एउटा खसीको आत्मकथा -- हरिवंश आचार्य

तस्बिर: नेपाल साप्ताहिक 


- हरिवंश आचार्य
म खसीले मजस्तै कुखुराको विषयमा जोक भनेको सुनेको छु । कुखुराको चल्लाले माउ कुखुरासँग सोधेछ, ‘ ममी मान्छेको चाहिँ सबैको नाम हुन्छ, हाम्रोचाहिँ किन हुँदैन ?’

माउ कुखुरीले जवाफ दिइछन्, ‘मान्छेको चाहिँ जिम्दो हुँदाखेरि नाम राख्छन्– राम, श्याम, हरि, राज, मैयाँ, कान्छी, पिङ्की, करिश्मा, करिना । हामी कुखुराहरुको चाहिँ मरेपछि नाम राख्छन्– चिकेन चिल्ली, चिकेन फ्राई, चिकेन म:म, चिकेन कटलेट ।’

हामी खसीबोकाहरुको पनि मरेपछि नाम राखिन्छ– मटन सेकुवा, मटन बिरयानी, मटन कवाफ भनेर । अनि, जिम्दोमा पनि हाम्रो नाम छोटकरीमा हुन्छ । कालो खसी, रातो खसी, पाटे बाख्रो, कालो, सेतो बाख्रो आदि ।

मेरो ममीको नाम सेती बाख्री हो । ड्याडीचाहिँ थाहा छैन । मेरो ममीले एक बेतमा हामी दुई जना जुम्ल्याहालाई जन्म दिनुभयो रे ! मेरो दाइ कालो, म त रातो छु । सायद मेरो ड्याडी रातो र दाइको ड्याडी कालो भएकाले हामी दुई जनाको रंग फरक भएको होला ।

कुरा गरेको सुनेको, हामीभन्दा पहिले हाम्रो ममी सेती बाख्रीले थुप्रै बेत पाठापाठी पाउनुभयो रे ! मेरा दाइदिदीहरु धेरै भए रे ! अहिले मेरा दाइहरु हुनुहुन्न । सबै मटन सेकुवा, मटन बिरयानी, मटन करी भएर मान्छेको ट्वाइलेटबाट बगेर वाग्मती, विष्णुमती, धोबीखोलामा बगिसक्नुभयो होला । कोसी, गण्डकी, कर्णालीमा चाहिँ ट्वाइलेट बग्दैन रे ! मेरा दिदीहरु अझै हुनुहुन्छ । भान्जाभान्जी जन्माउँदै हुनुहुन्छ उहाँहरु ।

हामी सानो हुँदा हामीलाई पाठो भन्थे । हामी बुर्लुक्क बुर्लुक्क उफ्रेर खेल्दा, कम्मर मर्काइमर्काइ उफ्रीउफ्री नाच्दा सबै जना मोहित भएर हेर्थे । हामीलाई बोकेर फोटो खिच्थे । चलचित्र, म्युजिक भिडियोहरुमा हामीलाई राम्रीराम्री तरुनीहरुले छातीमा च्यापेर सुटिङ पनि गर्थे ।


म चार महिनाको हुँदा हामीलाई पाल्ने साहूको घरमा एउटा मान्छे आयो । साहू र त्यो मान्छेले हामी दुई पाठालाई देखाएर के–के कुरा गरे । मैले अलिअलि सुनेँ– ‘यो कालो रंगको छ, यसलाई बोका नै राख्ने, कालो बोकाको धेरै पैसा आउँछ ।’ मलाई देखाएर साहूले भन्यो– ‘यो रातो रंगवालालाई खसी बनाए पैसा धेरै पाइन्छ ।’

म चार महिनाको केटो, केही थाहा छैन । मलाई खसी बनाउने भनेर कुरा गरेको सुनेर खुब खुसी भएँ । के होला खसी बनाउने भनेको ? मेरो दाइ कालो बोकाले मन खिन्न बनाएर भन्यो– ‘तँलाई चाहिँँ खसी बनाउने रे, मलाई चाहिँँ यत्तिकै राख्ने रे !’

