नेपाली भाषा समस्यामा विदेशको नयाँ पुस्ता -फडिन्द्र भट्टराई

-फडिन्द्र भट्टराई

नेपाली नबुझे नेपाल कसरी बुझ्लान र?

‘कस्तो मान्नु भयो आफ्ना छोरा नाति बसेको ठाउँ?,’ नेपालबाट पारिवारिक भ्रमणमा बेलायत आउने हजुरबा, आमाहरुलाई धेरैले यो प्रश्न सोध्ने गर्छन्। ‘अत्यन्तै राम्रो,’ स्वाभाविक जवाफ पनि आइहाल्छ । तर, त्यसभन्दा अलि गहिरिएर गफियो भने उनीहरुले आ-आफ्नो पिरलो ओकेल्छन्। आफ्ना सन्तानले नेपाल बिर्सिन्छन् कि भन्ने पिरलो।

तपाईंहरुलाई किन सन्तानले नेपाल बिर्सिन्छन् कि भन्ने लाग्छ भनेर मैले पश्चिम नेपालको एउटा  गाउँबाट आफ्ना  छोरा बुहारी, नाति नातिना भेट्न लन्डन आएका एक वृद्धलाई सोधेको थिएँ। ‘छोरा बुहारीले नेपाल भुल्दैनन् तर नाति नातिना आफ्नो पुर्ख्यौली थलोसँग जोडिन मुस्किल छ,’ उनले भने।मैले कसरी त्यस्तो होला भन्न नपाउँदै उनले थपे, ‘मुख्य समस्या भाषाको छ। केटाकेटी नेपाली नै बोल्दैनन् , भाषा नबुझे  कसरी देश बुझ्लान र खै?’ यो समस्या यहाँका नेपालीहरुले बुझेर नै नेपाली भाषा कक्षाजस्ता कार्यक्रम सामुदायिक रुपमा चलाएका छन् भन्दै पाका मान्छेको चित्त बुझाउने कोसिस गरें मैले त्यतिखेर।

नेपालबाट आफ्नो पारिवारिक भेटघाटमा वेलायत आउने हजुरबा हजुरआमाहरुको यतिखेर यतातिर मेला नै लाग्ने गर्छ। बिरलै भेटिने समरको घमाइलोमा नेपालमा बस्ने आफन्तलाई आफू बसेको ठाउँमा बोलाएर रमाईलो गर्ने चलन यतै रैथाने बनिसकेका नेपालीहरुमा बढ्दो छ।नेपालबाट आएका बाजे बज्यैहरु यतै जन्मेहुर्केका केटाकेटीसँग उतिसारो घुलमिल हुन नसक्दा यस्तो महसुस गर्दा रहेछन्। ‘बाउ आमा काममा, केटाकेटीहरु कि त मुबाईलको गेममा, कि टिभीको कार्टुनमा। नभए साथीहरुसँग त्यही इङलिसमा फ्याउ फ्याउ,’ कुराकानीमा एकजना हजुरबाको  कडा प्रतिक्रिया यस्तो थियो।

यो बेलायतको नेपाली समुदायको मात्रै समस्या होइन। अमेरिका, अष्ट्रेलिया, क्यानाडा तथा युरोपका अन्य ठाउँ जहाँ नेपालीहरु स्थायी प्रकृतिको बसाइँमा छन् त्यहाँका बच्चाहरुमा स्थानीय भाषाप्रतिको आकर्षणले नेपालीमा ल्याएको विकर्षण स्वाभाविक र साझा बनेको छ।यसरी नेपालबाट छोराछोरीको निम्तोमा  घुम्न आउने बुढापाकाहरुसँगको भलाकुसारीमा आफ्नो परिवारको सम्बृद्धि र प्रगतिमा देखिने सन्तुष्टिभित्र केही गहिरो चिन्ताका प्रतिबिम्बहरु  फेला पर्ने गर्छन्। उनीहरु भावी पुस्ताले नेपालसँगको साइनो कसरी कायम राख्लान् भन्ने पिरलोमा छन्।

नेपालमै जन्मे हुर्केर आउने केटाकेटी नेपाली भाषा  समस्याबाट मुक्त छन् तर यही जन्मेका बच्चाहरुको कलिलो मानसपटलमा जुन भाषा र परिवेशले जरा गाड्यो त्यो नै उनीहरुको जीवनको पहिचान बन्नसक्छ भन्ने कुरामा समाजशास्त्रीहरु समेत केही हदसम्म  सहमत देखिन्छन्। तर, धेरै नानीहरुको हकमा उनीहरु हुर्किँदै जाँदा नेपाली भाषाको समस्याले मुक्ति पाएका कैयन उदाहरण पनि सामुन्नेमा छन् ।

