सामुदायिक विध्यालयहरु पनि आईटिमय हुनेछन्


राष्ट्र निर्माण अभियानमा सकेको योगदान पुर्याउने सपना जो कोहीले पनि देख्न सक्छन्। प्रोफेसर मेदिनी अधिकारी ती मध्ये एक हुन् जसले बुनेका सपनाहरुले उनलाई राम्रोसँग निदाउन दिईरहेको छैनन्। झट्ट सुन्दा असम्भव र महत्वाकाँक्षी लाग्ने ती सपना बोकेर बर्षौदेखी छटपटाईरहेका अधिकारी आजभोली अलिक बढी उत्साही देखिन्छन्। उनका अनुसार 'त्यसलाई मुर्तरुप दिन 'इक्वालिटी फाउण्डेशन'को स्थापना र विशेष कार्ययोजनाको पुर्व तयारी सम्पन्न भएको छ र अब ती अभियानमुखी ढंगबाट कार्यान्वयनको तहमा पुग्न लागेका छन्।

नेपालका दुरदराज गाउँहरुमा सुचना प्रविधीको विस्तार गरेर ख्याती कमाएका डा. महावीर पुन यस फाउण्डेशनका संरक्षक हुन्। उनका अनुसार यो कार्यक्रमको सफल कार्यान्वयनले हाम्रा विध्यालयहरु स्मार्ट विध्यालय र गाउँहरु स्मार्ट गाउमा रुपान्तरित हुनेछन्। पुन भन्नुहुन्छ 'आफुले बर्षौदेखी दुर्गम गाउँमा गर्दैआएको कामलाई यस संस्थाले पनि आत्मसात गरेर सबै सरकारी हाईस्कुलहरुलाई आधुनिकीकरण गर्ने अभियान थालेकोले आफु साथसाथ हिड्न तयार भएको हुँ।'

लेखक साहित्यकार धराबासी भन्नुहुन्छ 'आफ्नो स्कुल आफै बनाऔ' नाम दिईएको यस बृहत् अभियानको थालनी हुने समाचारले मलाई निक्कै खुशी बनाएको छ।' शनिश्चरे माध्यमिक बिध्यालयमा शिक्षण पेशाबाट आफ्नो करियर शुरुहुदाँका दिनहरुको स्मरण गर्दै धरावासी जोड दिनुहुन्छ 'यस कार्यक्रमको सफलता पछी 'हाम्रा स्कुलहरु आईटिमय हुनेछन् र गाउँगाउँबाट संसारभरी काम गर्नसक्ने दक्ष प्राविधिक युवाहरु तयार हुनेछन्।'

भर्जिनियाका कंग्रेसमेन डन बायरले पानसमा बत्ती बालेर २०१५ अगष्टमा ईक्वालिटी फाउण्डेशन स्थापनाको घोषणा गरेका थिए। लक्षित बर्गको शैंक्षिक गुणस्तरमा आमुल परिवर्तन गर्न संस्था सफल बनोस् भन्दै बायरले आफ्नो तर्फबाट कुनै पनि प्रकारको सहयोग चाहिएमा आफु तयार रहने बताएका थिए। 

संसारभरीका विध्यालयका कक्षा कोठाहरु कम्प्युटर ईन्टरनेट र सुचना प्रविघीको पहुँचबाट अलग हुन नपरोस् भन्ने परिकल्पनाका साथ स्थापना भएको यस संस्थाले नेपालका तीन जिल्लाहरु झापा, पाँचथर र बझाँगका सरकारी माध्यमिक विध्यालयहरुको छनौट गरी कार्यक्रम लागु गरिसकेको छ। 

अाफ्नो कर्मंथलो अमेरिकामा रहेर पनि प्रोफेशर अंधिकारीको सपना आफ्नो जन्मभुमीका सबै सरकारी विध्यालयहरुको आधुनिकीकरणका लागि कम्युटर, ईन्टरनेट र सुचना प्रविधीको पहुँच पुर्याउने कार्य योजना बुन्नमा केन्द्रित देखिन्छ। सन् २००९ मा आफै पढेको सिंहदेवी उच्च माध्यमिक विध्यालयमा नमुना कार्यक्रम लागु गरी सफल कार्यान्वयन गरेका अधिकारी 'अब देशैभरीका सबै सरकारी माध्यमिक विध्यालयहरुमा कार्यान्वयन गर्न सकिने कार्ययोजनाको तयारीमा जुटेका हुन्। उनी भन्छन् 'तपाई हाम्रा विध्यालयहरुलाई नयाँ जिवन दिनसक्ने यो महत्वाकांक्षी कार्यक्रमको शुरुआत भने हामीहरु सबैले पहिले आफ्नै स्कुलहरुबाट गर्नुपर्ने हुन्छ। 

