यिक फाँट, शैक्षिक, स्वास्थ, खेलकुद सम्बन्धी देखि विविध विधाका साईटहरु समेत फेसवुकमै सर्च गरेर, पेज लाईक गरेर समेत आफुलाई मनपर्ने र आवस्यकता अनुसार प्रयोगमा ल्याउन सकिने हुन्छ । त्यसो त फेसवुक एउटा विशाल सागर जस्तै हरेक किसिमको खुराकहरु, विषयवस्तुहरु समेट्न सक्ने विशाल चौतारी बनेको छ । त्यसमा पनि आफ्नो चाहना र ईच्छा बमोजिमका पेज, गुरुप र साथीहरु सँग सम्बन्ध जोड्न सकिन्छ । साथै यसलाई कसरी उपयोग गर्ने भन्ने विषयले विशेष महत्व राख्छ, जसरी पानीको अथाह सागरमा जति ठुलो घैलो लिएर पानी भर्न गयो त्यतिनै पानी भर्न सकिन्छ त्यस्तै सागरमा सबै राम्रो चिजहरु मात्र हुँदैन त्यसमा आफुलाई चाहिने चिज लिन सक्नु पर्छ त्यस्तै फेसवुकमा समेत सबै राम्रा चिजहरु छैनन्, विभिन्न विकृतीहरु, समाजलाई भाड्ने विषयवस्तुहरु पनि प्रायाजित तवरबाट कुटिल चाल चाल्न लागिपरेका व्यक्ती र संघ-संस्थाहरुले पस्केका हुन सक्छन् ।

         त्यस्तै कतिपय व्यक्तीहरुले अरुको मानमर्यादामा आघात पुग्ने, नैतिक दाग वा ठेस पुर्याउने, सामाजिक आचरणमा ठेस लाग्ने, नैतिक पतन गराउने किसिमका अफवा फैलाउने सामाग्रीहरु पोस्ट गर्ने देखि कतिपयलाई बनावटीरुपमा तारिफ गरेर अरुको आँखामा छारो हाल्ने काम समेत गरेको पाईन्छ । कतिपय फेसवुकमा भएका गलत पोष्ट र चरित्र हत्या गर्ने सामाग्रीहरुको कारण अनाहकमा मानसिक तनावमा पर्ने र हिंसामा उत्रने वा आत्महत्या जस्तो अति डरलाग्दो काम गर्न समेत अग्रसर भएका घटनाहरु समेत समाजमा देखिन्छ ।

       त्यस्तैगरि बढ्दो देखासिकी र भड्किलो पोस्टका कारण परिवारमा तनाव र घरवार बिग्रिएका घटनाहरु पनि बढ्दै गएको छ । विभिन्न पेज, गुरुप र अनलाईन पत्रिकाहरुको फलोअरहरु, लाईक गर्नेहरुको संख्या बढाउने होडबाजीमा हुँदै नभएका कपोकल्पित भ्रामक समाचार र सामाग्रीहरु पोस्ट गरेर अधिकांश सर्वसाधरणहरुलाई गलत संदेश संप्रेषण गरेको पनि पाईन्छ । यसले गर्दा कतिपय अवस्थामा भ्रमपूर्ण समाचारले बजारमा हलचल मच्चाएको पाईन्छ । यस्ता किसिमका गलत प्रयोगले समाजमा खासगरि सामान्य नागरिकहरुलाई गलत संदेशले छिट्टै प्रभावित गरेको र नकारात्मक प्रभाव परेको देखिन्छ । अत: यस्ता छलकपटपुर्ण सामाग्रीहरु, समाचारहरु, अभिव्यक्तीहरु दिएर समाज, समुदाय र संप्रदायहरुमा हिलोछ्याप्ने, खटपट ल्याउने काम गरिनु हुँदैन ।

       हाम्रो जस्तो भर्खरै प्रविधीको पहुँचमा बामेसर्न थालेको नेपाली समुदायमा यस्ता नकारात्मक हरकतले सामाजिक, मानविय विकासमा ठुलो धक्का पुग्न सक्छ । तसर्थ सकभर सामाजिक संजाल फेसवुकलाई सहि सदुपयोग गरौ, यसलाई विचारको गन्थनमन्थन गर्ने, सहि सुचनाहरुको आदानप्रदान गर्ने, आपसमा आत्मियता कायम गर्ने, सामाजिकसेवाका गतिविधीहरुमा सरिक गर्न सबैलाई एकआपसमा जोड्ने पुलको काम गर्ने साधन र आपसमा मित्रवत सम्बन्ध स्थापित गर्ने माध्यम बनाउन सबै लाग्नु पर्ने, यसै मुताविक आमव्यक्तीहरुलाई टेवा पुग्नेगरि प्रयोग र संचालनमा ल्याउनु पर्ने देखिन्छ ।

