भित्ताको वीपीले जितेको मन -सुभाष घिमिरे

स्व. वीपी

"वीपी" शब्दको ध्वनिसँगै मेरो  मानसपटलमा  पश्चिम  चितवन,  रामपुरस्थित  हाम्रो  काठेघरको  कोठाको  भित्तामा एक मूर्धन्य  कलाकारको  हातले  कपडामा  पोतिएको  वीपीको  जीवन्त  तस्वीरले  आकार  लिन  थाल्छ  र  पुरानो  स्मृतिको  रोमान्चकताले म रोमान्चित हुन थाल्छु । परम्परागत  पूजा -आजाका  लागि  पूर्खाले  मानिआएका पंचायन  देवताहरूलाई भान्छाकोठाको  पूजाथालीमा  हजूरआमाको  संस्कारको  जिम्मा  लगाइएको  बेला  वीपी  भने हाम्रो  कोठाको  भित्तामा  टाँसिन  पुग्नुहुन्छ । राजाको  पंचायती  राजको  बेला  व्यवस्था विरोधी  पिताको  आस्था  र  आदर्श  बनेर  वीपी घरका अन्य सदस्यमा झैं मेरो बालमस्तिष्कमा  पनि  आधिपत्य  जमाउन  पुग्नुहुन्छ |


वीपी  कोइरालालाई  मैले  सशरीर  साक्षात्कार गर्न  पाइन । त्यो  अभाव  मेरो  सम्पूर्ण  पुस्ताले  महशुस  गर्ने  अभाव  हो । तर  आँफूलाई  अलिअलि  बुझ्ने  झैं  मान्न  थालेदेखि  मलाई  लाग्न  थाल्यो  सायद  त्यो  पनि  त्यति  महत्वपूर्ण  थिएन । वीपी  एउटा चेतनापुन्ज  हो जुन  एउटा  शारीरिक  सीमाले  निर्धारण  गरेको  व्यक्तित्वभित्र  संकुचित  हुन सक्दैन ।

आफ्नो  साहित्यिक  कृति मोदिआइनमा युद्दको  वर्वरता , त्रासदी  र  मानवीय  पीडालाई  वर्णन  गर्दै  गीताको  मूल  मर्ममाथि  गम्भीर  प्रश्न  उठाएर  प्रचलित अर्थमा नास्तिक देखिनुहुने  वीपी  आफ्नो  आत्मवृतान्तमा  हैजा  लागेर  आफ्नो  भाइ  मर्दा कात्रो  किन्ने  पैसा समेत  नभएको  अनि  आफ्नी  छोरी  मरेको  घटनालाई  व्यक्त  गर्दा  समेत अनासक्त, आध्यात्मिक  ज्ञानी  झैं  देखिनुहुन्छ । अरुको  दु:खले  आहत  हुने  वहाँको  मन  आफ्नै  दु:खमा भने लापरवाह  देखिन्छ |

लेखक 
राजनैतिक वीपीलाई जेलको चारदीवारी भित्र कैद गर्दा वहाँको चेतना साहित्यको रुमानी उडान भर्न थाल्छ र वहाँबाट कालजयी कृतिहरू नि:सृत हुन्छन् । वहाँले दोषी चश्मा र श्वेतभैरवी जस्ता कथासंग्रह, हिटलर र यहुदी, तीन घुम्ती, नरेन्द्र दाइ, सुम्निमा, मोदिआइन, बाबुआमा र छोरा जस्ता उपन्यास अनि आफ्नो कथा, जेल जर्नल र आत्मवृतान्त जस्ता जीवनी नेपाली साहित्य भण्डारमा सुम्पेर जानुभएको छ ।

 राजनीतिमा  समतामुलक समाज निर्माणको ध्येय सहितको सर्वस्वीकार्य लोकतान्त्रिक समाजवादका अभियन्ता वहाँ आफूलाई साहित्यमा भने स्थापित मान्यता विरोधी अराजकतावादी भन्न रुचाउनुहुन्छ ।  वहाँका रचनाहरूमा मान्छेका अवचेतन मनका सूक्ष्म भावनाहरू मनोविश्लेषनात्मक तरिकाले केलाइएका हुन्छन् ।

व्यक्तिको जीवनमा संगतको ठूलो भूमिका रहन्छ ।भारतमा जयप्रकाश नारायण, आचार्य नरेन्द्र देव, राम मनोहर लोहिया र डा राजेन्द्र प्रसादको सान्निध्य  तथा नेपालमा गणेशमान सिंह. सुवर्ण शम्सेर, कृष्णप्रसाद भट्टराई जस्ता साथीहरूको साथ वीपीको जीवनका अभिन्न अंश हुन् ।

सामान्य मान्छे स्वभावतः लालयित हुने जीवनका भौतिक सुखसुविधाप्रति निस्पृह रहेर कडा आर्थिक अनुशासनमा रहनुहुने वीपीको उच्चतम नैतिकता आदर्शको खडेरी परेको वर्तमान नेपाली राजनीतिमा थोरै मात्र पनि स्थापित गर्न सके नयाँ पुस्तामा राजनीतिप्रति देखिएको वितृष्णा र उदासीनता कम गर्न सहयोग पुग्ने थियो । उपभोक्तावादी संस्कृति हावी भइरहेको वर्तमानमा वीपीको आदर्शको आवश्यकता हरेक क्षेत्रमा टड्कारो बनेको छ । वीपीहरू  करुणावश एक  युगमा  एकपटक  जन्म लिन्छन् । कुनै समय वीपीको आदर्शको लागि जीवन न्यौछावर गर्न तत्पर हुने वहाँका अनुयायीहरू अहिले पद, प्रतिष्ठा र पैसालाई जीवनको साध्य मान्न थालेका छन् भन्दा पत्यार गर्न मुश्किल पर्छ ।

वीपी  विचारलाई  गाउँ  गाउँबाट  समूल  नष्ट  गर्ने  हिंसात्मक  अभियान  बोकेर  हिंडेकादेखि जीवनभर  वीपी, वीपीका अनुयायीहरू र  वीपी  विचारलाई  दमन  गर्नेहरू  सबैको  सार्वजनिक अभिव्यक्तिमा अहिले भने वीपीको नाममा प्रशंसाका शब्दहरू मात्र सुनिन थालेका छन् । वीपीले स्थापना गर्नुभएको नेपाली  कांग्रेस  होइन  नेपाली  कांग्रेसलाई  प्रमुख  दुश्मन  मान्ने  पार्टीका  प्रमुख नेताले  आफ्ना  कार्यकर्तालाई  भने  वीपीको  आत्मवृतान्त  पढ्ने  आन्तरिक  सर्कुलर  जारी  गर्छन्  भन्ने सुन्दा मलाई  भने आश्चर्य  किन लाग्दैन भने  वीपी  नामक  महासागरको विराटताले आफूभित्र संपूर्णलाई समाहित गर्ने महानता राख्दछ ।

(निवर्तमान सभापति, नेपाली जनसम्पर्क समिति अमेरिका, मेरिल्यान्ड च्याप्टर  )

,