अन्तिम "अस्तु" जन्मभुमिमै विसर्जन गर्न चाहन्छन् विदेशमा रहने नेपालीहरु - प्रकाश श्रेष्ठ




        जन्मदिने आमा र जन्मभुमि स्वर्ग भन्दा पनि प्यारो हुन्छ भन्ने लोक उक्तीलाई सबैले मनन गरिएको हुन्छ । आखिर अहिलेको विश्वव्यापीकरणको युगमा मानिसहरु एउटै भुगोलमा खुम्चिएर रहन सकिरहेका छैनन् अर्थात् मानिसहरु निकै चलायमान छन् । चाहे अवसरको खोजीमा होस् या घुमफिरको दौडानको क्रममा होस् एक देशको नागरिक अर्को देशमा विभिन्न रुपमा र विभिन्न प्रयोजनका लागी आवतजावत गर्छन् । त्यसो त यस अवस्थाबाट नेपाल जस्तो भौगोलिक एवं प्राकृतिक सुन्दरता भएको मुलुकमा उचित रोजगारीको अवसरको कमिले गर्दा बर्सेनी विभिन्न मुलुकमा रोजगारी र जीवन निर्वाहको उपायको खोजीमा युवाहरु विदेशिने गरेका छन् । त्यसमा पनि सम्पन भनिएका मुलुकहरुमा ग्रिन कार्ड र सिटिजनसिपको अवसर पाएर आफ्ना माता पिताहरु र परिवार सहित लामो समयको लागी बसोबास गर्नेहरुको संख्या पनि दिन प्रतिदिन बढिरहेको पाईन्छ ।

       लामो समय बस्दै जादाँ ती देशहरुमा स्वाभाविकरुपमा जन्म-मृत्यु अर्थात् मानविय जिवन चक्र पनि चलिरहन्छ । त्यस्तै जसरी जन्मिदा गर्नु पर्ने कर्मकाण्ड त्यस्तै हुर्कदै बढ्दै जाने क्रममा गरिने कर्मकाण्ड आ-आफ्नो संस्कार, रितिरिवाज  अनुसार निरन्तररुपमा समय सुहाउँदो परिवर्तनका साथ हुँदै गरेको पनि हुन्छ । त्यस्तै गरि स्वभाविक मृत्यु वा आकास्मिक मृत्युमा समेत चलनचल्ती र धार्मिक परम्परा अनुसार अन्तिम समयमा गरिने कर्मकाण्ड गर्नु पर्ने हुन्छ र त्यसलाई पनि परिस्थिती र समय सुहाउँदो रुपमा गर्ने गरिन्छ । कतिपयले मृत्यु पश्चात मृतकलाई अन्तिम दाहसंस्कार गर्न जन्मभुमि नेपालमै लैजाने व्यवस्था गर्छन्  त कतिपयले मृतकलाई मृत्यु भएको देशमै सतिगति गरेर "अस्तु" नेपाल लिएर जाने र नेपालमै विधी पुर्याएर अन्त्यष्टीको संस्कार पनि गर्दछन् ।

       विदेशमा भएर पनि नेपालीहरुमा एउटा धार्मिक आस्था एवं विश्वास के छ भने सकभर आफ्नै मातृभुमिमा देह त्याग गर्न पाईयोस् नभएपनि "अस्तु" भएपनि मातृभुमिमा विसर्जन गर्न पाईयोस् भन्ने चाहना एवं आकांक्षा देखिन्छ । हुनत आजकल विदेशमा समेत धार्मिक स्थल एवं अन्तिम दाहसंस्कार गर्ने परम्परागत स्थलहरुको कृत्रिम रुप दिने काम हुन थालेको पनि छ तथापी अहिले सम्म बैबाहिक कार्यक्रम गर्ने काम विदेशमै स्वदेशी परम्परा र संस्कार मुताविकनै गर्ने गरिएतापनि मृत्यु को बखत अन्तिम सास विदेशीभुमिमै फेरे पनि धार्मिक मान्यता अनुसार मृत शरिर जलाई सकेपछिको अन्तिममा रहने शेष भाग अर्थात् अस्तु भने सकभर नेपालमा नै लैजाने र पवित्र नदीनालाहरुमा विसर्जन गर्ने गरेको पाईन्छ ।

