जुराऊ तीजका नयाँ भाकाहरू -शान्ति प्रियवन्दना

जुराऊ तीजका नयाँ भाकाहरू

हजुरआमाको पालामा
जव तीज भित्रिन्थ्यो
भिज्दै भदौरे झरीमा निथ्रुक्क
दियालोको उज्यालोमा
जम्मा भएर आमाहरू
मालचरीलाई सोध्ने गर्दथे
कति टाढाबाट आयौ ।

हरायो दवदवे हिलो
सकियो रोपाईँको मेलो
बिर्सियो पातली नानीको
फरियाको कुरो
सायद ६ बिस
ऋण पनि तिरिसकियो
र त आमाहरू संझिन्थे
माइतीको आगन
बालापनका साथीसङ्गी
हुर्केको पाखा पखेरा
र गाउँथे बिरहका गीतहरु।

समयको कसीमा
तीज बडो गज्जवको पो हुन गयो
आज तीज
दरको आहालमा चुर्लुम्मै डुबेको छ
पार्टीप्यालेस र तारेहोटेलहरू चहार्दै
हप्तौ पहिलेबाट
लर्किने सारी
छोटिदै गएको चोलो
छड्के तिलहरीको
फेरोमा कसिएर
कम्मर मर्काइरहेको छ ।

यस्तो लाग्दछ तीजलाई
देश दुख्न छोड्यो आजकाल
बिदेशीएका दाजुभाइ
ऋणमा डुबेका माइती
हराएकी दिदी बहिनीको खबर
सोध्ने फुर्सदै छैन
गन्थन गर्दै मालचरीसंग ।

समय सन्दर्भमा
चेतनाको राँको बन्नु पर्ने हो—तीज
तर बन्न सकेन ।

नाडीका हरिया चुरा
गलाको पोते र उपवासले
खसमको आयु बढ्ने भ्रमलाई
सचेत नारीको दिलदिमागले त
चिर्नु पर्ने हो नि
परन्तु चिर्न सकेन ।

पश्चिमका अनगिन्ती बेथा
देउकी, छाउपडीका आला घाउहरू
बादीबदेनीका मर्मभेदी रोदनहरू
गाउँवस्तीहरूमा
सदियौं देखी डसिरहेका
दाइजोका पीडाहरू
तीजका शुरताल बन्नु पर्ने
तर बन्ने छाटकाँट देखिएन ।

,