शेरबहादुरजीले पार्टीको पक्रिया र पद्धती मिच्नुभयो : रामचन्द्र पौडेल




सरकारमा सहभागितालाई लिएर नेपाली कांग्रेसमा विवाद देखिएको छ । कांग्रेस सभापति शेर बहादुर देउवाले सरकारमा सहभागिताका विषयमा आफू निकटका नेताहरू बाहेक अन्य कसैसँग पनि छलफल नगरेको भन्दै नेता रामचन्द्र पौडेल निकट कोही पनि नेताहरू सरकारमा सहभागी भएनन् ।
सरकारमा सहभागिता, कांग्रेसभित्र देखिएको असन्तुष्टि, अबको योजना लगायतका विषयमा कांग्रेसका नेता रामचन्द्र पौडेलसँग नेपालबाट संचालन हुने बाह्रखरी डटकमले गरेको छोटो कुराकानी समय सान्दर्भिक लागेर जस्ताको तस्तै साभार गरिएको छ  :

सरकारमा सहभागीताको विषयलाई लिएर तपाइँहरुले किन असन्तुष्टि जनाउनुभएको ?

मुख्य कुरा सरकारसँग जोडिएको छ । प्रचण्डको नेतृत्वमा सरकार बनाउने कुरा पार्टीले स्वीकार गरिसकेको हो । सभापतिले गरेको सम्झौतालाई हामीले पनि स्वीकार गरेका हौं । त्यो विषय पार्टीमा पनि छलफल भएको थियो । तर त्यसपछि सरकारमा पठाउने गृहकार्यको सम्बन्धमा कतै पनि केही सल्लाह भएन ।शेरबहादुरजी आफैंले एक्लै गर्नुभएको छ । उहाँ पार्टीको प्रक्रिया र पद्धति हेरेर चल्नुपर्यो । उहाँ त्यो अनुसार चल्नुभएन ।

पार्टीमा किन छलफल भएन त ?

पहिले देखि नै हामीले भनेको हौं ।  सरकारमा सहभागि हुनेहरूका बारेमा पार्टीमा छलफल हुनुपर्यो भनेर । तर त्यसलाई पालना गरिएन । कि कार्यसमितिले निर्णय गरेर अघि बढ्नुपर्यो । नभए उच्च तहमा छलफल त हुनुपर्यो । त्यो पनि भएन । उच्चस्तरमा छलफल भएको भए सहमति गराउन सहज हुने थियो । पहिलेदेखि नै पार्टीमा छलफल गर्ने प्रक्रिया र पद्दती हो ।

तपाइँहरूले सभापतिसँग केही कुरा गर्नुभएन ? 
हामीले भन्दा पनि उहाँले छलफल र सल्लाह गर्नुपर्ने हो । मन्त्रीमण्डल गठन सम्बन्धमा उहाँले केही सल्लाह नै गर्नुभएको छैन ।

त्यसोभए अब तपाइँ नजिक भनिएका नेताहरू सरकारमा सहभागी हुन्छन् कि हुँदैनन् ?

मन्त्रीमण्डल गठन सम्बन्धमा अहिलेसम्म छलफल भएको छैन । भयो भने त्यही बेला कुरा गर्छौं ।

तपाइँहरूले संसदीय दलको बैठक बोलाउन माग गर्नुभएको हो ?

मन्त्रीमण्डलमा सहभागि हुनेहरूका बारेमा छलफल गर्न हामीले पहिलेदेखि नै संसदीय दल र केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका थियौं ।