        हुनत हिन्दु धार्मिक परम्परा बाहेक अन्य धार्मिक परम्परा हुनेहरुले समान किसिमको दाहसंस्कार र अन्त्यष्टीको कर्मकाण्ड अपनाउँदैनन् तथापी विकासित देश वा अन्य देशमा समेत सनातन हिन्दु परम्परामा आस्था राख्नेहरुको बर्चस्व कायमै भएकोले यस किसिमको संस्कार बढि देखिन्छ भन्न खोजिएको हो । अन्य धार्मिक परम्परामा समेत कुनै न कुनै रुपमा जन्मभुमिमा मृतकको अन्त्यष्टीको बखत संझने वा मृतकको " डेड बोडी" नै लैजाने समेत गर्दछन् ।

          यसरी समग्रमा हेर्दा मातृभूमि प्रतिको आत्मियता सदासदा कायम रहेको पाईन्छ । यसो त ब्यापक रुपमा हेर्दा धर्ती सारा सबैको साझा स्थल हो तापनि मानिसहरुको सोच, समर्पण, आत्मियता, विश्वास, मुल्य-मान्यताले गर्दा मातृभुमि प्रतिको स्नेह र मृत्यु पछिको अर्को संसारमा पुग्ने आत्माले पाउने शान्ती वा स्वर्ग जाने बाटो खुल्ला गर्न समेत अन्तिम संस्कारलाई विधिवत तवरबाट पुरा गर्नु पर्ने मान्यता अहिले सम्मको पुस्तामा विद्यमान रहेकोले पनि यस किसिमको गतिविधी गरिएको होला । भोलीका दिनमा नयाँ पुस्ताहरु बढ्दै गएपछि, समय वित्दै जाँदा यस किसिमको प्रचलनले निरन्तरता पाउन सम्भव पनि नहोला तर पनि अहिले सम्म नेपालमा जन्मेर विदेशमा आएर बसोबास गरिरहेकाहरुमा भने यस्तो मान्यताले जरो गाडेकै छ ।

        वास्तवमा सत्य के हो भने बाँचुन्जेल आफुले गर्नु र पुर्याउनु पर्ने कर्तव्य बाबुआमा र परिवार प्रति स्वदेशमा रहेपनि विदेशमा रहेपनि सहि ढंगबाट पुर्याउनु पर्छ । तर कतिपयले नेपालमै पनि र विदेशमा समेत बाँचुन्जेल त्यति वास्ता नगर्ने तर मरेपछि देखावटी आडम्बरीपन देखाउने गरेको पनि पाईने गर्छ । त्यसो गर्नु भने त्यति उपयुक्त देखिदैन । जे होस् आफ्नो आस्था, रितीतिथी, परम्परालाई कायम राख्दै नैतिकवान हुन खोज्नुको साथै सामाजिक अनुशासन र पारिवारिक विश्वास अनि आत्मियताको प्रतिमुर्ति स्थापित गरिरहनु भने सराहनिय र प्रसंसनिय काम हो ।

        अत: आगामी दिनहरुमा जन्म देखि मृत्युपर्यान्त सम्मका कर्मकाण्डलाई निरन्तरता दिन कृत्रिम रुपमै भएपनि धार्मिक स्थलहरु र धार्मिक धरोहरहरुको निर्माण गर्न नेपालीहरुको स्थायी बसोबास बढ्दै गएका मुलुकहरु अमेरिका, बेलायत, अष्ट्रेलिया लगायत युरोपियन मुलुकहरुमा हुनु जरुरी छ । वास्तवमा संस्कार र संस्कृति जोगाउन सकेमात्र नेपालीको पहिचान र पुर्खाको अस्तित्वलाई आउँदा पुस्ताहरुमा हस्तान्तरण गर्न सकिन्छ । स्मरण रहोस्, अमेरिकामा आप्रवासी भएर आउने विभिन्न मुलुकका मानिसहरुले आफ्नो परम्परा, संस्कार र संस्कृतिलाई जिवन्त पार्ने काममा निरन्तर लागी परेका हुन्छन् ।