म कसरी शाकाहारी भएँ? -कृष्ण सादगी



कृष्ण सादगी 

म को हुँ, के हुँ, किन हुँ, कसरी हुँ र केका लागी हुँ?! यो तथ्य मलाई अझै थाहा हुन सकेको छैन। तर म शाकाहारी हुँ-त्यो म यकिनका साथ भन्न सक्छु। तन-मन, बोली-बचन, कर्म र खानपीनमा पनि पुर्ण शाकाहारी हुँ म। खान त परै जावस् जानेर-बुझेर मैले अहिलेसम्म कुनै पनि अण्डा फुटाएको छैन। त्यसैगरी बाल्यकाल मै पनि पैनी-कुलो-खोलेसा वा दह-ताल-तलाउ वा पोखरीमा एउटा पनि माछा मारेको छुईन।

जिवको हत्या त धेरै परको कुरा भयो। मैले कहिल्यै यी हातले मासु काट्न पनि सकिन । सर्पले टोकेर बर्षेनी सैयौ मानिस मरिरहेको स्थानमा हुर्किएको हुँ म । सम्झन्छु-विसालु सर्प आफ्नै अघि देख्दा डरले होस हवास गुमाएर कहिले काँही जीवन रक्षाका लागि एकाध विसालु सर्पहरु मैले मार्न पुगेको थिएं। तर मारीसकेपछी आफै ग्लानी हुन्थ्यो। मारेर ठीक गरें भन्ने महसुस कहिल्यै गर्न सकिनँ। आज पनि मैले आफ्नो रक्षाको लागि नै भए पनि जीवको हत्या गर्न पुंगेकोमा उल्टो मन भारी भईरहेको छ। आली लाउँदा, खेत-खलियानमा जोत्दा-खन्दा यसै नजानीकनै कति गड्यौला मारिए पनि होलान् तर जानेर नियतबश कहिल्यै कहि पनि हिंसाजन्य कृत्य मबाट भएको मलाई सम्झना छैन।

त्यसो त कुनै धार्मिक परम्परा मान्ने व्यक्ती भएका कारण म शाकाहारी भएको हैन। मेरो मन, मुटु, मष्तिष्क धेरै कोमल र कमजोर भएकोले हो म मांसहारी हुन नसकेको। मलाई काँही कतै पनि मानव होस् वा जनावार, चराचर जगतको कुनै जिवीत प्राणी किन नहोस् तिनलाई गोली हानेको, मारेको, काटेको वा हिंसा वा हत्या गरेको घटना र दृष्यले महिनौ सम्म पीरोलीरहन्छ। बाल्यकालमा मैले सबैभन्दा बढी पढेको कविता हो-चरिको विलाप।

म यति कोमल/कमजोर मनको भएकोमा बेला बेला आफैदेखी अवाक् हुन पुग्छु। म किन त्यस्तो भएँ हुँला- मसँग स्पष्ट तर्क वा जवाफ छैन। आज म यसै विषयमा म केही लेख्न खोज्दैछु। म किन शाकाहारी नै रहें। किन मैले मासु खान सकिन। म यस्तो कोमल अर्थात् कमजोर मनको किन र कसरी भएँ हुँला?

सोच्दछु- हाल अस्तित्वमा रहेका कुनै धर्महरु मध्ये कुनै एक धर्म वा समुहको अनुयायी पनि म हैन। धर्म मान्ने भएका कारण म यस्तो भएको पटक्कै होईन। व्यबहारिक जिवनमा म त झण्डै झण्डै नास्तिक नै छु झै लाग्छ। यध्यपी विरोधाभाषपुर्ण जीवन चक्र चलिरहेकै छ। म भित्र Spiritualism अर्थात् आध्यात्मबाद प्रतिको मोह भने अझै जिवीतै छ। जसलाई मैले मेरो शान्ति, न्याय र अहिंम्साप्रतिको लगाव वा झुकाँवको कारणका रुपमा बुझ्ने प्रयत्न गर्दैछु।

अंग्रेजीमा भनिएको 'गड' अर्थात् भगवानको अस्तित्वलाई आज पनि मैले स्विकार्न सकेको छुईँन। यसर्थमा भन्नुपर्दा चलन चल्तीमा वा अस्तित्वमा रहेका कुनै पनि 'धर्म' वा धर्मका नाममा स्थापना भएका मठ मन्दिरहरुमा स्थापना गरिएका मुर्ती वा तस्विरका भगवानहरु प्रति मेरो रत्तीभर झुकाव छैन। म कुनै धार्मिक कथाहरुमा बर्णन गरिने चमत्कारिक व्यक्तीत्वका कुनै पनि भगवानको अस्तित्वलाई स्विकार्न सक्दिन। त्यसैले मुर्ती वा तस्विर पुजाप्रति मेरो कुनै मोह वा आकर्षण र आश्था केही पनि छैन।

मैले 'धर्म'लाई असल कर्मका रुपमा बुझेको छु। कसैको पनि बेहीत नचिताउनु, कसैको कुभलो हुने कुनै कर्म नगर्नु, सबैको उन्नती र प्रगति होस् भन्ने कामना गर्नु, र तिनको प्रगतिमा/खुसीमा रमाउनु वा खुसी हुनु र हरेक मानिसलाई एउटा भगवान सरह व्यबहार गर्न खोज्नु मेरालागि धर्म हो। त्यसैले म हरेक मानिसलाई प्रभु भनेर बोलाउने, सम्बोधन गर्ने गर्छु। साथै अहिंसापुर्ण गतिविधी प्रतिको अटल आश्था र सोही अनुरुपको जिवन शैली अनी शान्तिपुर्ण कृयाकलाप मेरा लागि धार्मिक हुनुको पहिचान हो।