 समस्या  र समाधान 
विदेशमा बस्दा आफ्ना छोराछोरीले स्थानीय भाषा त स्वाभाविक रुपमै सिकिहाल्छन् तर यसको लतसँगै नेपाली भाषाप्रतिको दुरी बढ्दै जानेमा धेरै अभिभावक चिन्तित देखिन्छन्। कुनै पनि नेपालीले आफ्ना सन्तानले नेपाली नसिकुन् भन्ने चाहना त निश्चय नै राख्दैनन् तर जानेर अथवा नजानेर यसतर्फको ध्यानमा कमी हुँदा कालान्तरमा नयाँ पुस्तामा  भाषिक समस्या देखिने कुरा छर्लंगै छ।

विदेशको व्यस्त जीवनमा बाबुआमाले आफ्ना छोराछोरीलाई पर्याप्त समय दिन नसक्नुलाई नै समस्याको जरोको रुपमा लिने गरिन्छ। केटाकेटीहरु या त स्कुलमा हुन्छन् अथवा घरमा हुँदा टिभी र कम्प्युटरको एडिक्सनमा। यसरी घर स्कुल दुबैतर्फ उनीहरुको जीवन हुर्किने रुटिनको सेटमा नेपाली भाषाले पर्याप्त स्थान पाउँदैन।

अर्कोतर्फ उनीहरुलाई नेपाली बोल्ने उत्प्रेरणा दिन अभिभावकहरु समेत  चुकेका हुन्छन्। जसले नेपाली भाषाप्रतिको दुरी बढाइदिने गरेको छ। कतिपय अभिभावक त आफ्ना छोराछोरीले सानोमा स्थानीय लवजमा अंग्रेजी बोल्दा मक्ख पर्ने उदाहरण पनि पेश हुने गर्दछन्  जुन पछि गएर समस्याको रुपमा उदाउने गर्दछ।

के गर्न सकिन्छ?

पहिलो सिकाई भनेकै घर हो भन्ने त सर्व स्वीकार्य मान्यता नै हो। यही मान्यताको आधारमा केटाकेटीलाई नेपाली बोल्न प्रेरणा दिने थलो पनि घर नै हो। पहिला त उनीहरुलाई बोल्न सिकाउनुपर्यो। दोस्रो चरणमा लेखाइका कुराहरु आउँछन्। लेख्न सिक्ने कुरा सामुदायिक स्कुलहरुमा प्रभावकारी बन्न सक्छन् तर बोल्न सिकाउने र बानी  पार्ने घरमै हो।

उनीहरुसँग घरमा कुरा गर्दा सधैं नेपालीमै कुरा गर्ने, उनीहरुले अंग्रेजीमा जवाफ फर्काउँदा नेपालीमा बोल्न उत्प्रेरित गर्ने। उनीहरुको ध्यानाकर्षण गर्न एकाध वाक्य अंग्रेजीमा बोलेपछि नेपालीमा कुरा सुरु गर्ने। उनीहरुलाई मन पर्ने चिजमार्फत शब्दपछि शब्द गर्दै सिकाइ प्रक्रियालाई अगाडि बढाउने। बाल मनोविज्ञानको आधारमा भाषा सिकाइका मनोरन्जनात्मक खेलौना, श्रव्य-दृश्य र चित्रमार्फत आकर्षित गर्ने। यस्ता सामग्री स्थानीय तवरबाट अथवा नेपालबाट पनि  मगाउन सकिन्छ।
उमेर समूह अनुसारको सिकाइ प्रक्रिया हुने हुनाले आफ्ना नानीहरुको उमेर समूहका नेपाली समुदायका बच्चाहरुको जमघट गराउने त्यसमा भाषिक निगरानीसहित उत्साह र निरुत्साहको तरिका अपनाउने जस्ता कुराहरु प्रभावकारी बन्न सक्छन्।

सामुदायिक पहलमा सहभागिता

अहिले विदेशमा बस्ने नेपालीहरुले आफूहरु बस्ने इलाकामा हप्ताको एक दिन नेपाली भाषा कक्षा सञ्चालन गरेका पाइन्छन्। भाषा लेखन र सिकाइको लागि यो अत्यन्तै प्रभावकारी बन्ने गरेको उदाहरणहरु देखिएका छन्। साउथ ईस्ट लन्डनको एउटा नेपाली समुदाय चार्ल्टन नेपाली समाजले विगत केही वर्षदेखि  सञ्चालनमा ल्याएको लर्न नेपाली प्रोग्राम सफल र उदाहरणीय बनेको छ।

बेलायतका अन्य सहर र ठाउँहरुमा समेत यस्ता अभियानहरु सञ्चालन भएका छन्। स्कटल्याण्डको ग्लास्गोमा बस्ने नेपालीहरुको दियो क्लब नामको समूहले त आफूहरुको नौमती बाजा समूहले जम्मा गरेको रकमले नेपाली स्कुल सञ्चालन गरेका छन्। एकातिर नौमती बजाएर नेपाली संस्कृति जगेर्ना हुने, अर्कोतर्फ उठेको पैसाले बच्चाहरुलाई नेपाली पढाउने विदेशमा यस्तो नेपाल र नेपालीको साइनो आफैंमा गौरवपूर्ण छ।
हाल; लन्डन
सेतोपाटीबाट