बीपीलाई सम्झीए जापानका कांग्रेसीले


जापान स्थित नेपाली काँग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति जापानले आफ्नो मातृपार्टी नेपाली काँग्रेसका संस्थापक नेता तथा प्रजातांत्रिक आन्दोलनका धरोहर स्व.वी.पी कोईरालाको १०३ औं जन्मजयन्ती  भव्य रूप मा मनाएको छ।हिजो टोकियोमा "वी.पी.विचार र वर्तमान नेपालको राजनीतिमा यसको अपरिहार्यता"विषयक एक विचार गोष्ठी कार्यक्रमको आयोजना गरि मनाईएको जनाएको छ।

कार्यक्रमको सभापतित्व जनसम्पर्क समिति जापानका नवनिर्वाचित सभापति डण्डपानी कँडेल (डी.पी.) ले गर्नुभएको थियो। कार्यक्रममा जापान स्थित क्रियाशील विभिन्न पार्टीका प्रवासी भातृसंगठनका अध्यक्ष तथा प्रतिनिधिहरू, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू, व्यवसायीहरू,  बुद्धिजीवीहरू, पत्रकार, मजदुर, विद्यार्थी लगाएत समर्थक र सुभेच्छुकहरू को उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै काँग्रेस महाधिवेशन प्रतिनिधि सुभाष लोहनीले वी.पी को सम्झनामा मात्र अल्झिने नभई उहाँको सपना पुरा गर्न सके मात्र वी.पी.विचारले सार्थकता पाउने बताउनुभयो। जनसम्पर्क समिति भित्रको सानातिना मतभेदहरू बाहिर आउँदा वी.पी.को मेलमिलापको सिद्धान्तको हामी आँफैले खिल्ली उडाईरहेको जस्तो देखिन गएकोमा गम्भीर चिन्ता प्रकट गर्दै सहमति र सहकार्यमा आउन असन्तुष्ट पक्षलाई आग्रह गर्नुभयो। कार्यक्रममा गैर-आवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष भवन भट्टले एक शुभकामना सन्देश पठाई आफु उपस्थित हुन नसकेता पनि  कार्यक्रम पुर्ण सफलताको कामना गर्नुभएको थियो। त्यस्तै कार्यक्रममा बोल्दै जनप्रगतिशील मोर्चा जापानका सल्लाहकार बेलुकाजी थापाले वी.पी.कोईराला नेपाली प्रजातांत्रिक आन्दोलनको शिखरपुरूष भएको प्रष्ट पार्दै नेपाली काँग्रेसको मात्र नेता नभई  सबै परिवर्तनकारी शक्तिहरूको साझा नेता भएको बताउनुभयो।

 कार्यक्रममा ओनो, जापानका अध्यक्ष रघुद्धिप खड्का, नयाँ शक्ति नेपाल पार्टी  सम्वद्ध अन्तर्राष्ट्रीय नेपाली समाज जापानका सह-संयोजक चण्डिका अम्गाई, जनसम्पर्क समिति जापानका पुर्व केन्द्रीय सदस्य विनोद खनाल, बुद्धिजीवी गणेश नेपाल,अनेसास जापानका कोषाध्यक्ष श्रवण सत्याल,बिहुँकोट समाज जापानका अध्यक्ष देवीलाल सुवेदी, कास्की पोखरा समाज जापानका अध्यक्ष शिव पौडेल लगाएत अतिथिहरूले महामानव वी.पी.कोईरालाको बहुआयामीक व्यक्तित्व माथी प्रकाश पार्नुभएको थियो। कार्यक्रममा गैर -आवासीय नेपाली संघ जापानका उपाध्यक्ष टासी लामा, गल्कोट समाज जापानका वरिष्ठ उपाध्यक्ष दिलु खत्री, एन आर एन अभियन्ताहरू सरोज खत्री, लिल गुरूङ, नेपाल तरूण दल मनाङका अध्यक्ष छेवाङ नोर्बू लामा, तरूण दलकै निकेश श्रेष्ठ,जनसम्पर्क समिति, कान्तोका निवर्तमान  क्षेत्रीय सभापति प्रेम कँडेल, कान्तो क्षेत्रीय सचिव विमान सिंह तामाङ, पत्रकार नारायण रिमाल लगाएतको उपस्थिति रहेको थियो।

 कार्यक्रमको समापन मन्तव्यका क्रममा सभापति डि.पि.कँडेलले वी.पी.विचार नै नेपाली राजनैतिक ईतिहासको उत्कृष्ट विचार भएको बताउँदै,जननायक कोईरालाको सपना पुरा गर्न तर्फ सबै लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । जनसम्पर्क समिति जापानमा देखिएको भनिएको विवादका सन्दर्भमा बोल्दै सभापति कँडेलले सहमति र सहकार्यको अर्को विकल्प नभएको दोहोर्याउनु भयो। सँगै सहमतिका लागि सबै विकल्प हरूमा छलफलका लागि आफु तयार रहेको प्रष्ट पार्नुभएको थियो। सभापति कँडेलले उपस्थितिका निमित्त आयोजकका तर्फबाट धन्यवाद ज्ञापन गर्दै आभार व्यक्त गर्नुभएको थियो। कार्यक्रममा कार्यसमिति सदस्य राम ब. कार्कीको स्वागत मन्तव्य र महामन्त्री रामजंग कार्कीको संचालन रहेको केंद्रीय सदस्य जीवन खड़काले वताएका छन् |