प्रचण्ड, जो नतिजा निकाल्न कुदिरहन्छन् - झलक सुवेदी




शान्तिपूर्ण राजनीतिमा आएपछिका केही वर्षदेखि एकथरी मान्छेले प्रचण्डलाई अस्थिर नेताका रूपमा चित्रण गरेको पाइन्छ। के प्रचण्ड अस्थिर नेता हुन्? कि उनी स्थिरता तोड्ने कर्ता हुन्? मैले के बुझेको छु भने प्रचण्ड स्थिरता, गतिहीनता र ‘लकिरको फकिर’ परिस्थितिसँग सहमत हुन नसक्ने नेता हुन्।

कहीँ अडिइरहन, कुनै पनि कुरालाई चुपचाप सहिरहन, यस्तै हो भनेर छाडिदिन नसक्ने उनको चरित्र छ। केही न केही ‘ब्रेक’ गरिरहनु पर्ने, केही न केही ‘रिजल्ट’ चाहिने उनको स्वभाव छ।

हामीले अवलम्बन गरेको संसदीय राजनीतिक प्रणालीले सय दिनसम्म सरकारलाई हनिमुन अवधि मनाउन देऊ भन्छ, निश्चित कारण र तर्कसहित सरकारमाथि अविश्वासको प्रस्ताव ल्याऊ भन्छ, कम्तीमा पाँच वर्षसम्म पर्ख र चुनावबाट जनताको फैसला पर्ख भन्छ। अर्थात् हाम्रो राजनीतिक प्रणाली र संस्कृतिले नै केही स्थिरताको परिकल्पना गरेको हुन्छ। तर, त्यसप्रकारको स्थिरताप्रति नै प्रचण्डको विश्वास देखिएन, उनी छिटै नतिजा चाहन्छन्।

अस्थिरताको पर्यावरण

प्रचण्ड दश वर्षअघि (२०६३ मा) काठमाडौंमा पहिलोपटक सार्वजनिक भए। त्यही दिन सरकारसँग माओवादीको ८ बुँदे सहमति भएको थियो। सहमति भए पनि तत्कालीन सरकार र सरकारमा रहेको अनुदार नेतृत्वका कारण चार महिनासम्म राजनीति हलचल गरेन। माओवादी खुला राजनीतिमा आउन व्यग्र छ तर कुनै शान्ति सम्झौता भएको छैन, सेना समायोजनको प्रक्रिया सुरु भएको पनि छैन। कांग्रेस–एमाले ती प्रक्रिया पन्छाउन चाहन्थे। त्यतिबेला उपप्रधान तथा गृहमन्त्री रहेका केपी ओली माओवादीसँगको सम्झौतालाई पन्छाउने, कमजोर बनाउने, थकाउने, हप्काउने, बेवास्ता गर्ने लेठोतिर लागिरहेका थिए।

त्यत्रो सैन्य शक्तिसहितको माओवादी पार्टीको व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी माओवादी स्वयम्को होइन, राज्यको थियो, जसको नेतृत्वमा गिरिजाप्रसाद कोइराला–केपी ओली थिए। सामान्य सिद्धान्त पनि के हो भने विद्रोहीसँग सम्झौताहरू अघि नबढाउँदा मुलुकमा फेरि हुनसक्ने अशान्ति र विद्रोह रोक्ने दायित्व राज्यको हो। तर, त्यतिबेला राज्य कत्ति पनि सक्रिय देखिएन। बरु प्रचण्ड–बाबुराम नै बिहानै–बेलुकै खैरो सुटमा दगुरेको दगुर्यै गरे, मान्छेका घरघर पुगे, व्यक्ति–व्यक्ति भेटेर आफ्ना कुरा राखे, जहाँ–जहाँ पुग्ने हो आफै पुगे। चार–पाँच महिनापछि मात्रै मंसिरमा बल्ल शान्ति सम्झौता भयो। शान्ति प्रक्रिया सुरु भएपछिको त्यो पहिलो छिमलमै प्रचण्ड चरित्र सक्रियता र गतिशीलता रहेछ भन्ने मैले महसुस गरेको थिएँ।