त्यो मान्छेले मलाई खोरबाट लिएर गयो र चोकमा पछार्‍यो । म आत्तिएँ, कराएँ । मेरो साहूले मेरो अगाडिका दुइटा खुट्टा समात्यो । साउनीले पछाडिका खुट्टा च्याप्प समाती । त्यो मान्छेले खल्तीबाट ब्लेड झिकेर मेरो अन्डकोशको बीचमा चिर्‍यो होला । म मरेसरी भएँ । भुतुक्क भएँ । म्याँ म्याँ गरेर चिच्याएँ । यति दुख्यो, यति दुख्यो, दायाँबायाँ केही देखिनँ ।

साहूको सानो छोरो ‘त्यो मलाई देऊ, म पोलेर खान्छु’ भनेर रोएको सुनेँ । मलाई हनहनी ज्वरो आयो । बाँच्दिनँ कि भन्ठानेको थिएँ, बल्लतल्ल बाँचेँ । खोरबाट हेरिरहेको मेरो कालो बोको दाइले पछि भन्यो– ‘तेरो अन्डकोष चिरेर दुइटै अन्डा झिकेर तेल–बेसार दलिदियो । अनि, तिनलाई तेरो साहूको छोराले पोलेर कचौरामा हालेर तँलाई नै हेरीहेरी खायो ।’

जिन्दगी बेकार भयो मेरो । खालि वनमा चर्न जाने । घाँस खाने । खोरमा आउने । खोले खाने । सुत्ने, बस् । वनमा चर्न जाँदा दाइ कालो बोकोलाई देखेर तरुनीतरुनी बाख्रीहरु खुब मस्किन्छन् । दिनका दिन एउटा न एउटा बाख्रीसँग लभ पर्छ उसको । ऊ त बाख्रीहरुको हुलमा हिरो नै भएको छ ।

आफू खसी भएकाले राम्रीराम्री बाख्रीहरुसँग बोल्न मन लाग्छ । छिल्लिन मन लाग्छ तर बाख्रीहरुले वास्ता नै गर्दैनन् । हेर्दासम्म पनि हेर्दैनन् । बोकाको त गन्ध पनि आउँदो रहेछ । त्यही गन्ध सुँघ्दै बाख्रीहरु पछि लाग्छन् । खसी भएपछि म बढ्नचाहिँ हलक्क बढेँ । बाउ बन्ने, लभ गर्ने अधिकारचाहिँ साहूले खोसिदियो मेरो ।

म त भर्खर जन्मेको थिएँ, राम्ररी सम्झन्न । ठूलो भूकम्प आएर हाम्रो साहू बस्ने घर भत्कियो रे ! अनि, साहूहरु हामी बस्ने गोठमा बस्न आए । हामी अनि गाई–भैँसीहरुलाई चाहिँँ अर्को छाप्रो बनाएर राखिदिए । यसपालि पानी पनि धेरै पर्‍यो भन्छन् । हाम्रो खोरमा पानी चुहिएर राम्रोसँग सुत्नै पाएका थिएनौँ राति पनि ।

बल्लबल्ल बर्खा सकियो । अब त मौसम पनि राम्रो राम्रो सित्तल हुँदै थियो । डाँडाबाट हिमाल पनि कस्तो राम्रो देखिन थाल्या थियो । मान्छेहरु दसैँ लाग्यो भन्दै थिए । गाउँका मान्छेहरु नयाँ लुगा सिलाउने कुरा गर्दै थिए । हाम्रो त पानी तताएर भगवान्ले लगाइदिएको लुगा–जुत्ता सब फुकाल्ने कुरो भइरहेको सुनेँ । गाउँबाट हुलका हुल खसी, बोका, बीचमा बूढीबूढी बाख्रीहरु लिएर गइरहेका छन् व्यापारीहरुले ।

खोरमा बस्दा सधैँ चराउन वनमा लग्थे । आज लगेनन् । कालो बोके दाइसँग भनेँ– ‘दाइ हुलका हुल हामीजस्तै चौपाया गाउँबाट लगिँदै छ । हामीलाई पनि लग्ने हुन् कि ?’ मलाई ‘टेन्सन’ भयो ।

