यसरी चम्कियो 'निर जैले रिसाउनी' -कालीप्रसाद बास्कोटा


साभार : आर्टिस्टनेपाल डटकम

रेशम फिलिलीको जालमा गीतको अत्याधिक लोकप्रियताले ममा ठूलो दबाब थियो। त्यसपछि मेरो संगीतमा काम गर्न चाहने सबैले एउटै कुरा भन्थे, ‘पिरतीको छाताजस्तै हिट हुने गीत चाहियो।’
जालमाको चर्चा आफैंमा अपवाद थियो। त्यस्तो विधि चर्चा भएको गीत मैले चाहँदैमा बन्ने कुरा थिएन। म आफ्नै सिर्जनाको भारीले थिचिएको थिएँ। नयाँ काम गर्न डर लाग्न थालेको थियो। म त्यसै पनि धेरै काम गर्दिनँ। जालमाको लोकप्रियतापछि त झन् नयाँ काम गर्नै डराउन थालिसकेको थिएँ।

रेशम फिलिलीपछि कबड्डी-कबड्डीमा गीत बनाएँ र गाएँ पनि। गीत राम्रै बनेको थियो तर जालमाको जस्तो चर्चा भएन। त्यसरी नै चल्नुपर्छ भन्ने मेरो मान्यता थिएनँ, तर के गर्नु स्रोताले त्यस्तै अपेक्षा गर्दा रहेछन्।

यसरी जन्मियो 'निर'

यसैबीच, पुरानो डुंगाको प्रोजेक्ट पाएँ। पुरानो डुंगाको कथा एकदमै सशक्त लाग्यो। मन छोयो। मनले खाएको काम गर्दा आफैँ राम्रो हुन्छ। यो सत्य हो।
म फिल्मका लागि काम गर्दा स्क्रिप्ट पढ्छु। फिल्मको टोलीसँग विभिन्न चरणमा छलफल गर्छु। सन् २०१६ को न्यु इयर इभमा पोखरा जाँदा चार दिनजति उतै बिताएको थिएँ। नयाँ सिर्जना गुर्नपर्ने भएकाले मेरो मन हरपल केही सोचिरहेको हुन्थ्यो। मेरा आँखा केही खोजिरहेका हुन्थे।

बेगनास ताल परिसरमा बस्दाबस्दै गीतको एसेन्स पाएझैँ भयो। पोखराका मान्छेहरुले बोल्ने भाषा, शैलीलाई विशेष ध्यान दिन थालेँ। त्यहाँका गन्धर्वहरुले रेट्ने सारङ्गीका धुनमा हराउन थालेँ। उनीहरुको भाका टिप्न थालेँ। तर, सबैभन्दा बढी प्रभावचाहिँ पोखराबाट माइक्रो चढेर काठमाडौँ फर्किँदा भेटिएको माग्ने पात्रको पर्‍यो। ती भाइको आवरण, जोक अनि बोल्ने र गाउने लवजले धेरै तान्यो। नयाँ गीतमा पोखराको लवज नै उतार्ने निर्णय गरेँ।

कुन ठाउँमा कस्तो भाषा बोलिन्छ, लवज कस्तो छ भन्ने कुरा संगीतकारको रुपमा म अवलोकन र अध्ययन गरिरहेको हुन्छु। निरमा पश्चिमको लोकशैलीलाई उतारेको छु। 'न'को ठाउँमा गीतमा 'नि' भनिएको छ। मायाको ठाउँमा 'मया' प्रयोग गरिएको छ। हामीसँग अरुबेला प्रयोग नहुने, खास अर्थ पनि नदिने तर लोकगीतमा प्रयोग हुने धेरै शब्द छन्। निर पनि त्यस्तै शब्द हो। तर मुख्य कुरा फिल्मको सिचुएसन र पात्रको पृष्ठभूमिसँग मेल खानेगरी बनाएको छु।

यो गीतका लागि विशेष समय दिनुपरेन। दिमागमा धेरै हप्ता खेलाए पनि गीत एक दिनमै बनेको हो। मेरो शैली नै भने पनि हुन्छ, म एकैपटक धुन र शब्द सोच्छु। अरुबेला गीत बनाउँदा असन्तुष्ट भएर चार पाँच चोटि लगाएर पनि बनाउनु परेको छ। तर 'निर' एकै पटकमा बन्यो।

'निर'को चर्चाको कारण

'निर'मा स्वर, संगीत र शब्द मेरै भए पनि हरेक गीतजस्तै यसमा पनि धेरै जनाको मिहिनेत परेको छ। अल्मोडा उप्रेतीको एरेन्जमेन्ट दमदार छ। मिक्सिङका लागि तीन-तीन ओटा स्टुडियो धाइयो। गोपाल रसाइलीको मेन्डोलिन र सोनाम पाख्रिनको गितार मिठो सुनिएको छ।

गीत सुन्दा सहजै थाहा नभए पनि बीच-बीचमा स–साना तर धेरै कुरामा नयाँपन दिन मिहिनेत गरिएको छ। 'आक्खुम' शब्दले अर्कै मजा दिन्छ। केही ठाउँमा मुखैबाट आवाज निकालिएको छ। यसमा गितार छ, किबोर्ड छ, मेन्डोलिन छ, मादल छ तर सबैभन्दा ठूलो कुरा यसमा नेपालीपन छ।

'जालमा' गीत बच्चा, युवा र वृद्ध सबैले रुचाएकैले भाइरल बनेको थियो। निर पनि बाटोमा हिँड्दा, गाडीमा यात्रा गर्दासमेत सुनिन थालेको छ। गीतको चर्चा मिडियामा भन्दा समाजमै देखिँदा आनन्द आउँछ। मेरो प्राथमिकता पनि यही हो।

अर्को भाइरल?

रिलिज भएको एक हप्तामै कभर भिडियोहरु बन्न थालिसक्यो। युट्युब भ्युअर्सको संख्या दश दिनमै छ लाख पुघिसक्यो। यसको अफिसियल भिडियो सार्वजनिक भएकै छैन। खासै विज्ञापन गरिएको छैन। 'जालमा' गीत पनि भिडियोबिना नै हिट भइसकेको थियो। यसबाट गीत लोकप्रिय हुन म्युजिक भिडियो नै चाहिन्छ भन्ने तर्कलाई कमजोर बनाइदिएको छ।

सरल शब्दलाई बच्चादेखि वृद्धसम्म सबै समूहका स्रोताले टिप्छन्। लोक भाकाका धुन सुनेर वृद्धवृद्धा पनि नोस्टाल्जिक बन्छन्। पुरानो डुंगाको निर्माता टोलीले यस गीतको 'डान्स कभर प्रतिस्पर्धा' आह्वान गरिसकेको छ। यो कम्पिटिसनका कारण आगामी दिनमा निरको चर्चा झनै बढ्ने निश्चित छ। निर अर्को 'भाइरल' नै हो।

(प्रस्तुति : प्रभाकर गौतम)

,