प्रचण्डको व्यक्तित्व अस्थिरजस्तो नदेखिने होइन, देखिन्छ। त्यस्तो किन देखिन्छ भने कुनै पनि राजनीतिक निर्णय वा सम्झौता गरेपछि उनी उत्साही भएर सार्वजनिक रूपमा ‘हामी यस्तो सहमतिमा पुग्यौँ’ भनेर घोषणा गर्छन्। तर भोलिपल्टभित्र अर्कै राजनीतिक खेल भइसक्छ। उनलाई विश्वास दिनेहरूले मुन्टो बटार्छन्। तैपनि उनी चाहिँ लगातार महिनादिनसम्म त्यसैमा लागिरहन्छन्। जब पहिलेको निर्णयबाट समाधान सम्भव देख्दैनन्, तत्काल उनी नयाँ विकल्प खोज्न थाल्छन् र नयाँ ढंगले निकासको प्रयास गर्छन्। यसैलाई मान्छेहरू अस्थिर व्यक्तित्व भन्छन्। तर यो नै उनको गतिशीलता हो। राजनीतिमा नेताका यस्ता भूमिकालाई गल्ती, कमजोरी वा शक्ति जे भनेर पनि परिभाषित गर्न सकिन्छ। तर प्रचण्डको यो चरित्र नतिजा खोज्ने र सुस्त गतिलाई छिटो तोडेर अघि बढ्न खोज्ने खालको छ।

प्रचण्डको उही काम, उही सक्रियतालाई कसैले गतिशील र कसैले अस्थिर भनिरहेका छन्। सकारात्मक रूपमा ग्रहण गर्नेहरूले गतिशील भनेर अथ्र्याएको र नकारात्मक चित्रण गर्न चाहनेले अस्थिर भनेर आरोपित गरेको पाइन्छ। प्रचण्डले लिएका निर्णयहरूको परिवर्तनमा उनको चरित्रगत भूमिका कति मुख्य हो र तत्कालीन राजनीतिक पर्यावरण (सन्दर्भ) कति निर्णायक छ भन्ने कुराले मात्रै वस्तुगत बुझाइमा पुग्न सकिन्छ।

अहिले लिएका निर्णयले कुनै नतिजा दिँदैन भन्ने निष्कर्षमा पुगेपछि उनी नयाँ तर्कसहित अगाडि बढ्न खोज्छन्। त्यो उनको सबैभन्दा पछिल्लो निर्णयमा पनि देख्न सकिन्छ। गत वैशाखमा उनले सरकारबाट फिर्ता पनि नभई आफ्नै नेतृत्वमा सहमतीय सरकार गठन गर्ने सार्वजनिक वक्तव्य दिए। भोलिपल्ट बिहानै आफ्नो निर्णयबाट पछि हटे। राजनीतिक रूपमा उनको उचाइको नेताले गरेको त्यो निर्णय अस्थिर नै देखियो। त्यस घटनामा तत्कालीन गठबन्धनलाई निरन्तरता दिने र त्यही गठबन्धनको प्रधानमन्त्रीका रूपमा आफूलाई लैजाने उनको भित्री इच्छा थियो भन्ने देखिन्छ।

ओलीको ६-७ महिने कार्यकाल हेरेपछि त्यसले राजनीतिक निकास दिँदैन भन्ने निष्कर्षमा उनी पुगेको देखिन्छ। एमालेसँगको नौ बुँदे सहमतिमा पनि ओलीको नेतृत्वमा होइन, तीन महिनापछि आफ्नै नेतृत्वमा सरकार बनाउने कुरा थियो। तर एक महिनापछि नै थाहा भयो, अब कुनै बुँदे सहमति पनि लागू हुँदैन। त्यसपछि उनले सुरु गरेको गृहकार्यको परिणाम अहिलेको राजनीतिक परिवर्तन हो।

