यात्री हुँ म -मैया सुवेदी

यात्री हुँ म

-मैया सुवेदी

म हुँ यात्री
मेरो गन्तव्य दूरदरारसम्म रहनेछ
प्रभातीय किरणसंगै
मेरो आँगनको डिलबाट
मलाई हेरिरहने माछापुच्छ्रे मसंग छ
केवल अपार माया
मुटु भरिको प्यारमा
गुटमुटिएको मनभरिको
उकुसमुकुस सङ्गाले र
क्षितिजलाई पच्छाउँदै
शुरु भएको छ मेरो यात्रा
त्यसैले  यात्री हुँ म
जीवन संघर्षको।

कुनै समय भावविभोर हुँदा
चाहन्थे पढ्न म मेरो मनलाई
आज्ञाकारी विद्यार्थी जस्तै
लाग्थ्यो  मलाई यो संसार
जहाँ विचारमा सहमति
पाउन छ निकै कठिन छ
तर पनि सेती नदीको भेलसगै
बग्दै छु म चुपचाप
त्यसैले यात्री हुँ म
जीवन संघर्षको।

लाग्थ्यो संसारमा छ सब थोक
मात्र कमी हो इच्छाशक्तिको
म फेरि नफुस्कने गरि
बाँधिए मनमनै
अब दौडिने छु हावा जस्तै
अदृश्य भई पृथ्वीको गोलार्ध  नाप्न
जहाँ साहस भित्रको छ दुर्बलता
दूरदूर  क्षितिजमा पुग्ने
आँट सँगै सकुशल फर्किने
त्यसैले यात्री हुँ म
जीवन संघर्षको।

सायद यो पृथ्वी
संसार हो कि मेरो
न जूनको आकार
न ताराको रङ्ग
न सुर्य कहिले उदायो फरक दिशाबाट
सायद देखेनन् होला
बुद्धले अर्कै जून
अल्लाह र जिससको देशमा
थिएन होला अर्कै आकाश
तिमी जति महान बने पनि
तिमीले हेर्ने सुर्य
मैले देख्ने घाम हुनेछ  एउटै
त्यसैले यात्री हुँ म
जीवन  संघर्षको।

२०७३ जेष्ठ २९,पोखरा