जिन्दगीको यात्रा (कविता) -मुना धनन्जय

जिन्दगीको यात्रा

हरेक मानिस जीवन यात्रामा
निस्कन चाहन्छ
अनि गन्तव्यमा पुग्न पनि
गन्तव्यविनाको यात्रा
निरर्थक हुन्छ भन्छन्
म पनि त आखिर मानिस
गन्तव्यमा पुग्न खातिर
यात्राको थालनी नगरी
कहाँ बस्न सक्दथेँ
त्यसैले त सुरू भो यात्रा जिन्दगीको
वर्षौँ भो यात्रा को थालनी गरेको पनि
तर खै!अहिले सम्म
गन्तव्य पुग्न नसकी
यात्रा मै अलमलिएको छु
यो जिन्दगी को यात्रा पनि
कति कठिन!कति दुरूह
अनेकौँ घुम्ती र मोडहरू
अनेकौँ  उकाली ओरालीहरू
अनि साँघु र जङ्घारहरू
पार गर्नु पर्ने सकि नसकी
आफूसंगै निस्केका यात्रुहरू
गन्तव्यमा पुगीसके तर
आफू भने बीचबाटो मै
अलपत्र परी रहेछु
कति गर्दा पनि
अघि बढ्न नसकेर
खै! किन किन
लाग्छ, अहिले यात्राको
साइत नजुराई निस्किएँछु
कि !कतै त्यसैले त
सायद
गन्तव्य पुग्न सकिएन
भित्री मनबाटै लागि रहेछ आज
यो जिन्दगीको यात्रा पनि
कति अर्थहीन कति निरर्थक ।।