साहूको आँगनमा चार–पाँच जना मान्छे आए । हामीलाई खोरबाट झिकेर उचाल्न थाले । मलाई उचालेर एउटाले भन्यो, ‘१५ हजार दिन्छु ।’ साहूले भन्यो, ‘१८ देऊ ।’ उसले भन्यो, ‘ल १६ हजार दिन्छु ।’ मेरो दाइ कालो बोकेलाई उचालेर ‘ल ल यसलाई पनि १६’ भन्यो । हाम्री आमा सेती बाख्री गर्भवती भएकी थिइन् । भाइ अथवा बहिनी के पाउँछिन्, थाहा छैन । आमा टुलुटुलु हेर्दै थिइन् । हामीलाई डोरीले घाँटीमा बाँधेर घिच्याउँदै लिएर गए ।

केही बेर चिच्याएँ म । हिँडेन भने लठ्ठीले हान्छन् भनेर लुरुक्क परेर हिँड्न थाल्यौँ हामी । एकछिन हिँडेपछि बसको छतमा तानेर राखे । त्यहाँ हामीजस्तै अरु खसीबोकालाई पनि छतमा हाले । कहिल्यै नचिनेकाले खासै कुरा भएको थिएन हाम्रो । एकछिनपछि बोल्न मात्रै के खोजेका थियौँ, बस गुडिहाल्यो । कहिले यताबाट उता हल्लाउँछ । कहिले उताबाट यता हल्लाउँछ । हल्लाउँदै हल्लाउँदै सहरको कोलाहल, धूवाँ, धूलोमा आइपुग्यौँ । छतमा मलाई साह्रै गाह्रो भयो ।

बसबाट फेरि खुट्टा समातेर तल खसाले । बसबाट ओराल्नासाथै मेरो कालो बोके दाइलाई एउटाले समातेर मोटरसाइकलको बीचमा राख्यो र अर्को मान्छे पछाडि बस्यो । उसलाई समातेर लिएर गए । दाइ मलाई हेरेर ‘बाई बाई...’ गर्दै गयो । दाइलाई कहाँ लगेका हुन्, मसँग किन छुट्याइदिएका हुन् ! म रोएँ । सायद दाइ पनि म्याँयाँ गरेर धेरै रोयो । केही बेरमा ऊ देखिएन ।

झिसमिसे उज्यालो हुँदै थियो । हामीलाई राखेको पसलको सटर मुटु नै थर्कने गरी खोलियो घ्यार्र... । टिनको ठूलो ड्रममा पानी उम्लिरहेको थियो । हामी एउटै डोरीमा ३० वटा खसी बाँधिएका थियौँ । किन यसरी बाँधेका होलान् हामीलाई ? भन्न त मान्छेहरुलाई जनावरमध्येको विवेकी, बुद्धिमान्, ज्ञानी भन्छन् ।

हामी धेरै ठाउँबाट आएका रहेछौँ । मैथिली, भोजपुरी, अवधी, उर्दू, हिन्दी, खसानी धेरै भाषा बोल्नेहरु पनि रहेछन् । उनीहरुका कान लामालामा थिए । तिनलाई लामकाने भन्थे मान्छेहरु । हामी पहाडिया सामन्ती खसी पाँचवटा थियौँ । हाम्रोचाहिँ कान छोटोछोटो, भुँडी भ्यात्त परेको थियो । पसलअगाडि एउटा मान्छेले चुप्पीमा साँध लगाइरहेको थियो । मैले ठानेँ, सायद हामीलाई भोक लागेको थाहा पायो होला, स्याउला खुवाउन हाँगा काट्न उध्याएको होला, त्यो चुप्पी !

