हजार भन्दा बढी नेपाली साउदीमा फसे

साउदी,मङ्सिर ८-रोजगारीमा जाने नेपाली कामदारका लागि साउदी अरब प्रमुख गन्तव्य मानिन्छ । तर पछिल्लो समय साउदी अरबमा संकट बढ्न थालेको छ । निरन्तर कच्चा तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा न्यून हुदैँ गएपछि अर्थतन्त्रमा जटिलता बढ्न थालेको हो । साउदीका कम्पनीहरू धराशायी हुनेक्रम बढ्न थालेपछि काम तथा तलब नपाउने नेपाली कामदारको संख्या पनि ह्वात्तै बढेको छ ।

साउदीको राजधानी रियादस्थित नेपाली दूतावासले ५० भन्दा बढी कम्पनीमा कार्यरत कम्तीमा एक हजार नेपाली काम र तलब नपाएर अलपत्र परेको बताएको छ । ‘पहिला जस्तो सामान्य हिसाबले पीडित भएर आउने अवस्था रहेन,’ साउदीका लागि नेपाली कार्यबाहक राजदूत आनन्दराज शर्माले भने, ‘अलपत्र भएर आउने कामदारको संख्या ह्वात्तै बढेर आयो । हामीलाई व्यवस्थापन गर्न एकदमै कठिन भइरहेको छ ।’

दूतावासले सम्बन्धित कम्पनीलाई तलब दिएर स्वदेश पठाइदिन आग्रह गरे पनि सुनुवाइ भएको छैन । कम्पनीले साउदी सरकारबाटै परियोजनाको रकम भुक्तानी नगर्दा कामदारलाई तलब दिन नसकेको भन्दै पन्छिन थालेका छन् । भर्खरै पुगेर कामविहीन भएका कामदारलाई स्वदेश पठाउन आग्रह गरेपछि उनीहरू नयाँ प्रोजेक्टको सम्झौताको पर्खाइमा रहेको भन्दै टारिरहेको छ । ‘

जो नयाँ कामदार अलपत्र परेको छ । उनीहरूलाई तुरुन्तै उद्धार गर्ने म्यानपावरको जिम्मेवारी हो,’ शर्माले भने, ‘श्रम मन्त्रालयले जिम्मेवारी नलिने म्यानपावरलाई कारबाही गर्न जरुरी भइसकेको छ ।’दूतावासले नेपाली कामदार अलपत्र परेको घटना बढेपछि साउदी सरकारको उच्च तहमा चासो व्यक्त गरेको थियो । शर्माले साउदीका उपश्रममन्त्रीलाई भेटेर अलपत्र परेका नेपालीलाई यथाशक्य उद्धार गरी पठाउन अनुरोध गरेको बताए ।
‘हामी कम्पनी परिवर्तन गर्न चाहने कामदारलाई अर्को कम्पनीमा पठाइदिने व्यवस्था गरिदिन्छौं,’ श्रममन्त्रीको भनाइ उद्धृत गर्दै उनले भने, ‘तलब नदिने कम्पनीलाई कारबाही गर्नेछौं ।’
साउदीमा झन्डै ५ लाख नेपाली कार्यरत छन् ।

यहाँको रोजगारीमा नकारात्मक प्रभाव परेपछि समग्र वैदेशिक रोजगारीमा जाने संख्यामा पनि कमी आएको छ । कामदारले पठाउने रेमिट्यन्सको वृद्धिदर निकै तल झरेको छ । दैनिक करिब २ अर्ब बराबरको व्यापार घाटालाई परिपूर्ति गर्ने रेमिट्यान्स घट्दै गए नेपाली अर्थतन्त्रमा पनि समस्या पर्ने देखिएको छ