समाचारवाचिका कोमल वली राप्रपा प्रवेश



अशोक महर्जन

काठमाडौं, ७ मंसिर |

 सोमबार भएको दुई राप्रपाको एकीकरण कार्यक्रमकी सञ्चालिका थिइन्– कोमल वली ।

वलीलाई धेरैले रेडियो नेपालको समाचार वाचिका र कार्यक्रम सञ्चालिकाको रुपले चिन्छन् । उनको अर्को परिचय हो– लोकगीत गायिका ।
उनै वली एकीकरण पछि बनेको राप्रपा पार्टीको कार्यक्रममा उद्घोषिका रुपमा निम्त्याइएकी थिइन् । कमैले अनुमान गरेका थिए सायद उनी राप्रपामा प्रवेश गर्छिन् । कार्यक्रमको अन्तिममा उनी राप्रपा प्रवेश गरेपछि भने धेरैकाबीच चासो र चर्चाको विषय बनिन् ।

यसअघि कुनै पनि राजनैतिक पार्टीमा प्रत्यक्षरुपमा संलग्न नभएको उनको भनाइ छ । लोकान्तरसँगको कुराकानीका क्रममा वलीले आफूलाई पार्टी एकीकरण कार्यक्रमको उद्घोषिकाका रुपमा मात्र बोलाइएको बताइन् ।

"आजै पार्टी प्रवेश गर्ने मेरो सोंच थिएन |" उनले भनिन्, – "पार्टी प्रवेशका लागि पहिलेदेखि नै प्रस्ताव आएको हो । तर मैले टार्दै आएको थिएँ ।"
वलीका अनुसार कार्यक्रम चल्दै गर्दा राप्रपा अध्यक्ष कमल थापाले ‘नाइ नभन्नु है’ भन्ने आग्रहकासाथ उनलाई आजै पार्टी प्रवेश गर्न आग्रह गरेका थिए ।
अध्यक्ष कमल थापाले आफ्नो मन्तव्यको अन्त्यतिर ‘म आज त्यसै छाड्नेवाला छैन’ भन्दै कार्यक्रम सञ्चालिका कोमलवलीलाई पार्टी प्रवेश गराएको घोषणा गरेका थिए । त्यसपछि थापाले वलीलाई माला लगाइदिए र पार्टीमा स्वागत गरे । राप्रपाका अन्य नेताले पनि ओलीलाई माला लगाइदिए र पार्टी प्रवेश गरेकोमा वधाइ दिए ।
आफूलाई राप्रपामा प्रवेश गराइएको बारे लोकान्तरलाई प्रतिक्रिया दिँदै वलीले आश्चर्य र खुशी महसुस गरेको वताइन् ।

थापा–वली संवाद
वलीका अनुसार पार्टी अध्यक्ष थापाले कार्यक्रम चल्दै गर्दा भनेका थिए–"एउटा कुरा भन्छु नाइँ नभन्नु ल ।" लगत्तै थापाले पार्टीमा आजै प्रवेश गर्न आग्रह गरे ।

"अध्यक्षज्यूले भनेपछि मैले पनि नाइँ भन्न सकिन" वलीले लोकान्तरसँग भनिन्–"तर राप्रपा पार्टीप्रति मेरो पहिलेदेखि नै लगाब चाहिँ थियो ।"
राजनीतिक पार्टीमा लाग्ने आफ्नो सोंच पुरा भएको भन्दै वलीले खुसी पनि व्यक्त गरिन् ।

"देशको सेवा गर्न पनि राजनीतिमा प्रवेश गरेँ," वलीले सुनाइन् ।

राप्रपाको नीति आफूलाई मन पर्ने उनको भनाइ छ । ‘म पनि राजनीतिमा आउन सही मौका कुरिरहेको थिएँ, त्यो मौका आज जुट्यो,’ माला र दोसल्ला देखाउँदै वलीले खुशी व्यक्त गरिन् ।

राष्ट्रियता, धर्मसंस्कृति र अखण्डतालाई नेतृत्व राप्रपाले गरीरहेकोले आफूलाई उक्त पार्टी मन परेको वलीको भनाइ छ । वलीले पार्टीमा लागेपनि पत्रकारिताको सत्य, तथ्य र निष्पक्षतामा कहिल्यै सम्झौता नगर्ने बताइन् ।

विद्यार्थी कालदेखि नै नेता कमल थापाको ब्यक्तित्व र भाषणशैलीबाट आफू प्रभावित भएको वलीको भनाइ छ । ‘म कमल थापालाई आदर्श नेताका रुपमा मान्छु र उनकै आग्रहमा पार्टी प्रवेश पनि गरेँ’ उनले भनिन् ।
लोकान्तर डटकम