यो सबै हेर्दा प्रचण्ड स्थिरताका विपक्षमा छन् भन्ने निष्कर्षमा पुगिन्छ। कुदिराख्छन्, दौडिराख्छन्। यसरी हुन्छ, कि त्यसरी, केही नतिजा दिन खोज्ने यिनको चरित्र हिजो जनयुद्ध सुरु गर्ने बेलामा पनि थियो । संसदीय राजनीतिमा जनमोर्चाकै नाममा चुनाबमा भाग लिइरहने हो भने कहिल्यै शक्ति आर्जन गर्न सकिन्न, त्यो जनमोर्चा या एमालेमा विलिन हुन पर्यो, या राजनीति सकिने भयो भन्ने आँकलन गरेर त्यसविरुद्ध शक्ति आर्जन गर्ने उपाय स्वरूप उनको टिम जनयुद्धमा गएको थियो। त्यसो नगरी मोहनविक्रम सिंह हुने विकल्प पनि उनीसँग थियो। तर यिनले आफ्नै बाटो खोजे र शक्ति आर्जन गरे।

प्रचण्ड सफल कि असफल?

नयाँ सरकारको नेतृत्व गर्न लाग्दा प्रचण्ड सफल होलान् कि असफल भनेर चर्चा हुन सुरु भइसक्यो। अबको सरकारको सफलता–असफलताले प्रचण्डको मूल्यांकन हुने होइन। उनी सफल हुन धेरै बाँकी छैन किनभने उनको नेतृत्वको विरासत वा योगदान भनेको नेपालमा गणतन्त्रको स्थापना, संघीयता, समावेशी–समानुपातिक राज्य प्रणाली हो। कसैले जस दिए पनि वा नदिए पनि नेपाली राजनीतिमा उनको यो हस्तक्षेप इतिहास भइसक्यो। अब त्योभन्दा पनि ठूलो सफलता प्रचण्डसँग अपेक्षा गर्नु काल्पनिक कुरा हो। तसर्थ उनको व्यक्तित्वको सफलतासँग अबको सरकारलाई दाँज्नु उपयुक्त हुँदैन।

अहिले साना–साना सफलताको कुरा गर्नु मनासिब हुन्छ । संविधान कार्यान्वयनका सन्दर्भमा मधेस–थारु आन्दोलनलाई सम्बोधन गर्दै र स्थानीय स्तरको निर्वाचन सम्पन्न गर्नुपर्ने सफलता हासिल गरे भने अबको सरकारको सफलताको सानो जस पनि प्रचण्डलाई जान्छ।

यसपटक उनी आफ्नो शक्तिका कारण मात्रै प्रधानमन्त्री हुँदै छैनन्, शक्ति संघर्षको विशिष्ट परिस्थितिले र उनकै भूमिकाका कारण यो जिम्मेवारीमा पुग्दैछन् । पहिलेको तुलनामा उनमा राजनीतिक परिपक्वता बढेको देखिन्छ। कतिपय सन्दर्भमा उनको खुलापन अलि बढी नै महसुस हुन्छ। उनका केही स्वभावगत चरित्रहरूले पनि उनका निर्णयहरूलाई निर्धारण गर्लान्।

तर, सरकारमा पुगेपछि प्रचण्डले झेल्नुपर्ने सबैभन्दा ठूलो चुनौती संसदको गणित हो। आफूभन्दा ठूलो दलसँग सत्ता साझेदार गरेका कारण ठूला निर्णय गर्दा उसको कुरा सुन्नैपर्ने हुन्छ। सत्ता साझेदार नेपाली कांग्रेसको आर्थिक–सामाजिक नीति र कांग्रेस सभापति शेरबहादुर देउवाको गतिशीलतासँग मिलेर हिंड्नु पक्कै सजिलो छैन।

प्रचण्डको दोस्रो प्रतिकुलता भारत हो। भारतले उनलाई अहिले पनि पूर्ण विश्वास गरेको देखिन्न। शेरबहादुर देउवालाई सत्तामा ल्याउनका लागि उनलाई अस्थायी रूपमा सहयोग गर्न खोजेको मात्रै देखिन्छ। तर, नेपालको सन्दर्भमा प्रचण्डलाई पूरै पन्छाएर वा निषेध गरेर काम गर्न गाह्रो छ भन्ने पनि भारतले बुझेको छ। आफ्नो कार्यकालमा केही काम गर्ने हो भने उनले भारतलाई निश्चित दूरीमा राखेर उसलाई विश्वासमा लिन आवश्यक देखिन्छ।
स्रोत: नेपालखबरडटकम