दिल्लीमा प्रचण्डको पत्रकार सम्मेलन– मोदीसँग खुला दिलले छलफल भो, संविधान कार्यान्वयनमा सद्भाव पाएँ


सुशील पन्त, दिल्लीबाट

नयाँ दिल्ली, १ असोज – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग खुला दिलले छलफल भएको भन्दै दुई देशबीच विस्वासको वातावरण बन्दै गएको बताएका छन् । दिल्लीस्थित नेपाली दूताबासमा शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले दुई देशबीचका असमझदारीहरुलाई आफ्नो भ्रममणले हटाउने काम गरेको समेत दाबी गरे ।

एक वर्षअघि नेपालको संविधानसभाबाट संविधान जारी भएसँगै सो प्रति भारतले असन्तुष्टि जनाएको तथा दुई देशबीचको सम्बन्धमा चिसोपना उत्पन्न भएको भनिएको बेला प्रचण्डले यस्तो बताएका हुन् ।

यसअघिको एमाले नेतृत्वका सरकारका प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गरेको भएपनि दुई देशबीचको सम्बन्धमा सुधार नभएको भनि चर्चा हुने गरेकोमा प्रचण्डले भने आफ्नो भारत भ्रमण सफल भएको दाबी गरे ।

उनले संविधानको कार्यान्वयनका विषमया समेत भारतको सद्भाव आफूले पाएको भन्दै नेपाल फर्किएलगत्तै मधेसी मोर्चासँग भएको सहमतिअनुसार संशोधनका प्रक्रिया थाल्ने समेत बताए । यद्यपी उनले घुमाउरो शैलीमा संविधान संशोधनमा भारतको कुनै सरोकार नरहने भन्दै संशोधन नितान्त नेपालको आन्तरिक मामला भएको बताए ।

अर्को प्रसंगमा प्रचण्डले नेपालले भारत र चीनसँग सन्तुलिन सम्बन्ध राख्ने बताए । यस्तै उनले चिनिया राष्ट्रपतिबाट नेपाल नेपाल भ्रमणको तयारी भइरहेको पनि बताए ।
स्रोत: लोकान्तर डटकम

,