तक्मे बुढा दोस्रो हिन्दी फिल्ममा

काडमाडौं, मंसिर २९-नेपाली चलचित्र ‘रातो घर’ को काम सकेपछि अरु चलचित्रमा काम नगरेका हाँस्य कलाकार विल्सनविक्रम राई (तक्मे बुढा) बलिवुड चलचित्रमा काम गर्ने प्रस्ताव आएपछि झण्डै डेढ वर्षअघि भारत हान्निए ।

उनले भारतमा पुगेर निर्देशक विनय शर्माको निर्देशनमा बनेको चलचित्र ‘भाइ मस्ट बी क्रेजी’ मा अभिनेता शाहिद कपुर, सुनिल ग्रोभर लगायतका कलाकारसँग काम गरे । उनको कामको निर्देशक विनयले खुबै तारिफ गरेका थिए ।

विल्सनले अर्को बलिवुड चलचित्रमा पनि काम गर्ने भएका छन् । उनले चलचित्रमा अभिनेत्री आयशा टाकियासँग काम गर्ने छन् । चलचित्रको नाम भने सार्वजनिक भएको छैन ।

उनी चलचित्रका हरेक सिनमा ढाका टोपीमा देखा पर्ने भएका छन् । सार्वजनिक भएका केही तस्बिरमा पनि उनी ढाका टोपीमै देखिएका छन् । अहिले चलचित्रको सुटिङ मुम्बईको महाराष्ट्रको कोलनीमा भइरहेको छ ।

विल्सनलाई यो चलचित्र एक सांगीतिक समूहले दिलाएको थियो । केही समय अघि नेपालमा कन्सर्ट गर्न आएको सांगीतिक समूहका सदस्यले विल्सनलाई यो चलचित्रका लागि सिफारिस गरेका हुन् ।
आशुतोष वारङको निर्देनमा बन्न लगेको यो चलचित्रमा आयशा र विल्सनसँगै मराठी नायिका सुप्रिया पिलजंकर, नील भुपालन लगायतका कलाकारको अभिनय रहने छ ।