जिउँदो लाश भै लडेको छु आज, न रुन सक्छु न हाँस्नै सक्छु



"..बोकेर लाखौंको ऋणको भारी, हजारौं सपनाहरु श्रृङ्गारी,

छोराछोरी र संगीलाई छोडी, आएको परदेश म एक्लो अभागी,

जिउँदो लाश भै लडेको छु आज, न रुन सक्छु न हाँस्नै सक्छु,
जीवनबाट हारेर, जिउने आशा कहाँ त्यसै मार्न नै सक्छु ।"



..करिव ५ बर्ष देखि मेरिल्याण्ड राज्यको होमल्याण्ड एभ्यभिन्यु, बाल्टिमोर 21212 मा बसोवास गर्दै आउनुभएका बर्ष ३७ का एक नेपाली भाइ "मनोज काट्टेल" आफ्ना यस्तै यस्तै दु:खहरु पोख्दै भन्छन -"डाक्टर रिपोर्ट अनुसार दुबै किड्नी ९० प्रतिशत फेल भैइसकेको रहेछ। यथासिघ्र प्रतिस्थापन गराउनु पर्ने अवस्था छ। 

यस परदेशमा एक्लो र अस्वस्थताका कारण आफ्नो दैनिक जिवनमा समेत अत्यन्तै कठिनाईहरु आईपरेकोले जीवनरक्षा तथा औसधि उपचारका लागि अत्यावश्यक सहयोगका लागि सम्पुर्ण आदरणीय मेरिल्याण्डवासी नेपाली दाजुभाइ दिदिबहिनीहरु, आफन्तजनहरु तथा सम्पुर्ण जिम्मेवार नेपाली संघसंस्थाहरुलाई आवश्यक साथ र सहयोगका लागि अपिल गरिदिनु भए जिवनभर आभारी हुने थिएँ।"

मनोज भाईले गर्नु भएको अनुरोध सम्पुर्ण मेरिल्याण्डवासी जनसमुदायहरुमा हामी जस्ताको तस्तै जानकारी गराउन चाहन्छौं।


नेपालको गोर्खा जिल्ला, कट्टेल डाँडा-७, गोर्खा जिल्ला निवासी ३७ बर्षिय मनोजका ७ बर्षका एक छोरा अर्शिन कट्टेल र ११ बर्षका एक छोरी इलिना कट्टेल तथा श्रीमती शोभा भट्टराई नेपाल मै छन्। 

लाखौं नेपालीहरु झैं उनी आफू र परिवारको सुखद जीवन अनि बालबालिकाको राम्रो पढाई अनि उज्ज्वल भबिस्यको सपना साँचेर आफ्नो जिवनलाई नै दाउमा राखेर करिव ५ बर्ष अगाडि ज्यादै नै कठिन बाटो "मेक्सिको" हुँदै अमेरिका आएका थिए।

गलत बाटोबाट अमेरिका प्रवेश गर्न ज्यादै नै कठिन हुन्छ थाहै छ कतिले आफ्नो ज्यानै गुमाउँछन त कति पक्राउमा पर्ने गर्छन। यस्तै भयो मनोजको जिवनमा पनि ज्यादै कठिन यात्रा अनि पक्राउ। उनी पक्राउ परेको थाहा पाएर त्यस समय बाल्टिमोर निवासी केही समाजसेवी तथा संघसंस्थाहरुको पहलमा उनी धरौटीमा छुटेका रहेछन। 

जस मध्ये धरौटी बापत राखिदिएको सबै रकम उनले बिस्तारै काम गर्दै सबैको तिरी दिएका रहेछन। संघर्षशील मनोज आफ्नो अमेरिकी स्थायी बसोवासको आवस्यक कानुनी प्रक्रियामा अझै लडिरहेका छ्न् । 

प्राय: नेपाली समुदायले भोग्दै आएको समस्या झैं यहाँको भाषा, नियमकानुन र प्रक्रियाहरु समय मै नबुझ्दा हाल सम्म पनि उनले आफ्नो स्वास्थ बिमा लिएका रहेनछन र यसैको कारण अहिले झनै ठुलो समस्यामा छन, उनी। स्वास्थमा आएको गम्भीर समस्या, कठिन काम, अस्वस्थताका कारण काममा अफ्ट्यारो, एक्लो, स्वास्थ बिमा नभएको जस्ता विभिन्न कुराहरुले गर्दा निकै बिपत्ति र झनै चिन्तामा छन भाई "मनोज कट्टेल"।

यस बिषयमा सबै गम्भीर भैइदिनु हुन हामी सम्पुर्ण स्थानीय नेपाली संघसंस्थाहरुलाई ध्यानाकर्षण गराउँदै सम्पुर्ण मेरिल्याण्डवासी नेपालीजनहरुको तर्फबाट आवस्यक सहायताको लागि अनुरोध गर्दछौं। 

आउनुहोस्, हामी सबै उहाँको शिघ्र सु-स्वास्थ लाभको लागि प्रार्थना गरौं र सक्दो आवस्यक सहयोगका लागि सबै तिर पहल गरौं।

(नोट: स्थानीय मित्र बल बहादुर गुरुङ, Sita Gurung तथा मनोज कट्टेल, Manoj Kattel जी स्वयंको अनुरोधमा हामी केही साथीहरुले उनको निवासमा पुगेर उहाँको स्वास्थ अवस्था र हालको स्थितिबारे केही जानकारी बुझ्ने प्रयास गरेका थियौं, जसमा हामीलाई साथीहरू गायक यश कुमार, Dilip Shrestha, Bishwo Kiran Thapa लगायतले साथ दिनुभएको थियो। 

साथ र सहयोगका लागि सबैमा विशेष धन्यबाद!!
स्रोत: मेरिल्याण्डका हामी नेपाली