       कतिपय व्यक्तीगत विचारहरु, असहमतिहरु, आक्रोसहरु वा कुण्ठाहरु व्यक्तिगत मेसेज पठाएर, व्यक्तीगतरुपमा सम्पर्क गरेर आपसमा समस्याहरु समाधान गरिनु पर्नेमा समेत फेसवुकमा सबैले हेर्न मिल्ने गरि पोस्ट गरेर रडाकु मच्चाएको पनि देखिन्छ जसले गर्दा मित्रतामा दरार आएको, अनावस्यकरुपमा अन्य सरोकार नभएका पक्षहरुले अनावस्यक आलोचनाहरु छरपस्ट हुनेगरि गरिएको पनि पाईन्छ । तसर्थ यस्ता कुराहरु, सामाग्रीहरु, विवादास्पद अभिव्यक्तीहरु सकभर सार्वजनिकरुपमा पोस्ट नगर्दानै बुद्धिमानी हुनसक्छ । कतिपय अभद्र र व्यक्तीगत चरित्र हत्या गर्ने पोस्ट र सेयर गरिएका सामाग्रीले गर्दा " साईवर क्राईम" सम्बन्धी कानुनको फन्दामा परेको पनि देखिन्छ । त्यसैले फेसवक लगायत अन्य सामाजिक संजालहरुको प्रयोगमा विशेष होश पुर्याउनु पर्ने हुन्छ ।

      त्यस्तैगरि यस्ता सामाजिक संजालका पोस्टहरु र स्टाटसहरुमा उक्त पोस्ट गर्ने व्यक्ती र संस्थाको विश्वासनियता एवं सामाजिक छविलाई समेत ख्याल गर्नुपर्ने हुन्छ । सामाजिक संजालमा अधिकांश प्रत्यक्ष चिनजान नभएका व्यक्तीहरु समेत साथी बनेका हुनसक्छन् तसर्थ सबैको विश्वास र नियतमाथी भरपर्न लायकनै हुन्छन् भन्न सकिदैन । अनावस्यक तनाव र बखेडा थुपार्ने खोज्नेहरुलाई "अनफ्रेन्ड" गरेर बस्नुनै कतिपय अवस्थामा उपयुक्त हुन्छ ।

         त्यस्तै फेसवुकमा सबैखाले व्यक्तिगत ईन्फरमेसन राख्नु कतिपय अवस्थामा प्रतिउत्पादक वा घातक हुने हुँदा यसमा सजकता अपनाउनै पर्छ । यतिभनिरहदाँ सामाजिक संजाल फेसवुकको सहि सदुपयोग गरेर विभिन्न आपतविपतमा परेकालाई उद्धार गरिएको, आर्थिक सहयोग, मानविय सहयोग र परोपकारी कामहरु, सामाजिक सचेतनाहरु, सामाजिक बहसहरुलाई प्रभावकारीरुपमा अगाडी बढाईएको पनि पाईन्छ । त्यस्तै गरि फेसवुकको उपयुक्त उपयोग गरेर धेरै ज्ञानगुनका कुराहरु, घरेलु एवं व्यवसायिक उपयोगी कुराहरु आर्जन गरेको पनि देखिन्छ । तसर्थ फेसवुकलाई केवल " चिया गफ " गरेर समय बर्बाद गर्ने थलोको रुपमा मात्र विकसित नगरि वौद्धिक फोरम र ज्ञानआर्जनको एवं सकारात्मक बहस गर्ने थलोको रुपमा समेत विकसित गरौ साथै राजनितीक, सामाजिक खवरदारी गर्ने माध्यमको रुपमा पनि यसलाई विकास गरौ । अव यसलाई कसरी उपयोग गर्ने हो, त्यो त प्रयोगकर्ताको हातमा छ यद्यपी यसलाई जीवनउपयोगी बनाउ केवल समय बर्बाद गर्ने माध्यम नबनाउ !