मलाई त्यस्तो केही गर्न नसक्ने कमजोर मुटुको किन बनाएको होला? के ले गर्दा म यस्तो बने हुँला ?! म आफ्नै आमा बाबाको जिवन शैलीबाट प्रभावित भएर पो यस्तो भएको हुँ कि ? बालपनमा माताजी पिताजीका डरले नै हो- आफ्नै साथीभाईले माछामासु खँदा पनि मैले खान नसकेको। तर पछी जब ठुलो भएँ- निर्णय त मेरै थियो। खाने नखाने रोजाईको अन्तिम निर्णयकर्ता म आफै नै हुँ नी। तर पनि मैले किन मासु खान सकिन? म स्वयंसँग त्यसको जवाफ छैन। म आज त्यो जवाफ आफैभित्र खोज्न चाहान्छु। मेरो यो कारण पत्ता लगाउन चाहान्छु। यो लेख पनि त्यही प्रयासको परिणती मात्रै हो।

मलाई लाग्दछ कि यो धर्ती अर्थात् यो पृथ्वी समस्त प्राणी र चराचर जगतको साझा घर हो। तथाकथित धर्म, राजनीति वा सम्पतीको आडमा मानिसले मानिसलाई नै मार्दै हिडेका पशुजन्य राक्षसहरुको बोलाबाला चलेको यो युगको सन्धर्भमा मेरो यो विलौनापुर्ण तर्कको कुनै अर्थ नरहन सक्छ। तर पनि हिंसा भनेको हिंसा नै हो, त्यो सर्वथा गलत नै हो। त्यो अपराध नै हो। अन्याय हो । मुर्खतापुर्ण दम्भ र कायरताको परिचायक हो। प्राणी र कुनै जिवप्रतिको अपराध हो। जघन्य अपराध अनी बर्बर युगको ध्योतक हो।

म हिंसा सोच्न त परै जावस् कहिल्यै कसैप्रति पनि हिंसाजन्य कढा टिप्पणी गर्नु नपरोस् भन्छु। आफ्नो पेरीफेरीमा मानीसहरु देख्छु- साथी संगी होस् वा अरु नै कोही कसैको पनि प्रगती, उन्नती र खुशीमा आफु खुशी हुनै सक्दैनन्। उनीहरु भित्र भित्रै डाह, ईर्ष्या र लोभले जलेको देख्दा मलाई किन किन अनौठो पीडानुभुती हुने गर्छ। मानीस भएर मानिसको खुशीमा रमाउन नसक्नु कस्तो पीडादायी कुरा? एक मानव भएर अर्को मानवको हत्या वा हिंसा प्रति लालायीत हुनु कस्तो बिडम्बना? कति विसंगतिपुर्ण मानसिकता? कस्तो विकृत र बर्बर जंगलीपन?!

मैले- यो संसार ईश्वरको अनुकम्पा हो, श्रृष्टी हो र उनैले रक्षा गरेका छन् भन्ने कथनलाई आजका मितीसम्म स्विकार्न सकेको छैन । म 'ईश्वर'भन्ने चीजको असिमित शक्तीको महिमा र बर्णनप्रति पुर्णत असहमत छु । यदि उनको असिमित क्षमता र अस्तित्व हुँदो हो र उनी साच्चै नै भलो गर्ने र कसैको पनि बेहित नगर्ने गुणको नाम ईश्वर हो भने प्राणी र मानवको कल्याण र संरक्षण गर्ने उनको दायित्व हुनु पर्ने हो नी हैन र ? यदी हो भने त्यसो गर्न पटक पटक किन चुक्छन उनी? निर्दोष प्राणी अथवा मानव उपर अझै बढी पीडा, दुख हिंसा किन बर्षाउछन उनी? सोझा, निमुखा, बोल्न नस्कने प्राणी, जाती र मानवको हत्या हिंसा गर्न किन छुट दिईरहन्छन उनी? निर्दोष मानिसहरु, बाल बालीका र असहाय बृध्दहरु उपर पनि प्राकृतिक प्रकोप, पीडा र हिंसाको बज्रपात किन दोहोर्याँउछन् उनी?

त्यसैले पनि मलाई लाग्दछ कि- संसारको सबैभन्दा ठुलो धर्म भनेको अहिंसा नै हो।  शान्ति हो! अरुको दुख कस्टमा मल्हम लगाउनु हो! दीनदुखीको सेवा हो। समस्त प्राणी, चराचर जगत र मानव जातीको हित विरुध्द हुने कुनै कुकर्म नगर्नु हो। मानिस यदि विवेकशिल प्राणी हो भने उसका हरेक कृयाकलाप विवेकपुर्ण र शान्तिपुर्ण हुनैपर्छ।

तर बर्तमान यो दुनियामा मानिसका व्यवहारहरु यति हिंसापुर्ण, स्वार्थी, निर्दयी र मतलबी हुन थालीसक्यो कि सोझो सिधा मान्छे भएर बाँच्न मुस्किल पर्ने अवस्था आईसकेको छ। कोही किन यति धेरै स्वार्थी हुन सक्छ ? कोही किन यति धैरै हिंसक हुन सक्छ? त्यो प्रश्नले मलाई बारम्बार निचोरीरहन्छ। म त्यो सोच्न पनि सक्दिन। त्यसैले लाग्दछ कि म जस्ता मानिसले अबको दुनियाँमा बाँच्नका लागि गर्नु पर्ने संघर्ष कैयौ गुणा ज्यादा घनिभुत हुँदै गएको छ।

, ,