दाहाल मन्त्रिपरिषद्को पहिलो बैठकका निर्णय

तस्वीर : रासस

काठमाडौं । नव निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले पदभार ग्रहण गरेकै दिन मन्त्रिपरिषद्को बैठक बसाएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण निर्णय गर्दै औपचारिक कार्यारम्भ गरेको छ ।

विहिबार शपथ लिएर प्रधानमन्त्री कार्यालय पुगेर पदभार ग्रहण गरेका दाहालले आफुसंग सपथ लिएका पाँच वटै मन्त्रीहरुसंग छलफल गरेको स्वकिय जोखबहादुर महराले संचारकर्मीलाई जानकारी दिए ।

पदभार ग्रहण गर्दा दाहालले भने, "पहिलो पटक प्रधानमन्त्री हुँदा काम गर्न जानिएन । १० वर्षमा धेरै कुरा सिकेर आएको छु । अब जनहितमा काम गर्छु ।"

प्रधानमन्त्री दाहालले आन्तरिक राष्ट्रिय एकतालाई बलियो पार्न काम गर्ने बताउँदै दलित, आदिवासी, जनजाति, मधेशी, पिछडा वर्गको उत्थानको काम गर्ने समेत बताए । दाहालले मन्त्रिपरिषद्का सदस्य थप्ने कार्य शुक्रबारबाटै थाल्ने स्वकीय महराले जानकारी दिए ।

गरिबका लागि सरकार, भूकम्पपीडितलाई तत्काल राहत र पुनःनिर्माण, हरेक जिल्लामा स्वास्थ्यकर्मी पठाउने र दलित र जनजातीको बच्चाको जन्मदर्ता गरेमा एक हजार प्रोत्साहन भत्ता दिइने निर्णय भएको महराले जानकारी दिए । महराका अनुसार दाहालले भूकम्पपछिको पुनःनिर्माणलाई पहिलो प्राथमिकता दिने बताएको समेत सुनाए ।

यस्तै, बैठकले बाढी पहिरोमा परी दिवंगत भएकाहरुका परिवारलाई थप एक लाख दिने र पूर्ववर्ती सरकारले गरेका निर्णयहरु कार्यान्वयन गर्ने निर्णय समेत गरेको छ ।