नेपाल भर्सेस मलेसिया : नेपालको अग्रता, सावित्राले गरिन् गोल

काठमाडौं, पुस २ – नेपाली महिला टोलीले मलेसियाको राष्ट्रिय महिला टोलीसँग मैत्रीपूर्ण फुटबल खेलिरहेको छ । एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा नेपालकी सावित्रा भण्डारीले २७ औँ मिनेटमा गोल गरेर अग्रता दिलाइन् । भारतको सिलिगुढीमा पुस ११ गतेदेखि हुने महिला साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले मलेसियाको महिला फुटबल टोलीसँग अभ्यास खेल खेलेको हो ।

मलेसियासँगको खेल साफको तयारीका लागि राम्रो अवसर रहेको नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार थापाले बताएका छन् ।  उनले भने ‘प्रतियोगिताको अघि राम्रो टिमसँग खेल्न पाउनु राम्रो कुरा हो । यो खेलमा हाम्रो बलियो र कमजोर पक्षका बारेमा थाहा पाउने छौं । यसले प्रतियोगितामा राम्रो नतिजा ल्याउन सहयोग गर्ने छ ।’

साफ च्याम्पियनसिपमा सार्कका सात देशको सहभागिता छ । प्रतियोगितामा पाकिस्तानले सहभागिता जनाएको छैन । नेपाल रहेको समूह ‘ए’ मा श्रीलंका, माल्दिभ्स र भुटान छन् । यस्तै समूह ‘बी’ मा आयोजक भारतसँगै बंगलादेश र अफगानिस्तान छन् । प्रतियोगिता पुस २० गते सकिने छ ।