यो सम्मेलन 'भिजन ट्वान्टी-ट्वान्टी एण्ड बियोण्ड'मा बढी केन्द्रित हुनेछ -डा. केशव पौडेल


डा. केशव पौडेल 
हामी गैर आवाशीय नेपाली संघ अन्तराष्ट्रिय परिषद (एनआरएनए आईसीसी) को नवौं क्षेत्रिय सम्मेलनको पूर्व सन्ध्यामा छौं | सम्मेलन यहि अगष्ट महिनाको २६ र २९ तारिखमा अमेरिकाको न्युजर्सी राज्यमा आयोजना हुदैछ।

यो गरिमामय सम्मेलनको स्थानीय आयोजकका रुपमा गैर आवाशीय नेपाली संघ अन्तराष्ट्रिय परिषद, अमेरिकाले गहन जिम्मेवारी प्राप्त गरेको छ | गैर आवाशीय नेपाली संघ अन्तराष्ट्रिय परिषदले यस प्रकारको क्षेत्रीय सम्मेलन हरेक दुई वर्षमा नेपाल बाहिर बिभिन्न देशमा आयोजना गर्दै आएको छ | सोही अनुरुप प्राप्त यो जिम्मेवारीलाई एनआरएन अमेरिकाले बडो महत्वका साथ लिएको छ |

सम्मेलन सभ्य र भब्य रुपमा सम्पन्न गर्न अन्तराष्ट्रिय परिषदका क्षेत्रिय संयोजक तथा यो सम्मेलनका संयोजक सोनाम लामासंग एनआरएन अमेरिकाले शुरुवाती दिनदेखि नै हातेमालो गर्दै आएको छ | हामी कति दृढ र व्यग्र छौं भन्ने कुराको पुष्टि त हामीले झन्डै १५ दिन अगावै सम्मेलनको सम्पूर्ण तयारी पुरा गरेर देखाईसकेका छौं | हामीले न्युयोर्कमा पत्रकार सम्मेलन गरेर पनि यो कुराको जानकारी गराईसकेका छौं |

नेपालमा हालै मात्र संबिधान सभा मार्फत बनेको जनताको संबिधानले सुरक्षित गरेको गैर आवाशीय नेपालीहरुका हक र अधिकारहरुका बारेमा यो सम्मेलनमा व्यापक छलफल हुने कुरामा हामी पूर्ण विश्वस्त छौं | किनकी एक पटकको नेपाली सधैको नेपाली भन्ने एनआरएनएको मर्मलाई संबिधानमा राख्न सफल भएका छौँ | अब हामी त्यसको कार्यान्वयन तर्फा उन्मुख हुन चाहन्छौं |

नेपालमा गएको महा बिनाशकारी भुकम्प पश्चात तत्काल गरिएको मानवीय सहयोग र राहत वितरणमा विश्वभरका गैर आवाशीय नेपालीहरुले देखाएको ऐक्यबद्धता र त्यसले नेपाली जनमानसमा परेको सकारात्मक प्रभाबका बारेमा पनि छलफल हुनेछ | साथै, अझै पनि बाँकी रहेको जन्मभुमी नेपालको पुनर्निर्माणका लागि र यसको चौतर्फी बिकासका लागि हामीले छलफल गरिरहेका छौं र अझै गर्नेछौं |

यस पटक हामी अझ बढी उत्साही हुनुको कारण भनेको 'भिजन २०-२० एण्ड बियोण्ड' को नारा हो | यो नारा अन्तर्गत विदेशमा रहेका सबै नेपालीहरुले आफ्नो देशका लागि गर्न चाहेको सामाजिक वा ब्यापारिक सम्भावनालाइ कसरी सार्थक बनाउन सकिन्छ र त्यसमा एनआरएनएको भूमिका के हुन सक्छ भनेर सहभागीहरुबाट विचार लिईनेछ | एनआरएनएको यस सम्मेलनमा यो नारा उपर घनिभूत रुपमा छलफल हुनेछ |

आसन्न सम्मेलनका बारेमा एनआरएनएका केन्द्रिय अध्यक्ष शेष घले र सम्पूर्ण टिम उत्साही छ | संसारभरबाट आउने प्रतिनिधिहरुको स्वागतका लागि आयोजक कमिटि आतुर छ | यहाँको बसाईलाई सहज, सफल र सम्झनायोग्य बनाउन हामी प्रयासरत छौं | अझै पनि अग्रिम सुझाबको अपेक्षा छ | हाम्रो कर्मभुमीमा हुन लागेको यो अवसरप्रति एनआरएन अमेरिका आभारी छ र सफल बनाउनका लागि अहोरात्र खटिरहेका छौं | अमेरिकामा रहेका नेपालीको तर्फबाट न्यानो सत्कारको प्रयासमा छौं |
( द नेपाल टुडेका प्रधान सम्पादक सतिश चापागाईले गरेको कुराकानीमा आधारित)