के गर्दै छन् सशाङ्क कोइराला सन्चो भएपछी

तस्बिर: रासस 

काठमाडौं । उपचारपश्चात् घरमा आराम गरिरहेका नेपाली काँग्रेसका महामन्त्री डा. सशाङ्क कोइराला मंगलबार पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित भएपछि उनको स्वास्थ्यका बारेमा चासो बढेको छ ।

नेपाली काँग्रेस, जिल्ला पार्टी सभापतिको सम्मानमा राजधानीमा आयोजित चियापान समारोहमा महामन्त्री कोइराला उपस्थित भएपछि उनको स्वास्थ्यका बारेमा टिकाटिप्पणी हुन थालेको हो ।

उनी देख्दा कमजोर देखिन्छन् भने हातमासमेत ठूलो घाउ छ । डा. कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार डा. कोइराला कमजोर छन् । उनी भन्छन्, ‘उहाँ शारीरिक रुपले कमजोर हुनुहुन्छ त्यसैले खाना खुवाउने अनि घरमै आराम गराउने काम गरेका छौं ।’

उनले अगाडि थपे, ‘उहाँको हातको घाउ पोलेको घाउ हो, अस्पतालमा भर्ना भएपछि दिमाग र शरीरमा अक्सिजन कम हुन्छ भनेर आइसले शरीर सेकिएको थियो, त्यसपछि त्यसलाई तताउन हट ब्यागले सेक्ने काम भयो, तर उहाँले कुनै प्रतिक्रिया जनाउन नसकेका अवस्थामा हात खुट्टामा पोलेको थियो ।’ उनले एकै सासमा भने, ‘खुट्टामा निको भइसक्यो अब हातको बाँकी छ ।’

 उनले औषधिका रुपमा निमोनिया भएको कुनै औषधि लिंदैनन् । तिवारी भन्छन्, ‘उहाँले विगत १७–१८ वर्षदेखि लिएको उच्चरक्तचापको औषधि नियमित लिनुहुन्छ, अहिले खाएको भनेको भिटामिनमात्रै हो ।’

आजकल उनी नेता तथा कार्यकर्ता सामान्य भेटघाट गर्छन् । झण्डै तीन हप्तादेखि बिहान १० देखि ११ बजेसम्म भेटघाट गर्छन् । धेरै बोल्दैनन् । उनलाई भेट्न आउनेहरु प्रायः स्वास्थ्यकै बारेमा कुराकानी गरेर फर्कन्छन् ।


तर ठूला नेता आए कुरा गर्छन् । तिवारी भन्छन् ‘पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलहरु आउँदा उहाँले लामै कुराकानी पनि गर्नुहून्छ ।’ देउवा र पौडेलले प्रचण्ड सरकारमा जानका लागि मन्त्रीको सिफारिसका लागि कोइरालासंग पनि परामर्श गरेको बुझिन्छ ।


डा. कोइराला यो महिनाको अन्त्यसम्म पूरै निको भएर अर्को महिनादेखि घरबाहिर निस्कने तयारीमा छन् । गत असार मध्यतिर गम्भीर विरामी भएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भएको थियो ।
हाम्राकुराबाट