दसैंमा के खाँदैछन् माननीयहरु?


● मनोज सत्याल
काठमाडौं : दसैंका बेला राजनीतिक दलका गतिविधि शून्यप्राय: हुन्छन्। पारिवारिक जमघट र रमाइलोमा कार्यकर्तादेखि नेताहरुसम्म यति बेला व्यस्त छन्।

ठूलाबडा र आफन्तसँग आशीर्वाद लिने पर्व हो दसैं। नौ दिनसम्म नवदुर्गाको उपासना गरिन्छ। आज अष्टमीको दिन भने मार हान्ने प्रचलन धेरै स्थानमा छ। नेपालीहरुले दसैंमा परिवारसँगै बसेर रमाइलो गर्ने गर्छन्। घर जान नपाएकाहरु पनि साथीभाइसँग भेला भई दसैंलाई भरसक बिन्दास बनाउने मूडमा रहन्छन्।

के गर्दैछन् त दसैंमा सांसदहरु?

कुन्तीकुमारी शाही : म मिठो पकाउँछु

राप्रपा नेपालकी सांसद कुन्तिकुमारी शाही मासु मन पराउँछिन्। उनी पारिवारिक जमघटमा आफैंले पकाएर खुवाउन पाउनुलाई खुसीको अवसरको रुपमा लिन्छन्।

'मासुको परिकार मिठो त लाग्छ,' तर उनी सचेत छिन्, 'स्वास्थ्यका कारण धेरै खान मिल्दैन। अलिक कम खानुपर्छ।'

उनी राँगा वा भैंसीको मासु भने खान्नन्। 'कुखुरा, बँदेल र खसीको मासु मन पर्छ,' आफ्नो च्वाइसबारे उनको भनाइ।

आफूलाई चिकेन रोष्ट बनाउन आउने बताएकी शाहीले मासु साँध्न र सुप बनाउने कौशल राम्रै रहेको सुनाइन्। पहिलोपोस्टसँग उनले हाँस्दै भनिन्, 'खानाको परिकार मिठो बनाउँछु।'

'मैले बनाउन जानेको कला त्यो बेला युज गर्छु। बनाएर परिवारसँग खान पनि रमाइलो हुन्छ। नितान्त परिवारसँग रमाइलो हुन्छ,' उनले भनिन्। साथै उनले आफूले सकेसम्म कम तेल भएको परिकार खाने समेत बताइन्।

तुलसा रानामगर : बंगुरको मासु मन पर्छ

नेकपा माओवादी केन्द्रकी सांसद तुलसा रानामगरलाई बंगुरको मासु मन पर्छ। उनी धार्मिक रीतिथिती अनुसार दसैं त मनाउन्नन् तर आशीर्वाद लिने र रमाइलो गर्ने पर्वको रुपमा दसैंलाई लिन्छिन्। उनले आफू मांसाहारी भएको समेत बताइन्।

'मासुका सबै परिकार मन पर्छन्,' उनले भनिन्, 'चिकेन खान्छौं। खसी खासै खाइन्न। बंगुर असाध्य मन पर्छ। हाम्रोतिर सबैभन्दा धेरै दसैंमा बंगुर नै  काट्ने चलन छ।'

उनलाई पकाउन पनि जाँगर चल्छ। 'जिल्लामा कार्यक्रमहरुमा लागिन्छ। यस्तो बेला अलिक टाइम हुन्न,' भन्छिन्, 'तर दसैंमा सबैतिर बिदा हुने भएकाले घरपरिवारसँग रहँदा म आफैं पकाउँछु।'

रश्मी ठाकुर : पुरी, खीर, तरकारी, अचार
नेपाली कांग्रेसकी सांसद रश्मि ठाकुरको भने रोजाइ फरक छ।

'मासु कत्तिको खानुहुन्छ?' भनेर सुरुमै प्रश्न गर्दा उनी भने टकटकिइन्, 'नाँइ, नाँइ, नाँइ, म खान्नँ।'

उनी त साहाकारी रहिछन्। 'दसैंको बेला हाम्रो तराईतिरको पुरी, खीर, तरकारी, अचार बनाएर खान्छौं। म आफैं पकाउछु। परिवारसँगै दसैं मनाउँछु,' उनले प्रस्ट पारिन्।

यसपटक भने उनी धनुषा जान पाइनन्। 'श्रीमानको छुट्टी नभएकाले यस वर्षको रमाइलो धुनषामा मनाउन पाइएन। यतै काठमाडौंमा रहन्छिन् उनी। 'जान-आउन गाह्रो हुने भएकाले पनि हो। तिहारमा तराई जान्छु,' उनले सुनाइन्।

शारदाकुमारी विश्वकर्मा : गाउँघरको स्टाइलमा पकाउँछु

नेकपा एमालेकी सांसद शारदाकुमारी विश्वकर्मा पनि दसैंमा मासु पकाएर खान मन पराउँछिन्। उनी भन्छिन्, 'मासु त मलाई मन पर्छ, पकाउन पनि आउँछ।'

तर उनलाई गाउँघरमा पाक्ने स्वाद नै मिठो लाग्छ। पकाउँदा पनि गाउँमै पकाउने शैली अपनाउँछिन्। 'हाम्रो गाउँमा पकाउने जुन स्टाइल छ त्यसमा मात्र पकाउन आउँछ,' उनले भनिन्। उनी कुखुरा र खसी विशेष मन पराउँछिन्।
-पहिलोपोस्टबाट

, ,