मेरिलैंड र पेन्सिलभेनिया राज्यका अवैतनिक नेपाली महावाणिज्य दुत प्रेमराजा महतले आफ्नो जन्म दिवसकै दिन पारेर यस अभियानमा आफु तन मन वचन र कर्मले लाग्ने बताईसक्नु भएको छ। महत भन्नुहुन्छ 'आफु पढेको स्कुल आफै बनाउने अभियान शुरु हुने सन्देशले मलाई ह्रृदयदेखी नै प्रभावित बनाएको छ।' हामीलाई थाहा छ कि हामी मध्ये अधिकांश ग्रामिण भेगका सरकारी विध्यालयहरुबाट आएका छौ र जब हामी ती विध्यालयहरुलाई कम्प्युटर र ईन्टरनेटको सहज पहुँचमा पुर्याउँछौ तब हाम्रा विध्यालयहरु सुचना प्रविधी मैत्री हुनेछन् र सिंगो गाउ, नगर र जिल्ला हुँदै देशकै सरकारी विध्यालयहरुको क्षमतामा आमुल सुधार आउनेछ।' 

अमेरिकाको संघीय सरकारी सेवामा कार्यरत आरके धमला यस अभियानले निक्कै ठुलो प्रभाव पार्ने अांकलन गर्दै भन्नुहुन्छ- 'अमेरिका बसेका हामी नेपालीहरुले आफ्नो स्कुल गाउँठाउलाई व्यक्तीगत रुपमा सकेको सहयोग गर्दै आएका हुन्छौ तर इक्वालिटी फाउण्डेशनले शुरु गरेको यस अभियानको कार्यान्वयनसँगै सरकारी विध्यालयहरुको शैक्षिक गुणस्तरमा आमुल परिवर्तन आउनेछ।' 'झट्ट हेर्दा महत्वाकाँक्षी लागे पनि यो कार्यक्रम स्थानिय तहको पनि सहभागितामुलक कार्यक्रम भएकाले लक्ष्य हासिल गर्न सम्भव भएको उहाँको तर्क छ। 

नेपालमा कार्यान्वयनमा लैजानका लागी यस अभियानमा भर्जिनिया, वासिगंटन डिसी र मेरीलैंडक्षेत्रका प्रोफेशनलहरुको रुची बढीरहेको देखिन्छ। डा.गोपी उप्रेती भन्नुहुन्छ-स्कुलको क्षमता विकासमा सहयोग र लगानी गर्नु भनेको अन्तत नेपाल राष्ट्र निर्माण अभियानमा योगदान पुर्याउनु हो।' भोलीको नेपालका लागि सक्षम, प्रतिषपर्धी र योग्य मानीसहरु तयार गर्ने  भएकाले 'आफ्नो स्कुल आफै बनाउने' ईक्वालिटी फाउण्डेशनको  यस अभियानमा म पुर्णत साथ दिनेछु। 

अमेरिकी सरकारका विभिन्न निकायमा कार्यरत नेपाली कम्युटर ईन्जिनियरहरु यस अभियानलाई सकेको योगदान पुर्याउन सामुहिक रुपमै कृयाशिल देखिनुहुन्छ। ददी ढुंगाना, कमल भुषाल, गुणराज लुईंटेल, शुरेश अधिकारी, शैलेश काफ्ले, बसन्त पौडेललगायत आईटी क्षेत्रमा कार्यरत व्यक्तीत्वले अभियानमा आफ्नो पुर्ण साथ रहने बताउनुहुन्छ। प्रोफेशर अधिकारी भन्नुहुन्छ सैयौ कम्प्युटर ईन्जिनियरहरुले अभियानमा साथदिने प्रतिबद्दता जनाईसक्नु भएको छ। अधिकारीका अनुसार 'यस अभियानको कार्यान्वयनका लागि बृहत 'डिजीटल टिम'तयार हुने र त्यो टिमले अमेरिकाबाट नेपालमा रहेको संस्था र विध्यालयहरुलाई समन्वय गर्नेछ।

