महाभारत कालीन युद्धका ३ कारण र यसका नियम


प्रकाश ढकाल,
महाभारत शब्द नै युद्धको पयार्यवाची शब्द बनेको छ। लँडाई  साधन हो । साध्य सत्य र सत्ता हो । धर्म एवं सत्यको  पक्षमा लागेर गरिने लडार्इँ आदर्श लडाईँ हो । आदर्श लडार्इँको कीर्ति युगौ युग रहिरहन्छ । सत्ता प्राप्तिका खातिर  गरिने लडाईँको खासै दीर्घकालीन चर्चा हुँदैन । महाभारत  सत्य सहितको सत्ता प्राप्तिको लागि गरिएको युद्ध हो । तसर्थ यो युद्ध अझ विशेष छ । उत्तम साध्यको प्रयोजनको निम्ति जस्तो साधनको प्रयोग गरेपनि त्यसको औचित्य सिद्ध हुन्छ । संसारमा प्रायः तीन कुरालाई लिएर लडाईं हुन्छ । ती तीन हुन्– भूमि, धन र स्त्री । यी तीनमध्ये पनि राजा महाराजाहरूको भूमि सम्बन्धमा नै युद्ध हुने गर्दछ । राजनीतिमा युद्ध स्वभाविक हुन्छ । विना युद्धको राजनीति असम्भव हुन्छ । एक आपसमा वैमनस्यता उत्पन्न भई त्यसलाई कुनै तरिकाबाट निचोडमा ल्याउने प्रक्रिया नै युद्ध हो । युद्धको अर्को नाम द्वन्द्व हो । युद्ध विभिन्न किसिमका हुन्छन् । धर्म युद्ध, अधर्म युद्ध, राज युद्ध आदि । युद्धको स्वरूप मूलतः वाक् , मन्त्र  र भौतिक हुन्छ । यहाँ युद्धको स्वरूपको  बारेमा विवेचना गरिएको छ ।
 
वाक् युद्ध 
राजकीय संरचनामा  एक राजा वा शासकले अर्को शासकसँग तर्क वितर्क सहित छलफल गरि निचोडमा पुग्दछन् । छलफल, झगडा, कलह वाक् युद्धका स्वरूप  हुन् । प्रायः वाक् युद्ध  राजाले गर्दैनन् । कुनै राज्यका अमात्य वा राजकर्मचारीले अर्को राज्यका आफू सरहका व्यक्तिसँग गरिने वार्ता, बैठक नै वाक् युद्ध हो । विभिन्न समुदायमा यसको प्रयोग  हुन्छ । विद्वान् ,ऋषि,महर्षिहरूका  बीच हुने शास्त्रार्थ पनि एक प्रकारको वाक् युद्ध नै हो ।
 
मन्त्र युद्ध 
विद्या,बुद्धिको प्रयोग गरेर अर्को पक्षसँग जुध्नु  मन्त्र युद्ध हो । यो एकदम युद्धको विशिष्ट एवं मर्यादित स्वरूप हो । आफ्नो  ज्ञान,विवेक मार्फत्  अरुलाई  परास्त पार्न सक्नु  राम्रो हो । त्यसैले राजाले योग्य एवं दक्ष मन्त्रीहरू  राख्दथे । गुप्तचरको माध्यमबाट कुटनीतिक रूपमा गरिने युद्ध मन्त्र युद्ध हो । राजदूत एवं गुप्तचरहरू विशेषतः मन्त्र युद्धका नायक हुन्छन् । महाभारत एवं रामायणका विविध प्रसगंहरूमा मन्त्र युद्धको चर्चा हुन्छ । ब्रह्मास्त्र, ईन्द्रास्त्र, पाशुपतास्त्र, अमोघास्त्र जस्ता दिव्य अस्त्रहरूको प्रयोग पनि मन्त्रबाट हुन्छ । तसर्थ महाभारतमा राजनीतिक रूपमा गुप्तचर, राजदूतले गर्ने गोप्य मन्त्रणा नै मन्त्रयुद्ध हो । 
 
भौतिक युद्ध 
जल, तेज, वायु, आकाश, भूमि लगायतका भौतिक वस्तुहरूको प्रयोगबाट  बिपक्षीलाई गरिने आक्रमण नै भौतिक युद्ध हो । भौतिक युद्धमा भौतिक संरचनालाई नै माध्ययम बनाएर युद्ध गरिन्छ। विभिन्न हात हतियार, सैन्य सामग्रीहरू भौतिक युद्धका सामान हुन् । सेना– सेना बीच आकाशमा, जमिनमा, जलमा युद्ध हुन्छ । सो युद्ध नै भौतिक युद्ध हो ।
 
