चैतमा सरकार परिवर्तन र निर्वाचन एकैपटक कसरी हुन्छ : प्रधानमन्त्री ओली


फाइल : तस्वीर

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले अहिलेको राजनीतिक ध्रुवीकरणले संविधान कार्यान्वयनमा चुनौती थपिएको बताएका छन् ।

वामपन्थी नेता तुल्सीलाल अमात्यको १९औँ स्मृति दिवसका अवसरमा तुल्सीलाल स्मृति प्रतिष्ठानले गरेको गोष्ठीमा प्रधानमन्त्रीले अहिलेको राजनीतिक घटनाक्रमले संविधान कार्यान्वयनमा जटिलता थपेको बताए ।

संविधान कार्यान्वयन हुन नदिन धेरै शक्ति लागि रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई बर्बादितिर जान नदिन जटिलता माझ पनि संविधान कार्यान्वयन गरेरै छाड्ने सुनाए । उनले भने, ‘एमालेले संविधान कार्यान्वयन गराएरै छाड्छ ।’ प्रधानमन्त्री ओलीले संविधानमा केही कमजोरी भए पनि देशका निम्ति संविधान बनाइएको चर्चा गरे ।

प्रधानमन्त्री ओलीले २०७४ साल माघ ७ गतेसम्म स्थानीय, प्रदेश र संसद्को निर्वाचन नभए देशमा संवैधानिक सङ्कट उत्पन्न हुने बताए । चैत्रमा सरकार परिवर्तन र स्थानीय निकायको चुनाव दुवै एकसाथ हुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अहिले सरकारमा जानका लागि केही मान्छेहरु ‘लिगलिगे दौड’ जस्तै होडबाजी गरिरहेको बताए ।

एमाले अध्यक्ष समेत रहेका ओलीले अब बन्ने प्रधानमन्त्रीले मधेसका माग पूरा गर्छ भनेर नक्कली कुरा गरिरहेको बताए । उनले मधेसका नाममा राजनीति गर्नेले मधेसीका निम्ति केही नगरेको आरोप लगाए ।

एमाले नेता माधवकुमार नेपालले माओवादीसँगको सहकार्य आवश्यक रहेको बताउनुभयो । ‘असमयमा नै गठबन्धन टुट्यो । यसमा माओवादीको पनि कमजोरी छ । हतारमा पदीय आकाङ्क्षा माओवादीले पनि गरेको हो–उनले भने, ‘हामीले पनि ध्यान दिन सकेनौँ । नीति कार्यक्रम, बजेट पेस भइसेकेको अवस्थामा वर्तमान गठबन्धन जोगाउनु पर्दथ्यो ।’

नेता नेपालले अब बन्ने सरकारले अघिल्लो सरकारले गरेका राम्रो कामलाई निरन्तरता दिनुपर्ने बताउँदै मुलुकको सार्वभौमसत्ताका लागि लड्ने जो सुकैलाई पनि एमालेको सहयोग हुने बताए । पूर्वप्रधानमन्त्री नेपालले मधेसमा नेपाल विरोध गतिविधि सञ्चालन भइरहेको भन्दै त्यो अत्यन्त डर लाग्दो भएको बताए ।