समीर तीन हप्तादेखि अचेत, सहयोगको लागि आव्हान


सतिश चापागाईं, बाल्टीमोर
अमेरिकाको बाल्टीमोरमा एक नेपाली युवा समीर गुरुंग तीन हप्तादेखि अचेत अवस्थामा अस्पतालको बेडमा छन | डिसेम्बर २ तारीख राति ११:१५ बजेपछि काम सकेर घर फर्कने क्रममा समीरको गाडीलाई अर्को गाडीले ठक्कर दिएपछि घाईते भएका समीरको आजसम्म पानी होस खुलेको छैन |

समीरको सहयोगार्थ 'गो फण्ड मी' मा एकाउण्ट खोलिएको छ | यो एकाउण्ट उनको परिवारको स्वीकृतिमा उनका साथीहरूले खोलेका हुन | उक्त एकाउण्टमा यो समाचार लेख्दासम्म झन्डै १४ हजार डलर सहयोग उठेको छ |

 मेरिल्याण्डमा रहेका संघसंस्थाले पनि यही एकाउण्ट मार्फ़त समीरलाई सहयोग गर्ने बानाका महासचिव देवब्रत शर्माले द नेपाल टुडेलाई जानकारी दिनुभयो | "एउटै कामका लागि छुट्टा छुटटै खता खोल्नुभन्दा यही एकाउण्टमा आफ्नो सहयोग रकम प्रदान गर्न अनुरोध गर्दछौं " बानाका अध्यक्ष कुलमणि आचार्यले भन्नुभयो |

यो एकाउण्टबाट उठेको रकम समीरको हस्पिटलको बील, उनको लागि चाहिने लामो समयसम्मको उपचार र समीरको हेरचाह गर्ने श्रीमती र सानो छोराका लागि दिईने 'गो फण्ड मी' एकाउण्टको बिबरणमा उल्लेख छ |

"ब्यक्तिगत रूपमा पनि सहयोग भईरहेको छ | हामीले हस्पिटलमा पालो दिन जाने काम गरिरहेका छौं |"- बाल्टीमोर तमु समाजका अध्यक्ष दिनेश गुरुंगले द नेपाल टुडेसंग भन्नु भयो | यो घटनाले समीरको परिवारमा ठुलो बिपत्ति ल्याएको काश्की समाजका अध्यक्ष कुलप्रसाद गुरुंगले बताउनु भयो | उहाँले यस्तो बिपदमा सबैलाई सहयोगको हात अगाडी बढाउनु अनुरोध पनि गर्नुभयो |

१९ बर्षीय समीरकी श्रीमती र एक ७ महीनाका छोरा छन | यहां उनीसंग बुबा र दीदीहरु पनि छन | समीर २०१२ मा आफ्ना जुम्ल्याहा दीदीहरुसँगै अमेरिका आएका थिए | समीर १० बर्षको हुदा उनकी आमाको निधन भएको थियो |

सपनाको देश अमेरिकामा समीरले दिउसोमा एउटा रेष्टुरेन्टमा काम गर्थे भने सांझमा पिजा डेलिभरी गर्थे | पिजा डेलिभरी गर्ने क्रम मै उनको गाडी दुर्घटनामा परेको थियो | उक्त पिजा स्टोरमा समीरले सोही दिन काम शुरू गरेका थिए |

समीर राम्रो गिटार बजाउने युवा हुन | समीरका बुवा "छिनको छिनैमा र मिर्मिरेमा भाले बासेको" लगायतका थुप्रै चर्चित गीतका गायक श्याम गुरुंग हुनुहुन्छ | श्याम गुरुंग बाल्टीमोरमा लामो समय बिताएका सहयोगी नेपाली युवा हुनुहुन्छ | बाल्टीमोर बसाईका क्रममा श्यामले धेरै नेपालीलाई काम लगाउन सहयोग गर्नुका साथै नेपालीका दुख सुखमा हातेमालो गर्दै आउनु भएको छ |

समीर अचेत अवस्थामा छन | यस्तो बेलामा तन मन र धनले सहयोग गर्ने सबैको इच्छा अनुसार समीरको स्वस्थमा सुधार हुनेमा समीरका बाबा श्याम गुरुंग ढुक्क हुनुहुन्छ | "बाल्टीमोरका धेरै मानिसहरु हस्पिटल गएर भेट गर्ने र समीरको स्वस्थ्य लाभको कामना गर्ने गरिरहनु भएको छ | कोहीले त हस्पिटलमा कुर्न जाने र कुर्नेलाई खाना लगेर पनि सहयोग गरिरहनु भएको छ |" श्याम गुरुंगले द नेपाल टुडेसंगको  कुराकानीको अन्तिममा भन्नुभयो, "यति धेरै मान्छेको कामना भगवानले पक्कै सुन्नु हुनेछ |"

तस्बीर स्रोत:  गो फण्ड मी 
समीरलाई सहयोग गर्न चाहनेहरुले यो लिंकमा क्लिक गर्नुहोस

,