युद्धका नियम
उल्लेखित तिनै प्रकारका युद्धमा बिभिन्न नियमहरू बनेका हुन्छन् । विना नियम, विना विधिसम्मत गरिएका काम एवं युद्धहरू कहिल्यै सफल एवं न्यायोचित हुदैनन् । कुनै पनि कामलाई न्यायोचित एवं सफल बनाउन नियम आवश्यक हुन्छन् ।  युद्ध हुनु आफैमा नराम्रो कुरा हो । अझ विना नियमको युद्ध भयावह हुन्छ । जसको कारणले सोझासाझा जनताले दुख पाउछन् । युद्ध विपाशु सैनिकहरूको ज्यादति बढ्छ । हतियारले को दुस्मन ? को सञ्जन ? को मित्र ?छुट्याउँदैन । हतियार चलाउने सैनिकलाई सञ्चालन गर्ने सेनापति, सेनापतिलाई निर्देश गर्ने राजा सबै नियममा बाँधिनुपर्छ ।  अनि बल्ल युद्धको वास्तविक अभिष्ट प्राप्त हुन्छ । महाभारतको युद्ध एक विश्वचर्चित युद्ध हो । महाभारको युद्धमा विविध नियमहरू बनाइएको छ । 
 
चलिरहेको युद्ध बन्द भएपछि सन्ध्यामा  सबैमा आपसी प्रेमभाव र पूर्ववत् रहनुपर्छ । यस समयमा कसैको कसैसँग पनि शत्रुता हुनुहुँदैन । वाक्युद्ध भएको खण्डमा त्यसको समाधान वाक्युद्धबाटै हुनुपर्छ र युद्धबाट भागेको मान्छेलाई छोड्नुपर्दछ । बाझाबाझ, कल झगडा भएको खण्डमा त्यसको समाधान  छलफलबाटै हुनुपर्छ । रथीले रथीसँगै, हात्तीरथीले हात्तीरथीसँगै, घोडचढीले घोडचढीसँगै  समान योद्धासँग लड्नुपर्दछ । जस्तो योग्यता, इच्छा, उत्साह र बल हुन्छ, तदनुसार विपक्षीलाई बताएर मात्रै  शत्रुलाई  प्रहार गरिनुपर्छ, झुक्याएर कसैलाई प्रहार गर्नुहँुदैन । जो विश्वस्त बनेको, हडबडाएर युद्धाभिमुख हुन चाहनेलाई प्रहार गर्नुहुँदैन । एउटा कसैसँग युद्धमा गरिरहेको, आत्मसमर्पण गरेको व्यक्ति, शस्त्र–अस्त्र–कवच काटिएको त्यस्ता मानिसलाई कदापि मार्नुहुँदैन । 
घोडाको सेवार्थ खटिएका सूतहरू, भारी बोक्ने भरियाहरू,हातहतियार ओसार पसार गर्नेहरू, भेरी शंख बजाउनेहरूमाथि कहिल्यै प्रहार गर्नु हुँदैन । युद्धमा वीरको प्रहारले निर्धो,निर्दोष मारिनुहुँदैन । महाभारतको युद्धमा बताएका विविध नियमहरू आज पनि विश्व मानव सभ्यतामा  शिरोधार्य छन् । 

महाभारतको युद्धको नियम लेखिए तापनि महाभारतका कैयन् प्रसङ्गमा युद्धका नियम मिचिएका दृष्टान्त छन् । धेरै महारथीहरू मिलेर एक्लो रथी अभिमन्युलाई  मारेको कुरा, महारथी द्रोणाचार्यलाई रथी धृष्टद्युम्नले निशस्त्र हुँदा मारेको कुरा, विश्वस्त बनेका कर्णलाई निशस्त्र हुदाँ मारेका कुरा यस्ता धेरै तथ्यहरूले गर्दा महाभारत युद्धमा पूर्ण नियमको पालना भयो भन्न असहज छ । तर पनि विविध युद्ध वृतान्तहरूको अध्ययनले महाभारतलाई सत्याभिष्ट युद्धको रूपमा चित्रण गरेका छन् । महाभारतको युद्धका नियमहरू अझसम्म कुनै पनि राष्ट्रका युद्ध नियमसँग बेमेल हुँदैनन् । यो नै महाभारतको गौरव हो  । 
 
विश्वमा सम्पूर्ण राष्ट्रहरूको संगठन संयुक्त राष्ट्रसंघमा १९२ राष्ट्रहरू सदस्य छन् । संयुक्त राष्ट्रसंघको कार्यकारिणी अंग सुरक्षा परिषद् हो । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को निर्णय संयुक्त राष्ट्रसंघको आधिकारिक धारणा हो । संयुक्त राष्ट्रसंघले युद्धका क्रममा मरेका निर्दोष नागरिकको विषयमा गम्भीर भएर युद्धका विभिन्न नियमहरू बनाएको छ । यसको पालना गर्ने सम्पूर्ण सदस्य राष्ट्रहरूको कर्तव्य हो । दुई राज्यबीच भएको द्वन्द्वमा नाबालक, निर्दोष मानिसहरू नपरुन् भनेर नियम बनाईएको हो।
स्रोत: हाम्राकुरा डटकम

,