एमाले र मोर्चालाई मनाएर संशोधन अघि बढाउने काँग्रेस–माओवादी निर्णय

काठमाडौं, १० मंसिर । सत्तारुढ दल काँग्रेस र नेकपा माओवादी केन्द्रले संविधान संशोधनको लागि एमाले र मधेशी मोर्चालाई विश्वासमा लिएर संशोधन प्रस्ताव अघि बढाउने निर्णय गरेका छन् ।

शुक्रबार विहान बसेको दुई दलको बैठकमा संविधान संशोधनको लागि सहमति जुटाउन सरकारले अझै पहल गर्ने र त्यसको लागि एमालेसँग अझै गहन छलफल गर्ने सहमति गरेको छ । त्यस्तै एमालेका साथसाथै मधेशी मोर्चालाई पनि संशोधनको लागि विश्वासमा लिने सहमति आजको बैठकले गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

त्यस्तै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले तयार पारेको संविधान संशोधनको विद्येयकमा कुन कुन धारा राख्नेबारेमा गहन छलफल भएको काँग्रेसका नेता रमेश लेखकले जानकारी दिए । त्यस्तै संशोधनको विद्येयक आजै संसदमा दर्ता गर्नेबारेमा पनि दुई दलवीच छलफल भएको थियो ।

स्रोतका अनुसार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेविना नै संशोधन प्रस्ताव दुई तिहाईले पारित गर्ने विकल्पका बारेमा पनि विशेष छलफल भएको थियो । एमालेले सत्तारुढ दलले अघि सार्ने संशोधन प्रस्तावमै कुनै हालतमा सहयोग नगर्ने अडान दोहोर्याएको छ ।

हिजोमात्रै बालुवाटारमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीवीच भएको छलफलमा पनि ओलीले संशोधन प्रस्तावमा कुनै हालतमा सहयोग नगर्ने अडान दोहोर्याएका थिए ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्रीद्वय बिमलेन्द्र निधि, कृष्णबहादुर महरा, माओवादी नेता नारायणकाजी श्रेष्ठ र मन्त्री रमेश लेखकको उपस्थिति थियो ।