संविधान संशोधन विधेयक आज दर्ता नहुने

काठमाडौं, १० मंसिर । संविधान संशोधन विधेयक आज (शुक्रबार) दर्ता नहुने भएको छ ।

सीमांकन विवादका कारण संसोधन प्रस्ताव रोकिने भएको हो। सीमांकन गर्दा सम्बन्धित क्षेत्रका जनप्रतिनीधिको राय लिने प्रस्ताव सत्तासाझेदार भित्रैबाट आएपनि सम्भावना कमजोर बनेको उच्च स्रोतले जनाएको छ ।

बिहान प्रमुख दलहरुको छलफल गरेर सहमति लिने र सहमति नभएपनि पनि दिउँसो मन्त्रिपरिषदको बैठक बसेर विधेयम पारित गर्ने तयारी भने जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अप्ठ्यारोमा परेका छन् ।

सरकारले साँझसम्म संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गर्ने तयारी गरेको थियो । त्यसका लागि सत्तारुढ नेकपा माओवादी केन्द्रले १ बजे हेडक्वाटर बैठक बोलाएको थियो भने दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक राखिएको थियो ।

त्यसअघि बिहान प्रधानमन्त्री प्रचण्डसहित माओवादी र कांग्रेसका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसेको छ । बैठकले संशोधन दर्ता गर्नुअघि मधेसी मोर्चासँग छलफल गर्ने निर्णय गरेको एक नेताले बताए ।

लगत्तै मन्त्रिपरिषद बैठक र माओवादीको हेडक्वार्टर बैठक दुबै स्थगित भएका छन् । माओवादी बैठक शनिबार बिहान ८ बजेका लागि सारिएको माओवादी प्रवक्ता पम्फा भुसालले अनलाइनखबरलाई बताइन् ।