च्याम्पियन्स लिगः रियल मड्रिड र बोरुसिया डर्टमण्ड नकआउट चरणमा

काठमाडौँ, मङ्सिर ८-साबिकको बिजेता रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ । मंगलबार राति भएको समुह चरणको खेलमा पोर्चुगलको स्पोर्टिङ लिस्बोनलाई २–१ ले पराजित गर्दै रियल मड्रिड नकआउट चरणमा पुगेको हो ।

लिस्बोनको घरेलु मैदानमा भएको खेलमा रियललाई जिताउन राफाएल वाराने र करिम बेन्जिमाले गोल गरे । १० खेलाडीमा सीमित भएको लिस्बोनविरुद्ध खेलको २९ औं मिनेटमा वारानेको गोलबाट रियलले अग्रता लिएको थियो । खेलको ६४ औं मिनेटमा जुआओ पेरेरा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लिस्बोन १० खेलाडीमा सीमित भएको थियो ।

त्यसपछि खेलको ८० औं मिनेटमा लिस्बोनका सिल्भाले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । तर, खेलको ८७ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई महत्वपूर्ण जित दिलाए । जितसँगै रियल मड्रिड समुह एफ बाट दोस्रो स्थानमा रहदै च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्न सफल भयो ।  स्पेनिस जाइन्ट रियल मड्रिड लगातार २० औं पटक च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको हो । रियल मड्रिडले पाँच खेलबाट ११ अंक जोडेको छ ।

 समूह एफबाट जर्मन क्लब बोरुसिया डर्टमण्ड शिर्ष स्थानमा रहदै अन्तिम १६ मा पुग्न सफल भयो ।  मंगलबार राती नै भएको खेलमा डर्टमण्डले लेजिया वार्सलाई ८ – ४ ले पराजित गर्दै डर्टमण्डले नकआउट चरणमा स्थान बनाएको हो ।