निर्देशक नारायण रायमाझीलाई अमेरिकामा भब्य सम्मान


बाल्टिमोर, अमेरिका
अक्टोबर, ९ 

बरिष्ठ लोक गायक संगीतकार तथा निर्देशक नारायण रायमाझीसंग बसेर मेरिल्याण्डका नेपालीहरुले बाल्टिमोरमा चलचित्र परदेशी हेरेका छन् | बिजया दशमी तथा दिपावलीको शुभ अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बाल्टिमोरबासीलाई यो अवसर मिलेको हो |

चर्चित लोक तथा दोहोरी गायिका सिर्जना बिरही थापाको बिशेष सक्रियतामा कार्यक्रम आयोजना भएको थियो |
 म्याग्दी समाज, आमा समूह र मगर समाजले बरिष्ठ कलाकार रायमाझीलाई पन्चे बाजाका साथ बाल्टिमोरमा रहेका सम्पूर्ण कलाकार र नेपाली समुदायको तर्फबाट सम्मान गरेको थियो |

म्याग्दी समाज अमेरिका, आमा समूह मेरिल्याण्ड र मगर संघ अमेरिका लगायतका संघ संस्था र बाल्टिमोरका बिभिन्न ब्यबसायी तथा सामाजिक व्यक्तिहरुले उक्त कार्यक्रम गर्न सहयोग पुर्याउनु भएकोमा सहयोगी हातहरुप्रति हार्दिक आभार ब्यक्त गर्दै कार्यक्रम भव्यताका साथ सम्पन्न भएको सिर्जना बिरही थापाले बताउनु भयो |

चलचित्र प्रदर्शन लगत्तै बरिष्ठ लोक गायक संगीतकार तथा निर्देशक नारायण रायमाझीले आफ्ना नयाँ तथा पुराना लोक गीतहरु गाएर दर्शकहरुलाई मनोरंजन प्रदान गर्नुभएको थियो | कार्यक्रममा चर्चित गायक गायिकाहरु सिर्जना बिरही थापा, श्याम गुरुङ र अमृत रामदामले दर्शकहरुलाई नचाएका थिए | साथै, कार्यक्रमको अन्त्यमा उदय भट्टराई, पारस श्रेष्ठ, जे.बी. पुन, दानबहादुर रोका र सिर्जना बिरही थापाले अत्यन्तै राम्रो दोहोरी गाएर मनोरंजन प्रदान गर्नु भएको थियो |

कार्यक्रमको संचालन संचारकर्मी सन्देश खड्काले गर्नु भएको थियो | प्रबिधिमा पारस रायमाझी र बुद्धि शेरचनले सहयोग गर्नु भएको थियो |

कार्यक्रम बाल्टिमोरको वर्ल्ड क्लास तेक्वान्दोको हालमा भएको थियो |

,