प्रधानमन्त्री प्रचण्ड गोवा प्रस्थान, आजै चिनियाँ राष्ट्रपतिसँग भेट

काठमाडौँ, २९ असोज-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको गोवा प्रस्थान गरेका छन्। शनिबार बिहान नेपाल वायु सेवा निगमको जहाजबाट प्रधानमन्त्री गोवा उडेका हुन्।

यस अघि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री दाहालले भारतको गोवामा आयोजना हुने ‘ब्रिक्स बिमस्टेक विस्तारित सम्मेलन’ मा सहभागी हुन जान लागेका बारेमा जानकारी गराएका थिए ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री दाहालसँगै परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र कामु मुख्य सचिव टङ्कमणि शर्मा पनि  सहभागी भएको  राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिए ।
भारतको गोवामा शनिबार साँझ चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यतालिका सार्वजनिक भएको छ ।

परराष्ट्रमन्त्री प्रकाशशरण महतले  शुक्रबार  पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको भ्रमण तालिकाबारे जानकारी गराएका हुन् ।

सम्मेलनमा भाग लिएर दाहाल कार्तिक १ गते स्वदेश र्फकनेछन् । दाहालसँग उनकी धर्मपत्नी सीता दाहाल, परराष्ट्रमन्त्री प्रकाशशरण महत, परराष्ट्रसचिव शंकरदास बैरागी, प्रधानमन्त्रीका सचिव टंकमणि शर्मा लगायत छन् ।