सांसद धनराज गुरुङले बढेको तलव भत्ता भूकम्प पीडितलाई दिने (पत्रसहित)


काठमाडौँ। सांसदहरु आफैले आफ्नो सेवा सुविधा बढाएपछि नेपाली राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ ।

यसैबीच कांग्रेस सांसद धनराज गुरुङले वृद्धि भएपछि आफुने पाउने (वृद्धि भएको जति) पारिश्रमिक, भत्ता एवं सुविधा भूकम्प पीडित राहत कोषमा जम्मा हुने व्यवस्था गरिदिन भन्दै संसद सचिवालयमा निवेदन दर्ता गराएका छन् ।

सांसद गुरुङले लेखेको अनुरोध पत्रमा पुनःनिर्माण कार्यहरु अघि नबढिरहेको र भूकम्प पीडितहरुले अझै पनि राज्यले दिने राहत नपाएको उल्लेख गरेका छन् ।

उनले अगाडि लेखेका छन्, ‘यस अवस्थामा आफ्नो तलवभत्ता आफैले बृद्धि गर्नु संसदीय अभ्यास विपरीत रहेको छ । त्यस बाबजुद पनि केही महिना देखि लागू हुने गरी साविक पारिश्रमिक, भत्ता एवं सुविधा रकम वृद्धि गर्ने विधेयक पारित भएको छ ।’

यस्तै, सांसद गुरुङले पत्रमा ‘साविक पारिश्रमिक, भत्ता एवं सुविधा बाहेक मैले पाउने वृद्धि रकम गत वर्ष वैशाख १२ र २९ गते आएको विनाशकारी भूकम्पबाट पीडित जनताको राहतको लागि स्थापना गरिएको भूकम्प पीडित राहत कोषमा जम्मा हुने आवश्यक व्यवस्था मिलाइदिनु हुन अनुरोध छ’–भनेका छन् ।

अनि संसदमा चैं किन विरोध नगर्नु भा ?
सासद गुरुङले हाम्राकुरासँग कुरा गर्दै भने, ‘सवै भन्दा पहिले यस विषयमा बोल्ने पहिलो सांसद वक्ता म नैं हुँ । यसको विरुद्धमा बोल्ने म नै पहिलो हो । पछि जनमोर्चाका सांसदले यसको विरोध गरे ।’

पारित हुँदा चैं ? जवाफमा उनले भने, ‘पारित भएको दिन म मेरो बुबाको कार्षिकीको काम गर्न गाउँ गएको थिए । बेलुका मात्रै आइ पुगे । यहाँ बाँड्चुड् सकिसकेछ । सोमबार कार्यालय समयको पहिलो प्रहरमै संसद सचिवालयमा निवेदन दर्ता गराए ।’ सांसद गुरुङले संसद सचिवालयले नै बढेको रकम जति आउँछ सबै उतैबाट राहत कोषमा जम्मा गरिदिने बताए ।

अहिले सम्म पीडितका हातमा रहम पुगेको छैन । तपाइले दिनु भएको रकम सदुपयोग भए नभएकोबारे कसरी थाहा पाउनु हुन्छ ? सांसद गुरुङले भने, ‘राज्य त छ नि त्यो राज्यको दायित्व हो । प्रधानमन्त्री स्वयं त्यो राहत कोषको संरक्षक छन् । विविन्न छानविन समिति छन् । त्यो उहाँहरुको काम हो ।’ थाहा पाउने विभिन्न सयन्त्र छन् ।

सांसद गुरुङले यसअघि अख्तियार प्रमुख लोकमानसिंह कार्कीले संसदीय मूल्यमान्यता विर्सेको र आफै भ्रष्टाचार गरेको भन्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव समेत दर्ता गराएका थिए ।
स्रोत: हाम्राकुराडटकम

,