एउटा मान्छे सबैभन्दा अगाडि भएको एउटा लामकाने खसीलाई घाँटीमा पासोजस्तो लगाएर तान्छ । अनि, अर्कोले उध्याएको चुप्पीले गर्दनमा घ्याच्च हान्छ । त्यसपछि एउटै डोरीमा बाँधिएका हामी मधेसी, पहाडी, हिमाली सबै भाषा बोल्ने खसी एकसाथ आत्तिन्छौँ ।

साथी एकबाट दुई भएर रगत वाक्दै छटपटाइरहेको देखेपछि हामी सुलुलुसुलुलु पिसाब छोड्न थाल्यौँ । आत्तिन्छौँ, कराउँछौँ, भाग्न खोज्छौँ । उम्लिरहेको तातो पानीमा हालेर रौँका लुगा फुकाल्न थाल्छन् । खुट्टामा लगाएको खुरजुत्ता पनि फुकाल्छन् । एउटा मान्छेले तराजुमा जोखेर आधी खसी लिएर जान्छ । आधीचाहिँँ टुक्राटुक्रा पारेर धेरै जनालाई बेचिन्छ । म छक्क पर्छु ।

पसले दुई नम्बर खसीलाई फुकालेर लग्छ । तीन नम्बर, चार नम्बर, पाँच नम्बर सबैको त्यही हाल हुन्छ । भाग्न पाए हुन्थ्यो भन्ने कुरा मात्रै खेल्छ मेरो मनमा ।

हामी नचाहेरै मर्नका लागि जन्मेका रहेछौँ । वनमा चर्न जाँदा पनि ज्यान जोगाउन गाह्रो– चितुवा, बाघसँग सधैँ जोगिएर हिँड्नुपर्ने । ज्यानको माया सबै प्राणीलाई हुँदो रहेछ । त्यही भएर त होला सबै तर्सने, भाग्ने, चिच्याउने आदि गरेको । ज्यानको माया नभएको भए कोही किन भाग्थ्यो होला ? खसीको जुनी लिएपछि हामी अभागीहरु मर्न तयार हुनैपर्दा रहेछ ।

म १२ नम्बरमा परेको छु । मेरो पालो आजै आउने हो कि भोलि थाहा छैन । मासु किन्ने मान्छेको हुल देख्दा त हामी सबैको पालो आजै आउलाजस्तो छ । एक दिन भए पनि बाँच्ने आशा जाग्छ मलाई । कामना गर्छु, भोलिसम्म बाँच्न पाए पनि हुने थियो । फेरि सोच्छु, बिजोग हेरेर बस्नुभन्दा बरु चाँडै मर्ने पालो आए पनि हुन्थ्यो ।

मैले अघि नै भनिसकेँ मान्छे त विद्वान्, ज्ञानी, चेतनशील जनावर हो रे ! तर, किन अरुलाई देखाइदेखाइ उनीहरुको सामुन्ने काट्ने होला ? थाहा नपाउने गरी मारेर खाए पनि त हुन्थ्यो । १२ नम्बरको म एघारचोटि त पहिल्यै मरिसकेँ ।

दसैँका बेला म सहिदजस्तो छु । मरेपछि परिकारबाट पुकारिन्छु म । जस्तो : पक्कु, भुटुवा, सेकुवा, भित्र्याँस । खसी भएर धेरै कुरामा ठगिएँ म । तर, मर्ने बेलामा बोके दाइभन्दा अलि सास्ती कम हुँदो रहेछ । हामी खसीलाई त च्वाट्टै हान्दा रहेछन् । बोके दाइलाई त मन्दिरमा लगेर तर्साइतर्साइ, संकल्पसंकल्पी, पर्छीपर्छी, कुदाइकुदाइ, रेटीरेटी बलि दिन्छन् रे ! बिचरा मेरो कालो बोके दाइले धेरै दु:ख पायो होला । के देवता हामीलाई रेटेर बलि दिएपछि साँच्चै खुसी हुने होलान् त ? मान्छे हो ! देउताको धेरै बेइज्जत नगर न ! पशुपन्छीको पनि चेतना छ भनेर जान ।

मलाई अगाडि लगिन्छ । मेरा कामिरहेका गोडा पनि बेस्कन समातिन्छ । मेरो घाँटीमा पोल्याजस्तो लाग्यो... म्याँऽऽऽ !

साभार: नेपाल साप्ताहिक

, ,