आफ्नो गाउंको सामुदायिक विध्यालयहरूको जर्जर आर्थिक दूरावस्थाको कारण आफूले पाएको शैक्षिक क्षति र अभाव अव अर्को पुस्ताले भोग्नु नपरोस भन्ने सुभेच्छा राख्ने हरेक नेपालीले यो अभियानलाई आफ्नै अभियान ठानेर साथ दिने अपेक्षा रहेको बताउनुहुन्छ लामो समय सरकारी विध्यालयमा प्रधानअध्यापक रहेका यम सिटौला। उनको तर्क छ- प्रविधी युक्त जनशक्ती नै आधुनिक र विकसित नेपालको पुर्वाधार हो। यो तथ्यलाई आत्मसात गरी सामाजिक उत्तरदायित्य निर्वाह गर्नु प्रत्येक नेपाली नागरिकको परम कर्तव्य हो। सिटौला थप्नुहुन्छ- सामुदायिक विध्यालयका ती विध्यार्थीहरु जसको स्कुलमा जीवनभर कम्यूटर र इन्टरनेटको पहुंचमा पुग्न समर्थ छैनन् खास गरी दलित, उत्पिडीत र पिछडिएका वाल वच्चाहरू उनीहरूको क्षमता शसक्तीकरण गर्न यो अभियान निक्कै महत्वपुर्ण हुनेछ।'

करिब ५ दशकदेखी अमेरिकामा रहनु भएका डा.विष्णु पौडेल भन्नुहुन्छ 'यस अभियानको लक्ष्य र त्यसले पार्न सक्ने सकारात्मक प्रभावको आंकलनले अाफुलाई निक्कै उत्साहित बनाएकोछ' । राम्रो काम गरेर हामीले उदाहरण प्रस्तुत गर्नसके आवश्यक जति पनि रिसेर्सेस उपलब्ध गराउन सकिने अवस्था रहेको बताउनुहुन्छ। उनको तर्क छ 'हामीले पहिले नेपालमा यो अभियान पुरा गरौ अनी संसारका अरु पनि मुलुकमा यसलाई अनुकरण गर्न सकिन्छ।' 

अर्थविद पुर्व अर्थ मन्त्री मघुकर शमसेर राणा नेपालमा रहेर यस अभियानलाई अगाडी बढाउन लागि परेका छन्। नेपालमा ईक्वालिटी फाउण्डेशनको अफिस स्थापना भईसकेको बताउने राणाको विचारमा यस अभियानलाई पुर्णत सफल बनाउन सकेमा मुलुकको शिक्षा, रोजगार र आर्थिक पद्दतीमै आमुल परिवर्तन आउनेछ। 

पाँचथर जिल्ला शिक्षा कार्यालयमा कार्यरत रहँदा सम्पुर्ण जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न सफलता हात पारेका 'ईन्ट्रीग्रिटी आईडल' ज्ञानमणी नेपालले अभियानको सफलताका लागि आधा दायित्व र जिम्मेवारी विध्यालय र स्थानिय समुदायको बाँकी आधा ईक्वालिटी फाउण्डेशनको हुन जरुरी हुने बताउनुहुन्छ। यसो भएमा त्यो दिगो हुने उनको तर्क छ। 

खेतीबारीको काममा बाबा आमालाई सहयोग गर्दै हतारहतार खाली खुट्टामै निम्नमाध्यमिक तहका कक्षा कोठामा पढ्न पुगेका दिनहरुको स्मरण गर्ने प्रोफेसर अधिकारीको तर्क छ 'हामी हरेकले आ-आफुले पढेको विध्यालयमा परिवर्तन गर्न र गराउन चाहेको खण्डमा इक्वालिटी फाउण्डेशनको सहकार्यमा नेपालका सबै सरकारी विध्यालयहरुमा सुचना प्रविधीको ज्ञान र पहुँच पुर्याई देशको शैक्षिक, सामाजिक, आर्थिक लगायत स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन ल्याउन सकिन्छ। उनका अनुसार 'जब आफु पढेको विध्यालयमा सफल कार्यान्वयन हुनथाल्छ त्यसपछी सिंगो जिल्लाभरी र देशभरी नै त्यसलाई अनुकरण गरी कार्यान्वयन गर्न सहज हुनेछ। 

लेखक सहमत छ 'यो अभियानको सफलतासँगै पुर्व शिक्षक तथा लोकप्रिय साहित्यकार कृष्ण धराबासीले भनेझै नेपालका सामुदायिक विध्यालयहरु आईटिमय हुनेछन् र नेपालका गाउँगाउँबाट संसारभर आईटीका क्षेत्रमा काम गर्ने योग्य र प्रतिस्पर्धी युवा जमात तयार हुन थाल्नेछन्।'

, ,